+
+

हिसाब खोज्दा पालिकाको बैठक कक्षबाट निकालिए वडाध्यक्ष

हरि अधिकारी हरि अधिकारी
२०७८ कात्तिक ३० गते १७:५३

३० कात्तिक, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट निकालेका छन् । सोमबार वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे-४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर निकालेका हुन् ।

समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ मागेका थिए । उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाएर मात्रै बैठक अघि बढाउन माग गरे ।

बैठकअघि बढ्न नदिएपछि मेयर राईले नगरप्रहरीलाई बाहिर निकाल्न निर्देशन दिए । निर्देशनपछि दुईजना नगरप्रहरीले उनलाई निकालेपछि मात्रै छलफल सुरु भएको थियो ।

‘पालिका भित्र अनियमितता भयो, हिसाब देखाउल भन्दा नगरप्रहरी लगाएर मलाई निकाले,’ भण्डारीले भने, ‘नगरप्रहरीले हातपात पनि गरे ।’ मेयर र नगरप्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी पनि दिएका छन् ।

वडा अध्यक्ष भण्डारीका अनुसार अनियमितताका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत र एक जना इन्जिनियरले अख्तियारमा मुद्दा खेपिरहेका छन् । पालिकामा अझै अनियमितता भइरहेको उनको गुनासो छ ।

सोमबारको समीक्षा गोष्ठीमा वडा अध्यक्षलाई निकालेपछि नगर प्रमुख राईले कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बैठक चल्न नदिएपछि मेयरले वडा अध्यक्षलाई बाहिर पठाएको बताए ।

उनका अनुसार वडा अध्यक्षको मोटरसाइकल मर्मतको बिल पास नभएका कारण विवाद निस्किएको थियो । ‘उहाँको मोटरसाइकल मर्मतको बिल १० हजारको थियो, मैले तोक आदेश दिएँ तर माग फारम नभरेकाले लेखाले रोकेको रहेछ,’ उनले भने, ‘बैठकमा इन्धन मर्मतको हिसाब खोज्नु भयो ।’ पालिकाले चालु आर्थिक वर्षका लागि इन्धनमा छुट्याएको ४२ लाख, मर्मतको ३० लाख र फर्निचरको ५० लाख खर्च हुने क्रममा रहेको दाबी उनले गरे ।

मेयर राईले बैठक चल्न नदिएपछि बाहिर बसेर सहयोग गर्न आग्रह गरिएको बताउँछन् । आफ्ना कुरा राखिसकेपछि अरुलाई कुरा राख्न नदिएपछि बाहिर पठाइएको उनले बताए । ‘बैठकबाट निकालेको होइन, बाहिर बसेर सहयोग गरिदिनुहोस् भनेको हो,’ उनले भने, ‘बहिर पनि कराउनु भएछ ।’

मेयर राई नेकपा एमालेबाट निर्वाचित भएका हुन् । वडा अध्यक्ष भण्डारी भने माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

बैठक कक्षबाट वडा अध्यक्ष निकालिएपछि माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेतीले आपत्ती जनाएका छन् । उनले वडा अध्यक्षमाथिको दुर्व्यवहारको मूल्य चुकाउने उल्लेख गरेका छन् ।

‘पथरी शनिश्चरे ४ का वडा अध्यक्षले उठाएका भ्रष्टाचारका प्रश्नको जबाफ नदिइ उनीमाथि नगरपालिका प्रमुखलगायतले गरेको दुर्व्यवहार आपत्तिजनक छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यसको घोर भर्त्सना गरिन्छ, यो दुर्व्यवहारको चर्को मूल्य पर्ने छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?