१८ कात्तिक, काठमाडौं । यस वर्ष पनि देउसी-भैलो खेलेको भए सिस्नुपानी नेपालले प्रत्येक वर्ष तिहारमा देउसी खेलेको २५ वर्ष पुग्थ्यो । तर कोरोना महमारीमा ठूलो जमघट गरेर सार्वजनिक समस्या निम्त्याउन कलाकारहरूले रूचाएनन् ।
सिस्नुपानीका महासचिव टंक आचार्यले भने, ‘समस्या निम्त्याउने र जनतालाई सास्ती दिने काम त नेताहरूले गरेका छन् । हामी त जनताका सारथी बन्न चाहन्छौं ।’
नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा प्रत्येक वर्ष तिहारको उपलक्ष्यमा गरिने ‘सिस्नुपानी देउसी-भैलो’मा प्रधानमन्त्री, मन्त्रीहरू, दलका नेता तथा उच्चपदस्थ कर्मचारी र दर्शकको उपस्थिति रहन्थ्यो । सबैजना जम्मा हुँदा कोरोना संक्रमणको सम्भावना भएकाले नै यस वर्ष संस्थाले देउसी-भैलो कार्यक्रम नगर्ने निर्णय गरेको हो ।
भौतिक रूपमा देउसी नखेले पनि सिस्नुपानीका टंक आचार्य र धीरेन्द्र प्रेमर्षिले हामीलाई देउसी-भैलोका रमाइला गीतहरू सुनाए । ‘यस वर्ष पनि देशको अवस्था उस्तै छ । खबरदारी नगरी त सुखै छैन,’ उनीहरूले भने ।
त्यसो त सिस्नुपानीले गर्ने देउसी-भैलो कार्यक्रममा देउसी मात्र नभई हास्यव्यंग्यले नै बढी प्राथमिकता पाउँछ । देउसी-भैलोका गीतमा देशको अवस्था र नेतृत्वलाई गरिएको व्यंग्य मिसाएर ‘क्यारिकेचर’समेत गरेर उनीहरूले सिस्नुपानी देउसी-भैलो कार्यक्रम गर्छन् ।
धीरेन्द्र भन्छन्, ‘हाम्रो गीत सुनेर नेताहरू ए यो व्यंग्य त मलाई मात्र होइन त्यसलाई पनि रहेछ भनेर मसुमुसु हाँस्नुहुन्छ । कतिले आफूलाई सचेत गरेको ठान्नुहुन्छ त कतिचाहिं रमाइलो मात्रै लिनुहुन्छ ।’व्यंग्यात्मक देउसीका लागि गाम्नागे, टंक आचार्य, अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षि, मनोज गजुरेल, सरोज घिमिरे लगायत कलाकार एक सातासम्म सँगै बसेर देउसी-गीत तयार पार्थे । यसपछि संगीतकारहरूसँग बसेर त्यसको अभ्यास महिना दिनसम्म चल्थ्यो ।
सामान्यतः देउसीमा देउसी गीत भट्याउने, नाचगान गर्ने र अन्तिममा घरमूलीलाई आशिष दिने चलन छ । सिस्नुपानीले पनि व्यंग्यसँगै आशिष पनि दिने गरेको बताउँछन् टंक आचार्य । प्रत्येक वर्ष देउसी खेल्दा उनले नै मञ्चबाट सबै नेतृत्ववर्गलाई आशिष दिन्छन् ।
‘हामीले शुरुमा सबै नागरिकको सुख-शान्तिको कामना गर्छौं,’ टंक भन्छन्, ‘तर नेतृत्वलाई दिने आशिष चाहिं वर्षैपिच्छे फरक हुन्छ । कुनै बेला निर्वाचन होस् भनियो त धेरै वर्षसम्म संविधान जारी होस् भनेर आशिष दिने-लिने गरियो ।’
देउसी : एक सांस्कृतिक साइनो
नेपालीहरूले मनाउने चाडपर्वको आ-आफ्नै धार्मिक सांस्कृतिक महत्त्व छन् । त्यसमध्ये तिहारले सांस्कृतिक साइनो स्थापना गर्ने बताउँछन् टंक आचार्य । देउसी-भैलोलाई विश्वकै अनुपम संस्कृति मान्ने उनका अनुसार देउसी खेल्दा दुई पक्षबीच स्थापना हुने सम्बन्धले बृहत् सामाजिक महत्त्व राख्छ ।
त्यसमाथि नेताहरू, कलाकार र जनता एकैठाउँमा बसेर देउसीभैलो खेल्दै गीत गाउँदा जनभावना उजागर हुन्छ । जनताको आवाज जनताकै भाषामा नेतृत्वसम्म पुग्छ ।
‘न्यायमूर्तिसहित देशका सबै नेतृत्व एकैठाउँमा राखेर देउसी खेल्छौं,’ उनी भन्छन्, ‘जसलाई जे कुरा सुनाउनु छ हामी जनताको भाषामा सिधै उहाँहरूलाई सुनाउँछौं ।’
यता धीरेन्द्र पनि यसरी सार्वजनिक रूपमा देउसी खेल्दा जनताको आवाज नेतृत्वसम्म प्रत्यक्ष रूपमा पुग्ने विश्वास राख्छन् । कतिपय नेताले देउसी-भैलोपछि गरेका निर्णय जनपक्षीय पनि हुने गरेकाले सिस्नुपानी देउसी-भैलोको प्रभाव बढ्दै गएको उनी बताउँछन् ।
चार वर्षअघि दुईतिहाइको कम्युनिष्ट गठबन्धन बनेपछि सिस्नुपानीले त्यतिबेलै भनेको थियो-
एमाले र माओवादीको लगनगाँठो बरि लै
दुई दिनको घामछाँया कि जुनीभरिलाई
झस्के सपना देखर, पुच्छ्रेतारा खसेको
बिउँझिदा त कुर्सीमा अर्कै बसेको !
उनीहरूले अघिल्ला वर्षमा भनेका कुरा दिनदिनै सान्दर्भिक बनेको छ । अघिल्ला वर्षमा औंल्याएका समस्या अझै समाधान भएको छैन । ठूला नेतालाई मात्र नभई राज्यका निकायलाई समेत सम्बोधन गरेर भनेका कुरा ज्यूँकात्यूँ रहेको उनीहरू बताउँछन् ।
ओलीले माधव गिराउने
माधवले ओली पिराउने
अल्पमतको कांग्रेसले औंला छिराउने !
नभन्दै यस वर्ष कांग्रेसकै नेतृत्वमा सरकार बनेको छ । जुन कुरा सिस्नुपानीले कम्युनिष्ट गठबन्धनलाई तीन वर्षसम्म सम्झाएको बताउँछन् टंक आचार्य । प्राप्त जनादेशको सदुपयोग गर्न नेताहरूलाई बारम्बार सम्झाएपनि उनीहरूले फुटको राजनीति अंगालेको टंक बताउँछन् ।
राज्यका निकायसँगै खबरदारी गर्ने मिडिया क्षेत्रमा भएको बेथितिलाई पनि उनीहरूले यसरी व्यंग्य गरेका छन्-
चौथो अंग मिडियाको कस्तो खबरदारी
तर्साउँदै समाचारमै कालोबजारी
यता यस वर्ष कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा देखिएको अस्तव्यस्ताले सिस्नुपानी नेपाललाई आक्रान्त बनाएको छ । यदि देउसी-भैलो हुन्थ्यो भने उनीहरू रसिलो व्यंग्यवाणले राज्यका निकायलाई खबरदारी गर्ने थिए । र, यसरी देउसी गाउँथे-
अन्त न्याय नपाए अदालत जाने हो
अदालत नै भ्वाङ परे कता जाने हो !
घ्यू बेचुवा र तरबार बेचुवा एकैठाउँमा बसेका
भागभण्डाको भेद खुल्दा थाला बसेका ।
तस्वीर/भिडियो : शंकर गिरी
प्रतिक्रिया 4