
२५ कात्तिक, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणको अन्तिम दिन बिहीबार राजनीतिक भेटघाटमा व्यस्त भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटका लागि प्रयास गरिए पनि शर्माको मोदीसँग भेट भएन । बरु भारतका रक्षामन्त्री राजनाथ सिंह, विदेश मामिला मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरे ।
नेपाल र भारतका प्रधासेनापतिलाई एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने प्रचलन रही आएको छ । त्यसैको सिलसिलामा एकअर्काको देशमा भ्रमण गरेका वेला दुवै मुलुकका प्रधानसेनापतिले शिष्टाचार राजनीतिक भेटघाट गर्ने चलन पनि छ ।
प्रधानसेनापतिको रुपमा शर्माको यो पहिलो विदेश भ्रमण हो । शिष्टाचार भेटपछि एक तस्वीर ट्वीट गर्दै विदेश मामिला मन्त्री जयशंकरले भनेका छन्, ‘उनको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई झल्काउँछ ।’ भेटघाटका क्रममा के के कुराकानी भयो भन्ने चाहिँ खुलाइएको छैन ।
नेपाली सेनाको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा प्रधानसेनापति शर्माले दिल्लीको नेशनल डिफेन्स कलेजको पनि भ्रमण गरेको उल्लेख गरिएको छ ।
त्यसक्रममा उनलाई कलेजको ‘वाल अफ अनर’ मा फोटो राखेर सम्मान गरिएको सेनाले जनाएको छ । यसरी सम्मान पाउने उनी पहिलो व्यक्ति भएको नेपाली सेनाले जनाएको छ ।
‘यो समान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धी हासिल गर्ने उक्त कलेजका पूर्वविद्यार्थीहरुलाई मात्र दिइने गरिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘महारथी शर्माले सन् २०१३ मा उक्त कलेजबाट नेश्नल डिफेन्स कोर्स (एनडीसी) गर्नु भएको थियो ।’
शर्माले बुधबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्राप्त गरिसकेका छन् । सैनिक प्रवक्ता सन्तोष वल्लभ पौड्यालका अनुसार प्रधानसेनापति शर्मा शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया 4