+
+

प्रधानसेनापति शर्माले पाए भारतमा मानार्थ महारथीको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १३:०९

२४ कात्तिक, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान पाएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाली सेनाको नेतृत्व सम्हालेयता यो शर्माको पहिलो विदेश भ्रमण हो । मंगलबार दिल्ली पुगेका शर्माले भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतलाई भेट्ने कार्यक्रम पनि छ । भ्रमणका क्रममा उनले भारतका केही राजनीतिज्ञसँग पनि भेटवार्ता गर्नेछन् ।

मंगलबार साँझ उनले भारतीय समकक्षी मनोज मुकुन्द नरभणेसँग भेटवार्ता गरेका थिए । सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रही आएको छ । त्यसअनुसार नरभणेले २१ कात्तिक २०७७ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिइसकेका छन् ।

शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने नेपाली सेनाका १५ औं सेनापति हुन् । नेपालबाट १९६९ मा प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी चिह्न पाएका थिए ।

त्यसयता सिंहबहादुर बस्न्यात, गुणशमशेर जबरा, सिंहप्रताप शाह, अर्जुननरसिंह राणा, गडुल शमशेर जबरा, धर्मपालवरसिंह थापा, प्रज्वल शमशेर जबरा, प्यारजंग थापा, रूक्माङ्गद कटुवाल, छत्रमानसिंह गुरुङ, गौरव शमशेर जबरा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा गरी १४ जनाले मानार्थ महारथीको सम्मान पाइसकेका थिए।

भारतबाट पहिलो पटक जनरल केएम करिअप्पाले नेपालमा आएर मानार्थ महारथीको सम्मान लिएका थिए । त्यसयता नरभणेसहित १८ जनाले मानार्थ सेना प्रमुखको सम्मान लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?