+
+
कैलालीमा एमाले विवाद : :

रावल पक्षले समानान्तर रुपमा छान्यो महाधिवेशन प्रतिनिधि

जनक विष्ट जनक विष्ट
२०७८ मंसिर १ गते २०:५७
नेकपा एमालेका उपाध्यक्ष भीम रावल (बाँया) र सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा ।

१ मंसिर, धनगढी । कैलालीमा नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ । संस्थापन पक्ष र १० बुँदे सहमतिसँगै एमालेमा बसेको भीम रावल पक्षबीच चर्किएको विवादकै कारण समानान्तर रुपमा महाधिवेशन प्रतिनिधि छनोट भएको छ ।

सुदूरपश्चिममा १० बुँदे सहमतिअनुसार २ जेठ २०७५ को कमिटीहरु कायम नगरिएको भन्दै रावल पक्ष असन्तुष्ट छ । तर संस्थापन पक्ष त्यसलाई सुन्न तयार छैन । त्यही विवादको निरन्तरतामा कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा दुबै पक्षले आआफ्नो अनुकुल महाधिवेशन प्रतिनिधि छनोट गरेका हुन् । यो उपाध्यक्ष भीम रावल निकट सांसद झपटबहादुर रावलको निर्वाचन क्षेत्र हो भने एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापाको गृहक्षेत्र ।

संस्थापन पक्षले त्यहाँ सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनोट भएको घोषणा गरेको छ, जसमा प्रदेशसभा सदस्य समेत रहेका रत्नबहादुर थापासँगै डेजी पाण्डे, दलबहादुर बिष्ट, नरबहादुर खड्का, कमला ओली, टीका थापा, पदमपूरा साउँद, गजेन्द्र स्वाँर र धर्मबहादुर थापामगर छन् ।

संस्थापन पक्षले पार्टी सत्ताको दुरुपयोग गरेर प्रतिनिधि चयन गरेको आारोप लगाउँदै रावल पक्षले बुधबार छुट्टै भेला गरेको छ । नेता झपट रावलले निर्वाचनमा पराजित हुने डरले कोठामा बसेर सर्वसम्मतका नाममा एकलौटी प्रतिनिधिको नाम सार्वजनिक गरिएको रावलले बताए ।

‘कार्यकर्ताहरुबाट परास्त हुने डरले पार्टीको लेटर प्याडको पनि दुरुपयोग गरेर घोर अलोकतान्त्रिक शैलीमा कोठे बैठकबाट छनोट गरिएका प्रतिनिधि स्वीकार्य छैनन्,’ रावलले भने ।

रावल पक्षको यो भेलाले पनि सर्वसम्मत रुपमा अधिवेशन प्रतिनिधि चयन गरेको छ, जसमा यज्ञराज ढुंगाना, मनोज खड्का सूर्यबहादुर थापा, वीरेन्द्र रावल, भीम कुँवर, रूप रावल, गंगा थापा, बसुन्धरा भण्डारी र ममता रावल छन् ।

संस्थापन पक्षका नेता एवं सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले भने रावल पक्षले पठाउने महाधिवेशन प्रतिनिधिले वैधता नपाउने बताएका छन् ।

भीम रावलको चेतावनी : पार्टीलाई गम्भीर क्षति हुनसक्छ

एमाले उपाध्यक्ष भीम रावलले संस्थापन पक्षले छनोट गरेको महाधिवेशन प्रतिनिधि अवैध भएको बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष रावलले पार्टी निर्देशन विपरीत निर्वाचन नै नगरी प्रतिनिधि छानेको बताएका हुन् ।

‘…कुनै विधिवत् प्रक्रिया बिना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ । यसका विरुद्ध उक्त क्षेत्रका १२०० बढी पार्टी सदस्यहरुले हस्ताक्षर गरी पार्टीमा उजुरी गरेका छन्’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यसको पार्टी अध्यक्ष र संगठन विभागबाट सुनुवाई होस् र पार्टीको निर्णय–निर्देशन विपरीत कथित प्रतिनिधि चयन रद्द गरी विधिसम्मत किसिमले प्रतिनिधिको चयन गरियोस् ।’

उनले लम्कीचुहामा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनोट नभए जिल्लाका कमिटीका सदस्यले पदबाट राजीनामा दिने भन्दै यसले पार्टीलाई गम्भीर असर पुग्ने दाबी बताएका छन् ।

पार्टी निर्णय र विधि–पद्धति विपरीतका कार्य बदर गर्न र महाधिवेशनको स्वच्छता, निष्पक्षता, गरिमा र विश्वसनीयताको रक्षा गर्न आग्रह गर्दै उनले भनेका छन्, ‘पार्टीले फुटको सामना गरिरहेको बेला उक्त प्रकारका क्रियाकलाप हुनु अत्यन्त दुःखको कुरा हो र यसले पार्टीलाई गम्भीर क्षति पुर्‍याउँछ ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?