
२५ कात्तिक, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहितका पदाधिकारीलाई कामकाज गर्न रोक लगाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्णयको त्यहाँका शिक्षक र कर्मचारीले विरोध गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २३ गते मन्त्रीस्तरीय निर्णयबाट प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रारलगायत अन्य पदाधिकारीलाई अर्को निर्णय नभएसम्म कामकाज नगर्नु भनी पत्र पठाएको थियो । प्रतिष्ठानका विभिन्न विभागमा कार्यरत ८८ जना शिक्षक र कर्मचारीले बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रालयको यो निर्णय प्रतिष्ठान अघि बढ्न नदिने दाउपेच रहेको बताएका छन् ।
‘…हाल एमबीबीएस बीएनस, बी फार्मलगायत अन्य शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने अन्तिम चरणमा आइपुग्दा राजनीतिक दाउपेच र राज्यबाट भइरहेको हस्तक्षेपका कारणले प्रतिष्ठानलाई अगाडि बढ्न नदिनका लागि गरिएको सुनियोजित षड्यन्त्रका रुपमा हामीले लिएका छौं’ विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले भने गत चैत २२ गते उपकुलपतिमा नियुक्त डा. मंगल रावलको नियुक्तिमा प्रश्न उठेकाले कामकाजमा रोक लगाइएको बताएको छ ।
एमबीबीएस, बीएनएस, बी फर्मालगायतका अन्य शैक्षिक कार्यक्रम सञ्चालन हुने दिन नजिकिएका बेला प्रतिष्ठानका पदाधिकारीलाई कामकाज गर्न रोक लगाउँदा दुर्गममा चिकित्सा शिक्षा सुरु गर्न चुनौती भएको स्वास्थ्यकर्मी र कर्मचारीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘हुर्कदै र बढ्दै गएको यस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप सहयोग गर्नुपर्नेमा विभिन्न व्यक्तिहरुको स्वार्थका लागि राजनीतिक दाउपेचमा पार्नु खेदजनक छ’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिष्ठान नेपालको दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र सम्बन्धित क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान सञ्चालन गरिरहेको र आत्मनिर्भरतर्फ उन्मुख भइरहेका बेला गरिएको राजनीतिक चलखेलले बहुवर्षीय योजना दैनिक कामकाज प्रभावित भएको शिक्षक र कर्मचारीहरुले बताएका छन् ।
उनीहरुको विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमका गैर जिम्मेवारपूर्ण हस्तक्षेप तत्काल बन्द गरी प्रतिष्ठानलाई सही दिशामा अगाडि बढाउन र प्रतिष्ठानलाई थप उचाइमा पुर्याउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’
प्रतिक्रिया 4