+
+

मुस्ताङमा हिमपहिरो जाँदा ‘कबड्डी ४’ युनिटमा भागदौड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १२:५९
आइतबार मनाङमा गएको हिमपहिरो

आइतबार बिहान मुस्ताङको मानापाथी हिमालबाट हिमपहिरो खस्दा चलचित्र ‘कबड्डी ४’को युनिट करिब दुई किलोमिटर पर थियो । लार्जुङमा कोवामा चलचित्रको छायांकनका लागि सबै युनिट तयार थियो ।

बिहान साढे ८ बजेबाट हिउँ झर्न थाल्दा करिब ७५ जनाको युनिटका सदस्यहरु रमाइलो मानिरहेका थिए । तर, ९ बजेतिर हिमपहिरो नै खसेपछि भने स्थानीय बासिन्दाले चलचित्रको युनिटका सदस्यहरुलाई भाग्न सुझाव दिए । त्यसपछि भने त्यहाँ भागदौड मच्चियो । चलचित्रका कलाकार, प्राविधिक सबै आफू रहेको स्थानबाट अझै पर भागे ।

मुस्ताङमा चलचित्रको छायांकनमा रहेका निर्माता मणिराम पोखरेलले अनलाइनखबरसँग भने, ‘हामी लार्जुङमा कोवामा थियौं । यो स्थान हिमपहिरो गएको स्थानबाट २ किलोमिटर पर छ । तर, शनिबार हामीले नाउरीकोटमा चलचित्र खिचेका थियौं । हामी त्यहाँ भएको समयमा हिमपहिरो गएको भए ठूलै दुर्घटना हुने रहेछ ।’ हिमपहिरो गएको स्थानबाट नाउरीकोट ५०० मिटर मात्र टाढा रहेको उनले सुनाए ।

मणिरामका अनुसार हिमपहिरोका कारण कलाकार तथा प्राविधिकका कपडा बिग्रिएको छ । शनिबार हिमपहिरो गएपछि चलचित्रको युनिट त्रासमा रह्यो । जसकारण दिनभरजसो नै चलचित्रको छायांकन रोकिएको उनले बताए ।

‘कबड्डीको चारवटै सिरिज हामीले मुस्ताङमा खिचेका छौं । तर, यस्तो कहालीलाग्दो दृश्य पहिलो पटक देख्यौं । स्थानीय बासिन्दाहरुका अनुसार पनि यस्तो हिमपहिरो ६० वर्षपछि गएको रहेछ,’ उनले भने ।

हिमपहिरोका कारण चलचित्रमा अभिनय गरेका स्थानीय केही कलाकार घाइते भएका छन् । मणिरामले उनीहरुलाई अस्पताल पुर्‍याइएको जानकारी दिए ।

रामबाबु गुरुङको निर्देशनमा बनिरहेको यो चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, सौगात मल्ल, विजय बराल, मिरुना मगर लगायतका कलाकारको अभिनय छ । अझै १० दिनसम्म चलचित्रको छायांकन मुस्ताङमा हुने मणिरामले बताए ।

आइतबार बिहान हिमपहिरोको डरले भागदौड हुँदा मुस्ताङमा ९ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?