+
+

सत्तारुढ दलहरुले बनाए ११ सदस्यीय समन्वय समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १९:१७

२२ कात्तिक, काठमाडौं । सत्तारुढ दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको हो ।

समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा सदस्य छैनन् । तर उनले आफू हरेक बैठकमा आउने बताएका छन् ।

समितिमा सत्तारुढ गठबन्धनमा रहेका सबै दलबाट २–२ जना सदस्य रहनेछन् भने सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।

समितिमा सरकारको नेतृत्वकर्ता दल कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य तोकिएका छन् ।

माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादवको नाम दिइएको छ । तीनै दलले एक-एक जना सदस्यको नाम दिने बाँकी रहेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

यस्तै राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य छन् ।

समन्वय समितिको बैठकको संयोजन हरेक पार्टीले दुई-दुई महिना गर्ने  छ । त्यसअनुसार पहिलो बैठकको संयोजन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नेछन् ।

न्यूनमत साझा कार्यक्रमको कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्नु, राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्षा तथा संस्थागत सुदृढिकरण, सुरक्षा, सुशासन, सेवा, विकास र संविधानअनुसार हुने चुनाव सफलतापूर्वक सम्पन्न गर्नु समन्वय समितिको काम भएको माओवादी नेता श्रेष्ठले बताए ।

सत्तारुढ दलहरुबीच गठबन्धनको भूमिकालाई प्रभावकारी बनाउन दलीय समन्वय समिति बनाउने सहमति भएको थियो । तर निर्णय कार्यान्वयन नभएपछि माओवादी केन्द्रका नेता श्रेष्ठले केही दिनअघि मात्र प्रश्न उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?