+
+

गोकर्णेश्वरमा सुनको लेपन लगाउने काम चार वर्षदेखि अलपत्र

रासस रासस
२०७८ कात्तिक २१ गते १७:३६

२१ कात्तिक, काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न शुरु भएको काम चार वर्षदेखि अलपत्र छ । २०७४ सालमा पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञ गरी शुरु भएको काम अझै पूरा हुन सकेको छैन ।

२०७४ फागुन २३ देखि चैत २ गतेसम्म यही प्रयोजनका लागि मन्दिर प्राङ्गणमा महायज्ञ गरिएको थियो । महायज्ञबाट खर्च कटाएर तीन करोड रुपैयाँ बचेको थियो । झिँगटीको छानाबाट पानी चुहिएर ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिरका काष्ठकला, मन्दिरको गारो र मूर्तिमा समेत क्षति हुन थालेपछि छाना फेर्ने अभियान शुरु भएको थियो ।

प्यागोडा शैलीको तीनतले मन्दिरको माथिल्लो दुई तलाको छाना फेरिसकिएको छ । माथिका दुई तला सानो छ । सबैभन्दा तलको फराकिलो छाना आधा फेरेर दुई वर्षदेखि अलपत्र छ । अरु काम अघि बढ्न सकेको छैन । गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष समेत रहेका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ पहिले बजेट अभाव भएर काम रोकिएको स्वीकार्छन् । अहिले बजेट व्यवस्थापन भए पनि जनशक्तिका कारण काम ढिलाइ भएको छ ।

‘हालसम्म पौने नौ किलो सुन छानामा लेपन भइसकेको छ, अझै करिब सात किलो सुन लाग्ने अनुमान गरिएको छ,’ उनले भने, ‘पहिलो चरणमा जम्मा २१ किलो सुन लाग्ने प्रारम्भिक अनुमान गरिए पनि करिब १६ किलो सुनले पुग्ने देखिएको छ, त्यसकै लागि पनि सहयोग जुटाउन नसकेर केही ढिलाइ भएको हो, अब बजेट व्यवस्थापन भएकाले काम हुन्छ ।’

अलपत्र छानाको काम अघि बढाउन सहयोग नजुटेपछि गत आर्थिक वर्षका लागि नगरपालिकाले तीन करोड रुपैयाँ विनियोजन गरे पनि काम हुन सकेन । नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा पनि एक करोड बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा विनियोजन गरेको तीन करोडबाट परिषद् बसेन भन्ने बहानामा एक पैसा पनि नआएको गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समितिका अध्यक्ष कोमलबहादुर विष्ट बताउँछन् । महायज्ञकै क्रममा २२ तोला सुन सहयोगस्वरुप संकलन भएको थियो । महायज्ञमै प्राप्त भाँडा बेचेर ३९ लाख आम्दानी भएको पनि समितिले जनाएको छ ।

२०७५ असार २२ गते नै झल्लर, कुटा, ख्वापा लगायत मन्दिरका संरचना बनाउन शुरु गरिएको थियो । त्यसै वर्ष पुसबाट सुनको लेपन गरिएको छाना राख्न थालिएको थियो । काम शुरु भएको चार वर्ष हुन लाग्दा समेत सुनको लेपन गरिएको पाता राख्न भत्काइएको छाना अलपत्र छ । कोरोना महामारी शुरु भएदेखि राम्रोसँग काम अघि बढ्न सकेको छैन । केही दिन काम भए पनि फेरि रोकिने गरेको छ ।

संवेदनशील काम भएकाले ढिलाइ : नगर प्रमुख चालिसे

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे भने बजेट अभावका कारण नभई तामाको पातामा सुनको लेप लगाउने काम संवेदनशील भएकाले ढिला भएको बताउँछन् । पाटनका कामदारले मात्र यो काम गर्ने भएकाले उनीहरुको समय नमिलेर काममा ढिलाइ भएको उनको दाबी छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?