+
+

‘फुलन्देको आमा’को प्रष्टीकरण : जितु नेपाललाई धोका दिएको होइन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १९:१३

केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै हास्य कलाकार जितु नेपालले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने घोषणा गरे । शो बन्द हुनुको एउटा कारण कलाकार उमेश राई अर्को शोमा जानु रहेको जीतुले बताएका थिए । जितुले आफूलाई थाहा नै नदिई उमेश अर्को शोमा गएको र एजेन्सीले पनि यसमा खासै वास्ता नगरेकाले शो बन्द गर्नुपरेको बताएका थिए ।

उमेशले भने यो विषयमा केही पनि कुरा नगर्ने बताउँदै आएका थिए । तर, दर्शकको तर्फबाट आफूले गाली धेरै पाएको भन्दै उनले शनिबार केही सञ्चारकर्मीलाई घरमै बोलाएर यसबारे स्पष्टीकरण दिएका छन् ।

फुलन्देको आमा उपनामले परिचित उमेशले सञ्चारकर्मीमाझ भने, ‘मलाई यो स्थानसम्म ल्याइदिनुभएकोमा जितु नेपाल दाइलाई धन्यवाद दिन चाहन्छु । म अर्को कार्यक्रममा गएको कुरा सत्य भएपनि मेरै कारणले शो बन्द भएको कुरा भने गलत हो । किनकि, मैले होस्ट गर्न लागेको अर्को शो र मुन्द्रेको कमेडी क्लब एउटै कम्पनीले उत्पादन गरेकाले पनि मैले यो निर्णय गरेको हुँ ।’

उनले जितु नेपाल र कि एडभरटाइजिङबीच शोको प्रकृति फरक भएको खण्डमा अर्को शोमा जाँदा कुनै फरक नपर्ने सहमति भएकाले आफूले यस्तो निर्णय लिएको बताए । ‘मलाई थुप्रै कार्यक्रमबाट अफर पनि आएका थिए । तर, मैले जितु दाइलाई धोका दिनुहुँदैन भनेर अर्को शोमा जाने निर्णय लिइनँ,’ उले भने, ‘मलाई पैसाकोे चिन्ता लिनु पर्दैन, अर्को शोे तयार गरौं भनेर अफर आएको थियो । तर, पैसा मात्र ठूलो कुरा होइन भन्ने मलाई लाग्छ ।’

आफूले ‘डान्स च्याम्पियनसिप’मा काम गरेर ‘मुन्द्रेको कमेडी क्लब’मा काम गर्दिनँ भनेर नभनेको पनि उनको तर्क छ । उनले अगाडि भने, ‘मलाई एजेन्सीको सरहरुले नै अर्को शोमा पनि काम गर्दा केही फरक पर्दैन भनेपछि मैले काम गरेको हुँ । मैले अर्को शोमा काम गर्दिनँ भनेर भनेको भए, मुन्द्रेको कमेडी क्लबबाट पनि मलाई निकाल्नुहुन्थ्यो कि, के थाहा ?’

‘फुलन्देको आमाको गेटअपमा म अर्को शोमा जाँदा ‘मुन्द्रेको कमेडी क्लब’को नै प्रमोसन हुन्छ जस्तो लाग्छ,’ उनले थपे, ‘मेरो विचारमा जितु दाइ र एजेन्सीबीच नै कुरा नमिलेको हो जस्तो लाग्छ ।’

आफू दुवै शोमा देखिन नमिल्ने भएको खण्डमा ‘मुन्द्रेको कमेडी क्लब’मा चार महिनापछि फर्किन्छु भनेको सुनाए । उमेशले शोलाई अगाडि बढाउन जितु नेपाललाई आग्रह गरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?