+
+

म्युजिक भिडियोको अंकगणित : युट्युबमा करोड भ्युज पुग्दा कति कमाइ ?

सुशील नेपाल सुशील नेपाल
२०७८ कात्तिक २९ गते १८:२६

२९ कात्तिक, काठमाडौं । एक समय थियो, गीत कति हिट र त्यसबाट कति आम्दानी भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो । म्युजिक कम्पनीले क्यासेट बिक्री गरेको आधारमा गायक/सर्जकले रोयल्टी पाउँथे ।

अहिले जमाना फेरिएको छ । गीत हिटको मापन र आम्दानीको मुख्य स्रोत युट्युब बनेको छ । धेरै कलाकारहरुले युट्युब च्यानल खोलेर आफ्ना गीत आफ्नै च्यानलमा अपलोड गर्ने गरेका छन् ।

युट्युबमा हरेक दिनजसो नयाँ-नयाँ गीत सार्वजनिक भइरहेका हुन्छन् । सार्वजनिक भएकामध्ये धेरै गीतले राम्रो भ्युज भने पाउन सकिरहेका हुँदैनन् । तर, केही गीतहरुले भने स्रोता/दर्शकको मन जित्दै युट्युबमा राम्रो भ्युज पाइरहेका हुन्छन् । ती गीतहरुले लगानी कटाएर नाफा समेत गरिरहेका हुन्छन् ।

एक साताअघि मात्रै ‘रमरम मरौटी’बोलको गीतको भिडियोले युट्युबमा एक करोड भ्युज पार गर्‍यो । सार्वजनिक भएको एक महिनाको अवधिमा खेम सेञ्चुरी र अस्मिता अधिकारीको स्वर, पूजा शर्मा र ओबी रायमाझीको अभिनय रहेको गीतको भिडियोलाई एक करोड बढी पटक हेरिएको हो । यो गीतको भिडियो ‘ओबी रायमाझी’को आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

त्यस्तै, एक साताअघि नै ‘पिपल छेउमा बर’ बोलको गीतको भिडियोको भ्युज एक करोड पुग्यो । प्रविशा अधिकारी र रोशन सिंहको स्वर तथा विमल अधिकारी र अनु शाहको अभिनय रहेको गीतको भिडियो भने गत वर्ष सार्वजनिक भएको हो । यो मोडल विमल अधिकारीको म्युजिक कम्पनी ‘भावना म्युजिक सोलुसन’ मार्फत सार्वजनिक गीत हो ।

यी दुई गीत पछिल्लो समय करोड क्लबमा प्रवेश गरेका प्रतिनिधि गीतहरु हुन् । यसअगाडि दर्जनौं गीतले युट्युबमा करोड भ्युज पार गरिसकेका छन् ।

युट्युबमा गीतको भ्युज १ करोड हुँदा कमाई कति हुन्छ ? लगानीकर्ताहरुका अनुसार युट्युबबाट हुने आम्दानीमा एकरुपता हुँदैन । ‘रमरम मरौटी’ले एक करोड भ्युज पुग्दा कति आम्दानी गर्‍यो ? लगानीकर्ताले नखुलाएपनि ‘पिपल छेउमा वर’बाट झण्डै पाँच लाख रुपैयाँ आम्दानी भएको विमल अधिकारीले बताए । म्युजिक भिडियोमा युट्युबको कमाइबारे भने, ‘नोभेम्बर–डिसेम्बरमा अपलोड गरेका भिडियोबाट अलि धेरै आम्दानी हुन्छ । जनवरीपछि फेरि युट्युबबाट हुने आम्दानी घट्छ ।’

भिडियोको समयले पनि आम्दानीमा फरक पार्ने उनी बताउँछन् । त्यस्तै, कुन देशबाट बढी हेरियो भन्नेले कुराले पनि  आम्दानीमा फरक पार्ने उनको भनाइ छ । नेपालबाट भन्दा विदेशबाट धेरै हेरिएको भिडियोको आम्दानी बढी हुन्छ । नोभेम्बर–डिसेम्बरमा गुगल विज्ञापन बढी हुने हुँदा धेरै आम्दानी हुने अधिकारीले बताए ।

मोडल मलिका महत

‘केन्द्र मोसन पिक्चर्स’बाट सार्वजनिक भएका केही गीतले करोड बढी भ्युज पाएका छन् ।   जसमध्ये ‘आँखामा आउने सपनी’ले १ करोड ६० लाख भ्युज पाउँदा ८ लाख आम्दानी भएको ‘केन्द्र मोसन पिक्चर्स’का म्यानेजर सागर लामिछानेले जानकारी दिए ।

उनका अनुसार पनि एक करोड भ्युज जाँदा कति आम्दानी हुन्छ ? भन्ने ठ्याक्कै भन्न सकिँदैन । ‘यति भ्युज जाँदा यति आम्दानी हुन्छ भन्ने हुँदैन । दर्शकले भिडियो कति मिनेट हेरे भन्नेमा भर पर्छ । ४ मिनेट र ८ मिनेटका दुई भिडियोले एक करोड भ्युज पाएका छन् भने ८ मिनेटको भिडियोबाट आउने आम्दानी बढी हुन्छ,’ लामिछानेले भने ।

उनले पनि नोभेम्बर–डिसेम्बरमा बढी आम्दानी हुने बताए । त्यस्तै विदेशबाट धेरै हेरिएको भिडियोको आम्दानी पनि बढी हुने उनको भनाइ छ ।

केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक भएका ‘फुलबुट्टे सारी’, ‘टाढा भएपनि’ गीतको भिडियोको आम्दानी नखुलाइए पनि यी गीतबाट राम्रो आम्दानी भएको लामिछानेले बताए । उनले भने, ‘यति भन्छु, ती गीतले अन्य ७–८ वटा म्युजिक भिडियो बनाउन पुग्ने आम्दानी गरे ।’ ‘फुलबुट्टे सारी’ले सोमबार दिउँसोसम्म युट्युबमा ७ करोड १२ लाख बढी भ्युज पाएको छ भने ‘टाढा भएपनि’को भ्युज ४ करोड ८३ लाख बढी छ ।

गायक एवं निर्देशक सरोज वलीको ‘गज्जब टीभी’मार्फत सार्वजनिक केही म्युजिक भिडियोले करोड बढी भ्युज पाएका छन् ।

सरोज पनि म्युजिक भिडियोबाट आउने आम्दानीबारे ठ्याक्कै भन्न नसकिँने बताउँछन् ।  उनले अनलाइनखबरसँग भने, ‘कुनै गीत करोड पटक हेरिँदा थोरै आम्दानी भएको छ । कुनै गीतबाट भने एकदमै राम्रो आम्दानी भएको छ ।’

उनले दुई गीतको आम्दानीबारे उदाहरण दिँदै भने, ‘‘मायालु तिमी कता छौ’ गीत १ करोड १२ लाखले हेर्दा ३ लाख रुपैयाँ मात्र आम्दानी भएको छ । ‘माया गरौंला’ भन्ने गीत १ करोड ७० लाखले हेर्दा १० लाख रुपैयाँ आएको छ ।’ उनले पनि युट्युबको कमाइ नोभेम्बर–डिसेम्बरमा धेरै हुने, विदेशको भ्युजमा बढी हुने आफूले बुझेको बताए । उनले लामो र छोटो समयको भिडियोले आम्दानीमा फरक नपार्ने बताउँदै भने, ‘लामो भिडियो पनि दर्शकले कति मिनेट हेर्छन् भन्नेमा भर पर्छ । भिडियो लामो छ, तर दर्शकले थोरै मात्र हेरे भने आम्दानी पनि थोरै हुन्छ ।’

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?