+
+

सर्लाहीमा भारतीय गाडीको तथ्यांक राखिने

रासस रासस
२०७८ कात्तिक २१ गते १३:४४

२१ कात्तिक, सर्लाही। प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार छठ पर्व सकिएलगत्तै सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारीसाधनको विवरण सङ्कलन गरी त्यस्ता सवारीसाधन कहाँ र कसले सञ्चालन गरिरहेको छ सो को विवरण सङ्कलन गर्ने काम हुनेछ ।

यसैगरी उक्त कार्यालयले जिल्लालाई घुमुवा प्रहरीरहित जिल्ला पनि बनाएको छ । घुमुवा प्रहरीले जिम्मेवारीअनुसारको काम नगरेर सङ्गठनकै बदनाम गर्न थालेकाले आपराधिक गतिविधि र अन्य घटनाको सूचना सङ्कलनका लागि परिचालित यस्ता घुमुवा प्रहरी हटाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

उनका अनुसार अनौपचारिक पोशाकमा कार्यरत प्रहरीले आचारण विपरीत काम गर्दै सङ्गठनकै बदनाम गराउन थालेकाले हटाइएको हो ।’जिल्लाबाट मातहतका युनिटमा खटाइएका चार यस्ता प्रहरीले सूचना दिनेभन्दा बढी बदनाम गर्ने काम गरे, म आएपछि उनीहरुलाई हटाइसकेको छु।’ उनले भने, ‘अब कुनै घटना भए घटनाको प्रकृतिअनुसार जिल्ला र मातहतका युनिटबाटै विशेष प्रहरी टोली परिचालन हुनेछ।’

स्थानीयवासी, तालुक कार्यालय, सञ्चारकर्मीलगायतबाटै सूचना लिएर शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि काम गर्ने योजना बनाइएको उपरीक्षक प्रसार्इंले बताए। उनका अनुसार यसअघि अनौपचारिकरूपमा खटाइएका प्रहरीलाई पोशाक लगाएरै नियमित डिउटीमा लगाइसकिएको छ ।

प्रहरी उपरीक्षक प्रसार्इं जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भए लगत्तैदेखि जिल्लामा रहेका घुमुवा प्रहरी हटाउने तयारीमा रहेका थिए । उनले प्रहरी सङ्गठनभित्रका कमी कमजोरीलाई सुधार गर्दै आम नागरिकले न्याय र शान्ति सुरक्षाको महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि प्रहरी नायब उपरीक्षक हुँदा पनि सर्लाहीमा एक कार्यकाल बसिसक्नु भएका प्रहरी उपरीक्षक प्रसाईंबाट सर्लाहीवासीले शान्ति, सुरक्षा र अमनचयनको अपेक्षा गरेका छन्।

सिमानाकाका पोष्ट कमाउनका लागि मात्र होइन सेवा पनि गर्नुपर्छ भन्ने मनसाय बनाउन पनि उनले आफ्नो माताहतका प्रहरी कर्मचारीलाई आग्रह गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?