+
+
Shares

नेपाली चलचित्रका यी सर्वकालीन गीत, जसले तिहारको रौनक ल्याउँछन्

आज पनि यो गीतको चार्म, वजन, चर्चा र उचाइमा कमी आएको छैन र तीन पुस्ताले यो गीत गाइसकेका छन् । सुन्नेहरू पनि त्यति नै पुगिसके ।

राजन घिमिरे राजन घिमिरे
२०८२ कात्तिक २ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र 'स्वर्ग'को तिहार सम्बन्धी गीत 'तिहारै आयो लौ झिलिमिली' २५ वर्षदेखि लोकप्रिय छ र तीन पुस्ताले गाइसकेका छन्।
  • चलचित्र 'चिनो'को तिहार गीतमा दिवंगत शुभद्रा अधिकारी र केशव भट्टराईको अभिनय छ र सुनील थापाले नेपाली फिल्ममा डेब्यू गरेका थिए।
  • चलचित्र 'विजय पराजय'को भाइटीका सम्बन्धी गीतले दाजुबहिनीको अगाध माया प्रस्तुत गरेको छ र २०४७ सालमा प्रदर्शन भएको थियो।

‘तिहारै आयो लौ झिलिमिली

सुन हजुर भैलिनी आइन आँगन’

जब तिहार नजिकिन्छ, तब चलचित्र ‘स्वर्ग’को यो गीत गाउँ र सहरमा गुञ्जिन थाल्छ । तिहार आगमनको छनक दिने यो गीत यसरी घन्किन थालेको पनि २५ वर्ष भैसक्यो ।

आज पनि यो गीतको चार्म, वजन, चर्चा र उचाइमा कमी आएको छैन र तीन पुस्ताले यो गीत गाइसकेका छन् । सुन्नेहरू पनि त्यति नै पुगिसके ।

२०५० सालमा बनेको फिल्म ‘स्वर्ग’को तिहार सम्बन्धी यो गीत आज पनि जनजिब्रोमा झुण्डिरहेको छ । उक्त फिल्म निर्माण हुनुअघि र पछि पनि तिहारको भैलो सम्बन्धि गीतसंगीत नबनेका होइनन्, तर शम्भुजीत बासकोटाको संगीत, लोचन भट्टराई र नुतन प्रधानको आवाज रहेको यो गीत को चर्चा अरुभन्दा धेरै छ ।

नेपाली चलचित्रमा समावेश तिहार सम्बन्धी गीतमध्ये कालजयी गीत बन्न सफल यो गीतमा अभिनय गर्ने गौरी मल्लको मानस्पटलबाट आज २५ बर्षसम्म पनि यो गीतको छायांकनको क्षण हटन सकेको छैन ।

उनी विगततिर यसरी फर्किइन्, ‘मैले जीवनमा धेरै राम्रा गीतमा काम गर्ने अवसर पाएँ । ती गीतमध्ये यो गीत मलाई चिनाइरहने र दर्शकमाझ सम्झिइरहने गीतमध्ये पर्छ । हामीले यो गीत चाङ्गुनारायण क्षेत्रमा खिचेका थियौं । ३ रात निकै मिहेनत गरेर खिचेको यो गीत मेरो कलाकारिताको उच्चतम उपलब्धि भित्र पर्दछ ।’

शम्भु प्रधानको निर्देशन अनि अर्जुन श्रेष्ठ निर्माता रहेको चलचित्र ‘स्वर्ग’को यो गीतको अडियो चक्का नै तात्कालिन समयमा लाखौं गोटा बिकेको थियो । भिडियोमा बसन्त श्रेष्ठको नृत्य निर्देशनले झनै ज्यान भरेको थियो ।

यो गीतलाई माथ गर्ने अर्को गीत नदेखिएता पनि यसकै हाराहारीमा चर्चा पाएको अर्को गीत हो चलचित्र चिनोको गीत :

दियो बाली साँझको

फूल सजाई पूजाको

माता लक्ष्मी बसीदेऊ आज

घर संसार सानो हाम्रो…

चलचित्र ‘चिनो’को यो गीतमा रञ्जित गमजेरको संगीत छ । निर्देशक तुलसी घिमिरे हुन् । गीतमा दिवंगत कलाकारद्वय शुभद्रा अधिकारी र केशव भट्टराईको अभिनय छ ।

खलपात्रको रूपमा सुनिल थापाको अभिनय छ । उल्लेख्य कुरा के छ भने यो भन्दा पहिले भारतीय चलचित्र बजारमा ब्यस्त सुनील थापाले ‘चिनो’बाट नेपाली फिल्म उद्योगमा डेब्यू गरेका थिए ।

उक्त तिहार गीत यही फिल्ममा समावेश गरिएको छ । तिहार आएसँगै घन्किने गीतमध्ये पर्छ ‘चिनो’को यो गीत पनि । यसैगरि चलचित्र ‘अन्याय’ मा पनि तिहार सम्बन्धी गीत समाबेश गरिएको छ ।

‘अधरमा आज उनकै छ गीत

भैलिनी आइन आँगन…….’

२०४६ सालमा रिलिज भएको चलचित्र ‘अन्याय’को यो गीतमा रञ्जित गजमेरको संगीत रहेको छ भने मनिला सोताङले स्वर दिएकी छन् ।

यो फिल्मलाई तुलसी घिमिरेले निर्देशन गरेका हुन् । विश्व बस्नेत र मीरा माधुरी यो फिल्मका कलाकार हुन् ।

‘चलचित्रमा हामीले गीत मात्र होइन, टीका लगाएको र तिहारको थप परिवेशलाई पनि समेटेका छौं । यस्तै कारणले गर्दा पनि त्यतिबेला यो चलचित्र हेर्न पारिवारिक दर्शकको भीड लाग्ने गर्दथ्यो’ अभिनेता विश्व बस्नेतले अनलाइनखबरसँग भने ।

पुराना चलचित्रमा भैलीनी सम्बन्धी गीत समावेश गरिएता पनि अर्को फिल्म ‘विजय पराजय’मा भने भाइटीकालाई प्रस्तुत गरिएको छ ।

बहिनी बनेकी रूपा रानाले दाजु बनेका दुई अभिनेता भुवन केसी र कृष्ण मल्ललाई भाइटीका लगाएको दृश्यलाई गीतमा मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । गीतमा नै बहिनीले आशिष दिएकी छन ।

‘निधारमा लर्काएर सप्तरंगी टीका

हिँडिरहू सँधै तिमी शिखरको बाटो

ओखरमा फोरी दिएँ बाधाहरू मैले’

राजेन्द्र शलभ निर्देशक रहेको फिल्म ‘विजय पराजय’को यो गीतमा शम्भुजीतको संगीत छ भने गीत दिनेश अधिकारीले लेखेका हुन । २०४७ सालमा प्रदर्शनमा आएको यो फिल्ममा समावेश दाजु र बहिनीबीचको अगाध माया प्रस्तुत गर्न सफल यो गीत पनि तिहारमा घन्किने मध्ये पर्छ ।

चलचित्रमा तिहारको गीतलाई आकर्षणको रूपमा धेरैले राख्ने गरेता पनि भाइटीकालाई नै प्रमुख कथा बनाएर र शीर्षक नै ‘भाइटीका’ राखेर निर्माण गरिएको थियो । १७ बर्ष अघि प्रदर्शनमा आएको यो फिल्मलाई लक्ष्मीनाथ शर्माले निर्देशन गरेका हुन । अर्को चलचित्र ‘बन्दी’मा पनि तिहार सम्बन्धी गीत समावेश गरिएको छ ।

सञ्चिता लुइँटेल अभिनित फिल्म ‘बन्दी’को तिहार सम्बन्धी ‘भैलो खेलौं है भैलिनी हो’ बोलको गीतलाई दयाराम पाण्डेले लेखेका हुन । यो गीतलाई अन्ज पन्तले गाएकी छिन भने संगीत महेश खड्काको छ ।

एक समय नेपाली फिल्ममा चाडबाड र रितीरिवाजले अत्याधिक प्राथमिकता पाउँथ्यो । फिल्ममा यस्ता पक्ष समावेश गर्दा सर्जकले समाजप्रति कर्तव्य निर्वाह गरेको प्रतीत हुन्थ्यो ।

हलमा पारिवारिक दर्शकको पनि हुल जाने गर्थे । सिनेमाले समाज र संस्कृतिको बारेमा बोल्दा वा यस्ता विषय उठान गर्दा भावी पुस्ताले पनि सिनेमामार्फत आफ्नो चाडबाड र रितिरिवाजको बारेमा जानकारी पाउँथे ।

हिजोआज बन्ने सिनेमाले यस्ता कुरा बिर्सन थालेका छन । समयको गतिसँगै अगाडि बढ्नु पर्छ भन्ने भनाईमा लाग्दा चाँडो प्रभाव पर्ने र सशक्त माध्यम मानिने चलचित्रजस्तो विधामा प्रवेश गरेको पछिल्लो पुस्ताले नेपाली कला–संस्कृतीलाई न समेट्न सकेका छन् न रितिरिवाजलाई सिनेमाको पर्दामा देख्न पाएका छन ।

आजका पुस्ताले १५/२० वर्ष अगाडि बनेका नेपाली सिनेमा हेरेर चाडबाडका कुराहरू थाहा पाउनुपर्ने अवस्था छ । आजको आजका पुस्ताले पुरानै नेपाली सिनेमामा समावेश चाडबाडका गीतमा आफ्नो उपस्थिति दर्शाउनुपर्ने अवस्था छ ।

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?