+
+

नक्कली सुन देखाउँदै सक्कली लुट्दै

बिकास मरहट्टा बिकास मरहट्टा
२०७८ कात्तिक ३० गते ७:५९

३० कात्तिक, गोरखा । गोरखा बजार आएकी भीमसेन थापा गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई लुटपाट गर्ने उद्देश्यले केही व्यक्तिहरुले पछ्याउछन् । हरमटारी आसपास आइपुगेपछि एकजनाले सुन जस्तो देखिने पहेलो धातुको ढिक्का ती महिलाले देख्ने गरी भुइँमा खसाउँछ तर, खसेको थाहा नपाएको जस्तो नाटक गरेर त्यहाँबाट जान्छ ।

महिलाले सुन ठानेर त्यसलाई हत्तपत्त टिप्छिन् । त्यो क्रियाकलाप लुटपाट गर्ने गिरोहमध्येको अर्काेले हेरिरहेको हुन्छ अनि ती महिलालाई पछ्याउन थाल्छ । केही पर पुगेपछि ‘त्यो सुन खसाउने मान्छेलाई मैले चिनेको छु, केही भाग मलाई पनि दिनुस् नत्र म उहाँलाई भन्दिन्छु’ भनेर बार्गेनिङ गर्न थाल्छ ।

भीडभाड भन्दा अलि पर उनीहरु जान्छन् र रकमको बार्गेनिङ हुन्छ । ती महिलाले आफूले लगाएको सुनको एउटा गहना दिन्छिन् र भेटिएको नक्कली सुन सक्कली ठानेर घर लैजान्छिन् । केही दिनपछि बल्ल उनलाई थाहा हुन्छ त्यो भेटिएको सुन नक्कली हो भनेर ।

२०७७ माघ १२ गते बजार आउँदै गरेकी गोरखा नगरपालिकाकी ६३ वर्षीया अर्की एक महिलालाई त्यही गिरोहले त्यसरी नै पछ्याउँछ । पहिलो घटनाजस्तै सुन जस्तो देखिने पहेलो धातुको ढिक्का खसाल्छन् अनि महिलाले टिप्छिन् । अनि अर्काे व्यक्ति आएर त्यसरी नै बार्गेनिङ गर्छ । अनि ती महिलाले आफूले लगाएको एक तोला बराबरको सुनको रिङ दिएर नक्कली सुन बोकेर घर जान्छिन् । केही दिनपछि सुन नक्कली भन्ने उनलाई थाहा हुन्छ ।

नक्कली सुन देखाएर सक्कली सुन लुट्न पल्केको त्यो गिरोहले जिल्लामा उनीहरुलाई मात्र होइन अन्य व्यक्तिहरुलाई पनि त्यसरी नै ठगेको पाइएको छ । गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाका अन्य दुई महिला पनि उनीहरुबाट पीडित छन् ।

सो समूहले बार्गेनिङ गरेर केही व्यक्तिसँग रकम लगेको छ भने कतिपयबाट सुनको गहना नै लिएको प्रहरीले जनाएको छ । ‘चार/पाँच जनाको समूह मिलेर लुटपाट गर्न आउने रहेछन्,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले भने, ‘गहना लगाएका वा साथमा पैसा बोकेर आएकाहरुलाई टार्गेट बनाउने अनि योजनावद्ध तरिकाले लुट्ने गर्दा रहेछन् ।’

प्रहरीका अनुसार जिल्लामा भएको घटनालाई मध्येनजर गर्दा अधबैंसे महिलाहरुलाई लक्षित गरी लुटपाट भएको देखिन्छ । ‘बैक तथा वित्तीय संस्था आसपास बस्ने, बैंकबाट पैसा निकालेका वा गहना लगाएर आएका मान्छेलाई पछ्याउने अनि त्यही किसिमले लुटपाट गर्ने गरेको पाइयो,’ उनले भने ।

पीडितमध्ये केहीले जाहेरी समेत दिएका छन् । ‘घटनाबारे थाहा पाएपछि हामीले सिसिटिभी फुटेज पनि हर्यौं तर उनीहरु मास्क लगाएको र मुख छोपेर आएकाले पहिचान गर्न सकिएन,’ डिएसपी दाहालले भने ।

ठगी गर्ने गिरोहको खोजी गर्ने क्रममा दुई जनालाई भने प्रहरीले पक्राउ गर्न सफल भयो । त्यसरी नै ठगी गरिरहेको अवस्थामा स्थानीयको सहयोगमा प्रहरीले उनीहरुलाई तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ जिल्लाको गुम्दी-६ का ३७ वर्षीय शमसेर सुनार र सोही जिल्लाको सेतुङ-२ बराङका ४४ वर्षीय प्रेम तामाङ रहेको प्रहरीले जनाएको छ ।

बयानको क्रममा गोरखामा भएको घटनामा पनि आफूहरु संलग्न भएको उनीहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ । जबरजस्ती चोरी शीर्षकमा मुद्दा दर्ता भइ उनीहरुलाई आवश्यक कारवाही भइरहेको छ ।

तर ठगी गर्ने गिरोहहरु अझै बाँकी रहेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ । आर्थिक कारोवार हुने क्षेत्रमा सतर्क रहन र कसैको प्रलोभनमा नफस्न प्रहरीले आग्रह गरेको छ । ‘नचिनेको मान्छेसँग घुलमिल हुनु भएन, उनीहरुको कुरा पत्याउनु भएन,’ डिएसपी दाहाल भन्छन्, ‘वृद्ध व्यक्तिलाई पैसाको कारोबार गर्न एक्लै पठाउनु भएन, कोही आफन्त साथी आइदिनुपर्यो ।’ यस्ता ठगीबाट जो कोही पनि पीडित हुनसक्ने भएकाले सजग रहन समेत उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?