+
+
ललितपुर आगलागी :

‘धुँवा आयो भन्दा सुरुमा वास्ता गरिनँ, एकैछिनमा परिवार सखाप भयो’

दियोबाट आगो सल्किएको अनुमान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते २१:५७

१९ कात्तिक, काठमाडौं । ललितपुरको मंगलबजारका लक्ष्मीकृष्ण ताम्रकारको परिवार शुक्रबार साँझ साढे ६ बजे म्ह: पूजा गरिरहेको थियो । घरको चौथो तलामा मण्डल बनाएर परिवारका ११ जना पूजामा व्यस्त थिए ।

एक्कासी परिवारका बालबालिकाहरु धुँवा आयो भन्दै कराए । ‘सुरुमा के भन्छन् भनेर वास्ता गरिएन, एकछिनमा त मुस्लो नै देखियो’ घाइते अनार ताम्राकार भन्छिन्, ‘तल पूरै जलिसकेछ, विजुलीले हो कि भनेर मेन स्वीच बन्द गर्न गएँ ।’

उनी फर्किन नपाउँदै ठूलो आवाजसहित ग्यास सिलिण्डर विष्फोट भयो । श्रीमान् लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको चौथो तलामै मृत्यु भयो ।

ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य भन्छिन्, ‘उहाँहरु भान्छाको छेउमा हुनु हुँदो रहेछ, सिलिण्डर विष्फोट हुँदा पहिले चारजनालाई लागेको हुनसक्छ ।’ प्रहरीका अनुसार छोरा र छोरी आगो बल्दै गर्दा घरबाट हाम फालेको देखिएको छ, उनीहरु पनि घाइते छन् ।

‘केही चाहिँ हाम फाल्न नसकेको जस्तो पनि देखिन्छ’ बज्राचार्य भन्छिन् ।

दियोबाट आगो सल्किएको अनुमान

घाइतेले दिएको बयान र घटनास्थलको वस्तुस्थितिको आधारमा आगलागी तेस्रो तलाको दियोबाट सुरु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

एसएसपी बज्राचार्य भन्छिन्, ‘दियोसँगै पर्दा रहेछ, पर्दामा आगो सल्किएर माथि रहेको भान्छासम्म पुगेको हुनसक्छ ।’ ग्याँसको पाइप पनि डढेको हुनाले त्यही माध्यमबाट आगो सिलिण्डरसम्म पुगेको अनुमान गरिएको छ ।

भान्छासँगै जोडिएको अर्को घरमा पनि विष्फोटबाट क्षति पुगेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?