+
+
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको अन्तर्वार्ता :

‘अहिले ठूला कुरा गर्दिनँ, परिणाम देखिने गरी काम गर्छु’

जीवनबहादुर शाही, मुख्यमन्त्री जीवनबहादुर शाही, मुख्यमन्त्री
२०७८ मंसिर १ गते ८:१०

१ मंसिर, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनले मुख्यमन्त्री पद जुराइदिएपछि कांग्रेस नेता जीवनबहादुर शाही यतिबेला कर्णाली प्रदेशका मुख्यमन्त्री बनेका छन् । दुई तिहाइ बहुमतमा रहेका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेकपा विभाजनसँगै अल्पमतमा परे र कर्णालीमा एक सिटमात्र जितेको नेपाली कांग्रेसबाट जीवनबहादुर शाहीले मुख्यमन्त्री बन्ने अवसर पाए ।

शाहीका लागि सरकारको नेतृत्व सहज भने देखिएको छैन । पाँचवर्षे अवधिको बाँकी कार्यकाल नेतृत्व गर्ने जिम्मेवारी पाएका मुख्यमन्त्री शाहीका सामु थुप्रै चुनौती र प्रश्न ठडिएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले कर्णालीको समृद्धिको लागि ‘६ ब’को अवधारणा अघि सार्दै परिणाम देखाइदिने बताएका छन् । साथै उनले अब सत्ता हस्तान्तरणको कुनै सहमति नभएको पनि उनले बताएका छन् ।

प्रस्तुत छ, मन्त्रिपरिषद् विस्तार, सरकारको प्राथमिकतालगायतका विषयमा मुख्यमन्त्री शाहीसँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानीको सम्पादित अंश :

२०७४ को निर्वाचनपछि प्रतिपक्षको कुर्सीमा बस्ने जनादेश थियो । तर, नेकपा विभाजनले मुख्यमन्त्रीको कुर्सीमा ल्याइपुर्यायो, सोच्नु भएको थियो, यो दिन आउला भनेर ?

यो नसोचेकै उपलब्धि हो । यति छिटो नेकपा विभाजन हुन्छ, राजनीतिक कोर्स फेरिन्छ र म मुख्यमन्त्री बन्छु भन्ने सोचेको थिएनँ । २०७४ मा मुख्यमन्त्री बन्ने भनेर नै प्रदेशमा आएको थिए । तर, प्रतिपक्षमा बस्ने जनादेश प्राप्त भयो । मुख्यमन्त्री त भएन, मुख मन्त्री भएँ भनेर भन्थें । किनकी प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सरकारलाई सवाल गरें । सरकारको बिरोधमात्र नभइ सरकारका कमजोरीलाई सुधार्न धेरै प्रयास गरें ।

कर्णालीमा तीन चौथाइ जनमत प्राप्त तत्कालीन नेकपा सरकार थियो । त्यतिबेला त सोचेको पनि थिएन कि यो प्रदेशको बागडोर मैले सम्हाल्न पाउँछु भनेर । तर मलाई के विश्वास थियो भने, सरकारको नेतृत्व नगरेपनि उहाँहरुलाई घचघच्यायर सहीबाटोमा हिडाउँछु भन्ने लागेको थियो । प्रतिपक्षी भनेकै सरकारको बिरोध गर्नेमात्रै हो भन्ने पुरानो मान्यतालाई तोड्दै कर्णालीको प्रतिपक्ष यहाँको गरिबी, बेरोजगारी, अशिक्षा र भ्रष्टाचार हो भन्ने सन्देश दिएँ । कर्णालीको समृद्धिका लागि सत्ता र प्रतिपक्ष सबै मिलेर जानुपर्छ भनें ।

बहुमत प्राप्त पार्टी प्रतिपक्षीको बेन्चमा छ । प्रत्यक्षतर्फ एक सिट जितेको तपाईंले सरकारको नेतृत्व गर्नुभएको छ । बहुमतमाथि अल्पमतले शासन गर्दा अप्ठ्यारो लागेको छैन ?

त्यो बेला कम्युनिष्ट नेताहरूले कर्णालीमा अबको ३० वर्ष कांग्रेसले जित्ने सपना नदेखे हुन्छ भन्थे । कतिपयले टर्च बालेर हेर्नुपर्छ पनि भने । राजनीतिमा जे पनि सम्भव छ त भन्दिनँ तर, नेपालमा चाहिं सम्भव छ भन्छु । किनकि अन्य देशहरुमा यतिसम्म हुँदैन । यो कम्युनिष्टमा मात्रै हैन, कांग्रेसमा पनि छ । हिजो कांग्रेसले नै कांग्रेसको सरकार ढालेको इतिहास छ । कुनै वादले मात्र हुँदो रहेनछ । मानिसको विचारमा भर पर्ने रहेछ ।

अझ भनौं हरेक कुरा नेतृत्वमा भर पर्ने रहेछ । हिजो बीपीले लिनुभएको सामाजवादको नीति एउटा खालको थियो । पुष्पलाल, मदन भण्डारीका बेला अर्को खालको थियो । अहिलेका नेताहरुले राम्रो गर्नसक्नु भएन भन्ने होइन । तर प्रयास गर्दा गर्दै पनि हामी नेता पनि चुक्यौं, जनता पनि चुके, पार्टी पनि चुकेको जस्तो देखिन्छ । यस्तो किन भयो ? चाहिने भन्दा बढी राजनीति भयो । हामी हरेक ठाउँमा चाहिने भन्दा बढी राजनीति गर्न थाल्यौं । जसले गर्दा राजनीतिमा जे पनि सम्भव छ भन्ने देखायो ।

यो नै देश विकासको प्रमुुख बाधक हो । देशमा स्थिर सरकार नहुँदा जनताले दुई तिहाइ दिए । तर दुई तिहाइ मत दिंदा पनि त सरकार स्थिर नहुने रैछ । यो अस्ति बेमौसमी वर्षा आएको जस्तै हो । यो नेपालमै सम्भव छ । त्यसैले अनौठो लागेको छैन ।

विकास र समृद्धिका लागि व्यवस्था भन्दा पनि व्यक्ति सही हुनुपर्छ भनिरहँदा, तपाईं स्वयंलाई लाग्दैन म मेरै पालामा कर्णालीको मुहार फेर्छु, केही गरेरै छोड्छु ?

म एक महिना या एक वर्षै काम गरौंला तर जनतालाई केही फरक अनुभूति दिलाएरै जान्छु । अहिले सम्पूर्ण योजनाहरु पास भएर गइसकेका छन् । अगाडिका सरकार प्रमुखले सबै वितरण गरेर जानु भएको छ । मसँग बजेट छैन । तर वितरण भएको बजेटको सही सदुपयोग भयो कि भएन ? त्यसको मोनिटरिङ गर्ने, काममा भएका ढिलासुस्ती हटाउने । अनुगमनलाई तीव्रता दिने र अनियमितता भएका ठाउँलाई नियमित बनाउने छु । प्रदेश सरकारप्रति जनताको जुन खालको वितृष्णा छ त्यसलाई मेटाउने छु ।

म जे बोल्छु, त्यही गर्छु । जनतालाई झुठो आश्वासन दिन्न । कति दिन रहन्छु त्यो महत्वपुर्ण होइन । म जति दिन रहन्छु, त्यो प्रत्येक मिनेटलाई सदुपयोग गरेर जनताको पक्षमा काम गर्छु । गठबन्धनले उत्कृष्ट काम गर्यो भने ठूलो जस पाउनेछौं । राम्रो काम गर्न नसके कर्णालीका जस्ता नालायक नेता कोही छैन भन्ने अपजस पनि हामीले नै पाउँछौं । जनताले गरेको भरोसा मर्न दिने छैन । म अहिले धेरै ठूलो भाषण गर्दिनँ, काम गर्छु परिणाम देखाउँछु ।

समृद्ध कर्णाली बनाउने तपाईंसँग प्रस्ट भिजन के छ ? तपाईंका प्राथामिकता के-के हुन् ?

स्वास्थ्य, शिक्षा र रोजगारी मेरो पहिलो प्राथमिकता हो । यी तीन कुरालाई सफल पार्न मैले ६ ‘ब’को अवधारणा अघि सारेको छु । बाटो, विद्युत, विचार, वन, बजार र व्यवस्थापनलाई प्रमुख प्राथमिक्तामा राखेर काम गर्छु ।

कर्णालीको विकास नहुनुको कारण स्रोतको अभावले नभई मुलुकका विज्ञहरूको परिकल्पना र दुरदृष्टिको अभावका कारणले हो । यो क्षेत्रसँगको भिन्न व्यवहारका कारण अहिले कर्णाली विकट र दुर्गम भएको छ । निरीह र विचरा भएको छ । अब कर्णालीले केन्द्रलाई धारेहात लगाएर बस्ने परिस्थिति छैन किनभने कर्णालीको आफ्नै सरकार छ, जसले आˆनो भूगोलको पहिचान राम्रोसँग गरेको छ । अब पनि योजना आवश्यकता र प्राथमिकता बमोजिम बन्न सकेन भने हाम्रो प्रगति कहिल्यै हुन सक्तैन । त्यसकारण हाम्रो विकास गर्ने मोडालिटी फेर्नु अत्यन्त जरुरी छ । अब कर्णालीलाई विकसित र समृद्ध बनाउन ६ वटा ‘ब’को अवधारणामा जानु जरुरी छ भन्ने मलाई लाग्दछ ।

६ वटा ‘ब’को अवधारणाले कर्णालीलाई कसरी समृद्ध बनाउँछ ?

बाटो : बाटो विकास हो । विकासलाई चलायमान बनाउन युग सुहाँउदो बाटो चाहिन्छ । बाटो विना कर्णालीको विकास परिकल्पनासमेत गर्न सकिन्न । युग सुहाउँदो सडक सञ्जालको निर्माण मेरो प्राथमिकता हो । यहाँको अर्गानिक उत्पादनले महँगो भाडादरकै कारण बजारसँग प्रतिस्पर्धा गर्न सकेन जसले गर्दा कर्णाली परर्निभर हुन पुग्यो । सहज किसिमको सडक मार्ग, हवाई मार्ग, रज्जु मार्ग नहुँदा हाम्रो अथाह प्राकृतिक स्रोतसाधनको उपयोग गर्न सकेनौं । त्यसरी नै हामीले गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन गर्न सकेनौं । यी यावत कुराले के देखाउँछ भने सडक सञ्जालको अभावले नै कर्णालीवासीलाई सुनको थालीमा भिख माग्नु पर्ने अवस्थाको सिर्जना भयो ।

विद्युत : करिब २१ हजार मेघावाट जलविद्युत उत्पादन हुन सक्ने कर्णालीमा आज ८ मेगावाट पनि उत्पादन छैन । विदेशी लगानीकर्ता खोजेर संघीय सरकारसँग समन्वय गर्दै दुई/तीनवटा मेगा प्रोजेक्ट बनाउनेवित्तिकै यहाँ आर्थिक उन्नतिको ढोका खुल्छ । हामी माइक्रो हाइड्रो निर्माणमा ध्यान दिन्छौं । विद्युतीकरण हुनेवित्तिकै स्वास्थ्य, शिक्षाको स्तर उन्नति हुन्छ । उद्योग धन्दा खोल्न सुरू हुन्छ । पर्यटकहरूका लागि पूर्वाधार तयार हुन्छ, अनि लाखौँ पर्यटक भित्राउँदै विदेशी मुद्रा आर्जन गरेर प्रदेशलाई उन्नत बनाउन सक्छौँ । त्यसैले यस प्रदेशले विद्युत विकासमा कदम चाल्नै पर्छ । यो सरकारले चाल्छ ।

विचार : यो सञ्चारको युग हो । स्मार्ट सिटीको अवधारणा र प्रयोगमा विश्व अगाडि लम्किसकेको छ । इन्टरनेटले गर्दा संसारलाई औंलाको टुप्पामाथि केन्दि्रत बनाएको छ । कर्णालीको द्रुत विकासका लागि गाउँका प्रत्येक कुना कुनामा सूचना, सञ्चार र प्रविधि पुर्याउनु अपरिहार्य भइसकेको छ । त्यसकारण डिजिटल युगमा टावर निर्माण, नेट जोड्ने कुरामा त सेकेण्डभर पनि ढिलो गर्नु हुन्न । यसले कर्णाली विकासको ढोका खोल्छ । डिजिटल कर्णालीको काम कडाइका साथ हुन्छ ।

वन : हामी जंगल, जडिबुटी, जल, जमिन, जनावरमा धनी छौँ । तर यिनीहरूको सही सदुपयोग गर्न सकिएको छैन । यहाँको मूल्यवान जडिबुटीको संरक्षण, संवर्द्धन र सही सदुपयोग गर्ने नीति अवलम्बन गर्छौं । यसले हाम्रो आर्थिक उन्नतिको मेरुदण्ड नै सावित भएर काम गर्नेछ । हामी एग्रो फरेस्ट्रीमा जोड दिन्छौं । कर्णालीको आधाभन्दा बढी आयआर्जन वन क्षेत्र र बन पैदावारबाट गर्न सकिन्छ । त्यसैले वनलाई नै कर्णालीको धन बनाउने नीति हामी अवलम्वन गर्छौं ।

बजार : बजारको असहजताले हाम्रा बहुमूल्य स्थानिय उत्पादनहरू खेर गइरहेका छन् । त्यो उत्पादन आन्तरिक बजारले मात्र खपत गर्न सक्दैन । त्यसका लागि उत्तरको चीन र दक्षिणको भारतमा पनि बजारीकरण गर्नु अत्यन्त जरुरी छ । भ्यालु चेनको अवधारणालाई अपनाउँदै बजार विस्तारमा यो सरकार लाग्छ ।

व्यवस्थापन : हाम्रो प्रमुख कमजोरी व्यवस्थापन पनि हो । सबै काम समयभित्र गर्ने कुरामा हामी दृढ छैनौँ । समयलाई जीवन र पैसा नसम्झँदासम्म हामीले विकासको गति अगाडि बढाउन सक्दैनौँ । हामी २ वर्षे योजना बनाउँछाँै तर त्यो काम २० वर्षसम्ममा पनि पूरा गर्दैनौँ । त्यसलाई चिर्न हामी ‘टाइम इज मनी एण्ड टाइम इज लाइफ’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्छौं । समयसापेक्ष र इमान्दार भई दत्तचित्त किसिमले काम गर्छौं । आजको हेपिएको कर्णाली हैन समृद्ध कर्णालीको सपना एक दशक भित्रै वास्तविकतामा परिणत गर्न सक्ने जग बसाल्छौं ।

तपाईंका यी योजनालाई व्यवहारत कार्यान्वयन गर्ने आधारहरु के छन् ? कि यो झुठो आश्वासन र सस्तो लोकपि्रयता मात्रै हो ?

यी सबै कुराहरु म अहिले नै बनाउँछु भन्दिन । जनतालाई झुठा आश्वासन बाँडेर मलाई भोट कमाउनु छैन । म हार्न तयार छु तर जनतालाई झुक्याउने छैन । मैले पूरा अवधि काम गर्न पाएँ भने मसँग १६ महिना बाँकी छ । यो अवधिमा निर्माणाधिन सम्पूर्ण आयोजनालाई समयावधिमै सक्ने गरी सम्पूर्ण निकायलाई क्रियाशिल बनाउँछु । केही नीतिगत सुधार गर्छु । हामी सबैलाई थाहा छ, चारैतिर भद्रगोल छ । त्यही भद्रगोललाई सुधार्छु । सुर्खेतलाई सिंगापुर बनाउँछु भन्दिनँ तर पोखरा लेवलको बनाउने अवधारणा अघि सार्छु । स-साना कुराहरुबाट नै सुधारको अभियान थाल्छु ।

हुम्लामा जन्मिनु भयो । बुढानीलकण्ठमा पढ्नु भयो । अमेरिकाबाट उच्च शिक्षा हाँसिल गर्नुभयो । आज छोरालाई पनि विदेशी विश्वविद्यालयमा पढाउनु भएको छ । बुढानीलकण्ठ लेवलकै विद्यालय कर्णालीमा खोल्ने हिम्मत तपाईंसँग छ ?

हो । कर्णाली पछाडि पर्नुको प्रमुख कारण हामीले अशिक्षा भनेका छौं । सार्वजनिक शिक्षा सुधार मेरो प्राथमिकताको विषय हो । कर्णालीका १० ओटै जिल्लामा बुढानीलकण्ठ लेभलका विद्यालयका खोल्न सक्छु भन्ने हिम्मत म गर्दिनँ । तर प्रदेश राजधानी सुर्खेतमा त्यो लेभलको एउटा विद्यालय अवश्य सञ्चालनमा ल्याउँछु । यो मेरो प्रतिवद्धता हो । हामीले नमूना स्कुल भनेका छौं तर त्यो भवन मात्रै नमूना छ । अब हामी त्यसलाई पढाइ र संस्कारमा पनि नमूना बनाउने अभियान थाल्छौं । आधुनिक शिक्षालाई प्रवर्द्धन गर्छौं । अहिले जे छ त्यसलाई सुधार गरेर जान्छौं ।

कर्णालीको सबैभन्दा ठूलो समस्या यहाँको बहुआयामिक गरिवी र बेरोजगारी हो । यसलाई कसरी हटाउनु हुन्छ ?

६ ‘ब’को कडा कार्यान्वयनले नै यहाँको बहुआयामिक गरिबी र बेरोजगारी हटाउँछ । आज यहाँको उत्कृष्ट ब्रेनहरु विदेशिएका छन् । किन विदेशिए त ? किनभने हामीले सामान्य भन्दा सामान्य सुविधा दिन सकिरहेका छैनौं । सिंजा भ्यालीका मान्छेहरु आज बर्दिया पुगेका छन् । किन पुगे ? आजको युग सुहाउँदो विकास छैन । बाटो, बिजुली, अस्पताल केही पनि छैन गाउँमा । अब हामी गाउँमा मोर्डन फ्यासलिटी कसरी दिन सकिन्छ भन्नेतिर केन्द्रित रहेर काम गर्छौं । कर्णालीको औषधीजन्य स्थानीय उत्पादनलाई वृद्धि गर्दै उचित बजारीकरणको व्यवस्था सरकारले गर्छ । विकास भनेकै विग्रेको कामलाई सपार्नु हो । तर हामीले सपि्रयको कामलाई पनि बिगारिरहेका छौं । यसैलाई सुधाछौं ।

हिजो प्रतिपक्षीको कुर्सीमा हुँदा तपाईंले नै सरकारलाई प्रश्न गर्नुहुन्थ्यो ‘प्रदेशमा भ्रष्टाचार बढ्यो, प्रदेश सरकारप्रति जनविश्वास घट्यो, बजेटमा बेथिति छ । आज उत्तर दिने ठाउँमा हुनुहुन्छ । ती विषयलाई कसरी सम्बोधन गर्नु हुन्छ ?

प्रदेशमा भएको बेथिती र अनियमितता न्यूनीकरण नै मेरो पहिलो प्राथमिकता हुनेछ । हामीले कुनै लाज मान्नुपर्ने कुरा छैन । हिजो मन्त्रालयहरुमा लाइन लागेर योजना लिने, अनि गाउँमा गएर २० प्रतिशत तिरेर ल्याएको भन्दै राम्रोसँग काम नगर्ने प्रवृत्ति प्रष्टै देखिन्थ्यो । अब त्यो स्थिति आउने छैन । जनताले पनि भ्रष्टाचार न्यूनीकरण नै चाहन्छन् । धेरै ठूलो काम गर्न नसकुला तर योजना छनोटमा पारदर्शिता, मोनिटरिङ र कार्यान्वयनमा कडाइ अवश्य गर्ने छु । एउटा सामान्य सरकारी काम गर्न नागरिकले ५/७ दिन धाउनु पर्ने स्थितिको अनत्य गर्छु यो मेरो प्रतिवद्धता हो ।

कर्मचारीले राजनीतिक नेतृत्वलाई टेरेनन्, अधिकार र स्रोतसाधन संघमै थुपि्रयो जसले गर्दा प्रदेश सरकारहरूलाई कमजोर बन्यो भन्ने गुनासो पहिलेदेखि नै थियो । यसलाई कसरी सुधार्नु हुन्छ ?

यो प्रदेशमा कर्मचारीले राजनीतिक नेतृत्वलाई नटेर्ने, नेतृत्वले पनि नियम कानुन मिचेर जेगरे पनि हुन्छ भन्ने मान्यता राख्ने गरेको देखिन्छ । मुख्य कुरा के भने म मुहान हुँ, मुहान नै क्लिन हुन आवश्यक छ । नीति अनुसार, शासन पद्दति अनुसार गए भने कर्मचारीहरु पनि डराउँछन् । संघले बाटो खोलिदिएन भने प्रदेशलाई चुनौती नै चुनौती छ । जे आउँछ, फेस गरेर अगाडि बढ्नुको विकल्प छैन ।

कर्णाली विकासको बाधक के देख्नु हुन्छ ?

कर्णाली विकासको पहिलो बाधक म आफैं पनि हुन सक्छु । किनकी मैले सही निर्देशन दिन सकिनँ, सही बाटोमा हिँड्न सकिनँ र मनपरी गर्दै हिँडे भने म नै विकासको बाधक बन्ने छु । मलाई विश्वास छ, प्रतिपक्षीले पनि साथ दिनेछ, कर्मचारीले मन लगाएर काम गर्नेछन्, कार्यकर्ता र जनताले पनि साथ दिनेछन् । अझ एक महिना पुगेपछि थाहा हुनेछ यहाँका बाधक केके हुन् भनेर ।

मुख्यमन्त्री भएको दुई साता पुग्यो । मन्त्रिपरिषद कहिले बिस्तार हुन्छ ?

मैले मुख्यमन्त्री सम्हालेकै दिन सानो भएपनि क्याबिनेट बनाउने भन्ने योजना थियो । समस्या के आइदियो भने त्यसलगत्तै बिदा पर्यो । निवर्तमान मुख्यमन्त्रीज्यू पनि बिरामी भएर काठमाडौं जानुभयो । सामाजवादीका उप-महासचिव प्रकाश ज्वाला पनि काठमाडौं नै हुनुुहुन्थ्यो । गठबन्धनको सरकार भएकाले मैले चाहेर मात्रै हुँदैन । उहाँहरू आइसक्नु भएको छ । अबको एक हप्ता/दश दिन भित्र मन्त्रिपरिषदले पूर्णता पाउँछ ।

गठबन्धन भित्रै मन्त्रालयमा हानथाप भएको देखिन्छ । भागबन्डाको टुंगो कहिले लाग्छ ?

गठबन्धनको शुरुआतमै मन्त्रालयको बाँडफाँट टुंगिएको हो । मुख्यमन्त्री सबैको साझा हो । त्यसको काउन्टिङ हुँदैन । त्यो बेला ‘फ्लोर क्रस’ गर्ने साथीहरुलाई तीनवटा मन्त्रालय दिने, दुई माओवादी केन्द्र र एक कांग्रेसलाई दिने सहमति भएको थियो । पछि एउटा मन्त्रालय फुटालेपछि कांग्रेसको भागमा दुईवटा मन्त्रालय पर्‍यो । अहिलेसम्म त्यही नै छ ।

अझ मन्त्रालयलाई मर्ज गर्नुपर्छ कि भन्ने पनि सोचिरहेका छौं । मर्ज भए पुरानै सहमति अनुसार जान्छ । मर्ज नभए पनि यो भन्दा अगाडिको भागबण्डा अनुसार जानुपर्छ भन्ने नै हो । मन्त्रालय भाडबण्डामा समस्या छैन । यसमा हामीले आन्तरिक सहमती गरिसकेका छौं ।

आउँदो वैशाखपछि एकीकृत समाजवादीलाई सत्ता हस्तान्तरण गर्ने गोप्य सहमति भएको चर्चा छ । यसमा कति सत्यता छ ?

यो सरासर झुठो कुरा हो । यसमा सत्यता छैन । अब सत्ता हस्तान्तरण गर्ने कुनै सहमति पनि भएको छैन । हामीले गत वैशाखमा ११ बुँदे सहमति गर्दा त्यो बेला समाजवादी पार्टी नै बनेको थिएन । कल्पना गर्न पाइन्छ । कल्पना गरेर आत्मसन्तुष्टि मिल्छ भने ठीक छ । तर सत्यता छैन । विगतमा जीवन शाही र यामलाल कँडेलबीच पनि सम्झौता भएको भन्दै हल्ला फिंजाए । यो पनि हल्ला नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment