+
+

भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट मंसिर दोस्रो साता

अच्युत पुरी अच्युत पुरी
२०७८ कात्तिक २६ गते १७:१९

२६ कात्तिक, काठमाडौं । निर्माण शुरु भएको ७ वर्षपछि राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुने निश्चित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई)ले आगामी २२ नोभेम्बर (६ मंसिर)मा गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडानका दौरान टोली नेपाल आउने जानकारी गराएको छ । यसअनुसर मंसिर दोस्रो सातामा क्यालिब्रेसन फ्लाइट हुने छ ।

प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार एरोथाईले नेपाल आउने मिति निश्चित गरेको हो । ‘हामीलाई २२ नोभेम्बरमा टोली नेपाल आउने जानकारी गराइएको छ,’उनले भने, ‘अब आयोजना सम्बद्ध अधिकारी र उनीहरुको प्राविधिक टोली बसेर उडानको मिति तय हुन्छ ।’

क्यालिब्रेसन उडानमार्फत विमानस्थलमा जडान भएका सञ्चारदेखि उडान-अवतरणका लागि आवश्यक अन्य उपकरणहरुले काम गरे-नगरेको परीक्षण हुन्छ । गौतमबुद्ध विमानस्थलको उपकरण जडानतर्फको ठेक्का एरोथाईले नै पाएको थियो ।

सो ठेक्का सम्झौतामै यस्तो उडान समेत समेटिएको थियो । बीचमा कोरोना भाइरसको महामारीका कारण अन्यौल भएपनि अब भने उडान हुने निश्चित भएको प्राधिकरणले जनाएको छ ।

भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्न एरोथाई ६ मंसिरमा नेपाल आउने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईसीबी वानतर्फ भौतिक संरचना निर्माण गरिएको छ । यो चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरेको हो ।

आइसीबी टू तर्फको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरेको हो । क्यालिब्रेसन उडानका दौरान, उपकरणजडित जहाजमात्र नभई विज्ञ जनशक्ति समेत साथमा हुनुपर्छ । यसको व्यवस्थापन एरो थाई स्वयमले जोहो गर्ने प्राधिकरणको भनाइ छ ।

परीक्षण उडानपछि के हुन्छ ?

फ्लाइट क्यालिब्रेसनपछि संचार, कन्ट्रोल टावरसहित विमानस्थलमा जडित उडान-उपकरणहरुले काम गरे-नगरेको पत्ता लाग्नेछ । यस्तो फ्लाइटमा विज्ञहरु सहभागी हुन्छन् । परीक्षण उडान गर्न विशेष जहाज चाहिन्छ ।

कम्यूनिकेशन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि भने जहाज उडान/अवतरणको बाटो खुल्नेछ । त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने हुन्छ ।

प्राधिकरणका अनुसार भैरहवा विमानस्थलमा फ्लाइट क्यालिब्रेसन सकिएपछिको तीन महिनामा विमानस्थल व्यवसायिक उडानका लागि योग्य बन्नेछ ।

प्राधिकरणका अनुसार त्यसपछि प्राधिकरण आफैले परीक्षण उडान गरी अन्तर्राष्ट्रिय उडानका लागि यो विमानस्थल खुला गर्नेछ ।

सञ्चालन-व्यवस्थापन प्राधिकरणबाटै

प्राधिकरणका अनुसार यो विमानस्थलमा परीक्षण पुरा भएपछि संचालन तथा व्यवस्थापन अहिले प्राधिकरणकै जनशक्तिबाट हुने छ । यहाँ आन्तरिक विमानस्थल अहिले पनि संचालनमा छ । त्यसमा थप जनशक्तिसहित दरवन्दी तय भइसकेको बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको संचालनका लागि आफ्नोतर्फबाट १ सय ५१ जना कर्मचारी रहने गरी दरवन्दी तय गरेको छ ।

यसमध्ये  ३६ जनाको दरवन्दी अहिले आन्तरिक विमानस्थल सञ्चालनकै दौरान रहेको छ । त्यो जनशक्तिमा थप गरी दरवन्दी तय गरिएको छ ।

भैरहवा विमानस्थलको निर्माणको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । विमानस्थलको प्रारम्भिक लक्ष्यअनुसार डिसेम्बर २०१७ मै सञ्चालनमा आइसक्नु पर्ने थियो । तर, यो मितिभन्दा थप चार वर्ष अवधि लम्बिएको हो ।

विमानस्थलको भौतिक संरचना निर्माणको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, यस विमानस्थलको मुआब्जा वितरणमा भने ३० अर्ब भन्दा बढी रकम खर्च भइसकेको छ । यो विमानस्थल निर्माणमा एसियाली विकास बैंकले सहूलीयतपूर्ण ऋण सहयोग गरिरहेको छ ।

भैरहवामा ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको धावनमार्ग निर्माण भएको छ । सोहीकारण काठमाडौंमा उडान-अवतरण हुने सबै क्षमताका विमानको उडान-अवतरण यहाँबाट पनि सम्भव हुनेछ । यहाँ एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुई वटा साना जहाज पार्क गर्न मिल्ने अन्तरराष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ ।

बआन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहेको छ । टर्मिनल भवन तथा आवश्यक टावरहरु निर्माणको काम सकिएको छ । अग्नी निवारण तथा जीवनोद्धार सेवाका लागि आधुनिक दमकल र एम्बुलेन्स सेवा खरीदको काम समेत पुरा भएको प्राधिकरणले जनाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?