+
+

देउवा भन्छन्- नेपालप्रति भारतको सद्‍भाव छ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १०:३९

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति छिमेकी मुलुक भारतको सदभाव रहेको बताएका छन् ।

स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

सम्मेलनको क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । भेटवार्ताबारे जानकारी दिंदै प्रधानमन्त्री देउवाले भने, ‘सबै राम्रा कुराहरु भएका छन् । भारतको सदभाव देखिएको छ नेपालको निम्ति ।’ युरिया मल भारतमा आवश्यक हुँदाहुँदै पनि नेपाललाई दिएकोमा आफूले धन्यवाद भनेको उनले जानकारी दिए ।

मोदीसँगको भेटमा देउवाले हवाईजहाज प्रवेश विन्दु अनुमति लगायतका विषयमा कुराकानी गरेका थिए । देउवाले कञ्चनपुर, धनगढी, नेपालगञ्ज र भैरहवाबाट हवाईजहाज प्रवेशको अनुमति दिन मोदीसँग आग्रह गरेको भेटपछि परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख थियो ।

‘टोपी लगाएर गएको बाइडनले चिनिहाले’

ग्लास्गोमा प्रधानमन्त्री देउवाले बेलायतका रक्षामन्त्रीसँग गोर्खा सैनिकका समस्या समाधानबारे छलफल गरेको जानकारी पनि दिए ।

‘बेलायतको रक्षामन्त्रीको नेपालप्रति धेरै नै सदभाव रहेछ,’ देउवाले भने, ‘अरुको घटाएर गोर्खा सैनिकहरुको संख्या बढाएको छु भनेर भन्नुभयो ।’ कतिपय कुराहरुमा अझै समस्या रहेको भन्दै देउवाले नयाँ राजदूत आएपछि बाँकी समस्या समाधानका विषयमा छलफल गर्ने बताएको जानकारी दिए ।

अमेरिकी राष्ट्रपति जो बाइडनसँग भएको भेटबारे जानकारी दिने क्रममा देउवाले भने, ‘बाइडनसँग भेट हुँदाखेरि टोपी लगाएर गएको चिनिहाले । नेपाल आएका रहेछन् उनी । नेपाल देश मलाई खुब मन पर्छ भने ।’

यसैगरी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नेपालाई पूरा सहयोग हुने बताएको पनि देउवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?