+
+

एमाले महाधिवेशन : आकांक्षीमा छटपटी, मौन ओली

बिनु सुवेदी बिनु सुवेदी
२०७८ मंसिर ३ गते २१:०८

३ मंसिर, काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेलले उम्मेदवारी दिने उनी निकटस्थहरूले प्रचार थालेका छन् । बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तर भेटिरहेका स्थायी कमिटी सदस्य पोखरेल स्वयमले भने यसबारे मुख खोलेका छैनन् ।

सामाजिक सञ्जालमा पोखरेलको प्रचार देखेपछि उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे निकट नेताहरूले पनि प्रचार थालेका छन् । चितवनमा हुने १०औं महाधिवेशनमा यी तीनै नेताले महासचिव पदको आकांक्षा राखेका छन् ।

तर पौडेल, पाण्डे र पोखरेलको कुन पदमा उम्मेदवारी रहन्छ भन्ने औपचारिक घोषणा हुन सकेको छैन । महाधिवेशन केही दिन मात्रै बाँकी रहेपनि महासचिव पदमा मात्रै नभएर अन्य पदका आकांक्षीहरू पनि अलमलमा देखिन्छन् ।

एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार, आकांक्षी नेताहरुले अहिलेसम्म आफ्नो उम्मेदवारी घोषण नगर्नुको प्रमुख कारण अध्यक्ष ओलीको संकेतको पर्खाइ हो । ‘केपी ओलीले संकेत दिएपछि मात्रै उम्मेदवारी सार्वजनिक गर्ने भन्नेमा नेताहरु देखिन्छन्’, ती नेता भन्छन् ।

कतिसम्म भने एमाले नेताहरू अध्यक्ष ओलीको निर्णय बिनाको उम्मेदवारीले अर्थ नलग्ने बुझेकाले पनि मौन देखिन्छन् । ‘अध्यक्षज्यूले अहिले सबैको नाडी छामिरहनुभएको छ । कसको खुबी कति रैछ त भनेर हेरिरहनुभएको छ,’ ओली सचिवालयका एक सदस्यले भने, ‘पदाधिकारीका लागि तयारी गरिरहनु भएका नेताहरु पनि दिनदिनै भेट्न त आउनुहुन्छ, तर आफू कुन पदको आकांक्षी हो भनेर भन्न सकिरहनुभएको छैन ।’

तर १० बुँदे सहमति गरी एमालेमै रहेका र माओवादी पृष्ठभूमिका नेताहरुले भने फाट्टफुट्ट चाहना सार्वजनिक गर्न थालेका छन् । यद्यपि ओलीले ती नेताहरुलाई पनि ठोस् जवाफ दिन सकेका छैनन् ।

भावी नेतृत्वबारे नेताहरूको मौनताले पार्टीभित्र आँँधी अघिको सन्नाटा देखिएको सचिव पृथ्वीसुब्बा गुरुङ बताउँछन् । ‘अरु विषयमा महाधिवेशन लागेको छ, तर उमेदवारीको कुरामा महाधिवेशन लागेको छैन,’ गुरुङ भन्छन्, ‘पार्टीलाई एकजुट बनाएर बढ्न धेरैतिरबाट समेट्नुपर्ने हुन्छ । सकेसम्म सर्वसम्मतिमा नेतृत्व छानौँ भन्ने सोच छ ।’ अध्यक्ष ओलीले सर्वसहमतिबाट नेतृत्व चयन गर्नकै लागि सोचिरहेको हुनसक्ने उनी बताउँछन् । स्रोतका अनुसार, स्वयम् गुरुङ पनि आफ्नो उम्मेदवारीबारे कुरा राख्न बालकोट पुगेका थिए । तर अध्यक्ष ओलीले ठोस् जवफ दिएनन् ।

आफूलाई भेट्न आउने नेताहरुलाई प्रष्ट जवाफ नदिने गरेपछि अलमलको अवस्था देखिएको पदाधिकारीका आकांक्षी नेताहरू बताउँछन् । गुरुङलाई जस्तै स्थायी कमिटी सदस्य रघुजी पन्तलाई पनि ओलीले कुनै ठोस् दिएनन् । पन्तले भने ओलीलाई भेटेर उपाध्यक्ष पदमा उम्मेदवारी दिने चाहना राखेका थिए ।

‘अध्यक्षको मुख ताकेकोजस्तो भएको छ । परिस्थिति पनि त्यस्तै छ,’ पन्त भन्छन्, ‘तपार्इंले कति समेट्नुहुन्छ र कसरी पार्टीलाई अघि लैजानुहुन्छ, हेर्छाैं भनेका छौं । उहाँले सुन्नुभएको छ, त्यस्तो केही भन्नुभएको छैन ।’ सबैलाई समेटेर पार्टी एकढिक्का बनाउन ओली ‘पर्ख र हेर’को मनस्थितिमा रहेको हुनसक्ने पन्त बताउँछन् ।

आफ्नै उम्मेदवारीबारे प्रष्ट नभए पनि एमाले नेताहरुले यसपटक प्यानल नबन्ने दावी गरिरहेका छन् । नवौं महाधिवेशनमा प्रष्ट दुई प्यानलमार्फत् नेतृत्व चयन भएको थियो । यसपटक सहमतिमा पदाधिकारीको चयन गर्ने, नभए पनि एक्लाएक्लै प्रतिष्पर्धा नेताहरुको भनाइ छ । अधिकाशं प्रतिनिधि निर्विरोध चयन हुनुलाई १०औं महाधिवेशनमा प्यानल नबन्ने संकेतका रुपमा बुझ्नुपर्ने उनीहरुको तर्क छ ।

यद्यपि प्रतिनिधि छनोट एक्लौटी भएको असन्तुष्टि भने नेताहरुमा देखिएको छ । ‘प्रतिनिधि छनोट एकलौटी देखिएको छ । त्यसको प्रभाव माथि पनि प¥यो भने एमाले मिलाउने कुरामा सम्भव देखिन्न,’ स्थायी कमिटी सदस्य पन्त भन्छन्, ‘धेरै कुरा अध्यक्षको भूमिकामा भर पर्छ । उहाँले राम्ररी समेट्नुभयो भने राम्रै हुन्छ ।’

यसअघि एमालेमा उम्मेदवारीबारे सघन छलफल र तयारी हुने गरेको थियो । तर पार्टी विभाजनसँगै एउटा समूह एमालेबाट अलग भएकाले ओलीको तजबीजमा चल्ने परिस्थिति निर्माण भएको छ । बालकोट पुग्ने नेताहरू ओलीलाई बिच्काउने गरी कुरा राख्न नसक्नुको कारण प्रतिश्पर्धाको अवस्था नरहनु नै हो ।

‘अध्यक्षको आर्शिवाद पाइएन भने जितिन्न भन्ने मानसिकता छ । त्यसैले उहाँले के भन्नुहुन्छ भनेर साथीहरु बालकोट धाएको धायै छन्’ ओली निकट एक पदाधिकारी भन्छन्, ‘मैले पनि उहाँलाई धेरैपटक भेटिसकेँ । तिमी यही पोष्टमा उठ भन्नुभएको छैन ।’

अध्यक्ष ओलीले भने पार्टी बैठकहरू र असोज दोस्रो साता सम्पन्न विधान महाधिवेशनमा नेतृत्व सर्वसम्मत र सहमतिका आधारमा चयन हुने बताउँदै आएका छन् । ओलीले माओवादी केन्द्रबाट आएका र १० बुँदे समझारी गरी एमालेमै बसेका नेताहरुलाई समेट्न पनि सर्वसम्मतिको कार्ड फाल्ने गरेका छन् ।

तर विधान महाधिवेशन यता आन्तरिक शक्ति समीकरण कसरी मिलाउने भन्ने ठोस् प्रस्ताव अगाडि सारेका छैनन् । बरु आफ्नै समूहका नेताहरुको व्यवस्थापन ओलीका निम्ति चुनौती देखिएको छ । सीमित पदमा सवै आकांक्षी समेट्न सजिलो समेत छैन । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अहिले विशेष परिस्थिति भएकाले सबैको मन राख्ने गरी निर्णय लिनुपर्ने जिम्मेवारी अध्यक्ष ओलीसँग रहेको बताउँछिन् ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?