+
+

प्रदेश १ : एमाले नआएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १४:३७

३० कात्तिक, विराटनगर । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।

नेकपा एमालेले भने विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत भएनन् ।

त्यसपछि बसेको बैठकमा विपक्षी दल नेकपा एमालेका एक जना पनि सांसद सहभागी नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

मुख्यमन्त्री असन्तुष्ट

प्रदेशसभा बैठक स्थगित गरेकामा मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीप्रति असन्तुष्टि जनाएका छन् । उनले नेकपा एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरेको आरोप लगाए ।

‘विहानसम्म मसँग प्रोसिड्युर (विश्वासको मत लिने प्रक्रिया) बारे छलफल गर्नुभएको थियो, एमालेको तर्फबाट खबर आएपछि निर्णय वा निर्देशन अनुसार यो काम गर्नुभएको छ । यो राम्रो भएन’ मुख्यमन्त्री राईले भने ।

नेकपा एमालेले सभामुख भण्डारीलाई आफ्नो सांसदमा गणना गर्ने गरेको भन्दै मुख्यमन्त्री राईले सभामुखले पनि त्यो कुरा व्यवहारमा देखाएको टिप्पणी गरे ।

विश्वासको मत लिने प्रक्रिया मुख्यमन्त्रीले आफ्नो अनुकुल समयमा लिन पाउनुपर्ने भए पनि एमालेले दुख दिन मात्र खोजेको बताए । ‘यो दुख दिने नियतमात्र हो, यसले परिणाममा फरक केही पार्दैन, उहाँहरु आउन नसक्ने अवस्था मात्र होइन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?