+
+

महामारी शुरु भएपछि घरजग्गा कारोबारमा मन्दी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १९:५८

३ मंसिर, काठमाडौं । कोरोना महामारी शुरु भएपछि घरजग्गाको कारोबार सुस्ताएको सरकारी सर्वेक्षणले देखाएको छ । कोरोना महामारी शुरु भएको आर्थिक वर्ष २०७६/७७मा भन्दा आर्थिक वर्ष २०७७/७८को ९ महिनासम्म तुलनात्मक रुपमा घर जग्गाको कारोबार सुस्ताएको राष्ट्र बैंकको ‘घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन–२०७८’मा देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रदान गर्दा गरिएको घरजग्गाको धितोको बजार मूल्यांकनका आधारमा वार्षिक औसत आर्थिक वर्ष २०७६/७७ घरजग्गाको मूल्य वृद्धि २६.४५ प्रतिशत थियो । तर, गत आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा भने यस्तो मूल्य वृद्धि क्रमशः १६.३१ प्रतिशत पुगेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा चैतपछि असारसम्म लकडाउन भएको थियो । सो अवधिमा घर जग्गा कारोबार लगभग ठप्प थियो । यसअनुसार महामारीअघिको कारोबारकै आधारमा पनि घर जग्गाको मूल्य वृद्धि महामारीपछि कमजोर बन्दै गएको देखिन्छ ।

राष्ट्र बैंकको प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मूल्यवृद्धि केही कम भएको उल्लेख छ ।

घरजग्गाको कारोबार हुँदा थैली रकम र घरजग्गा पास गर्दा मालपोत कार्यालयलाई तिरिने राजस्व दुवैलाई आधार मानेर राष्ट्र बैंकले अध्ययन गरेको छ । मालपोत कार्यलयबाट प्राप्त तथ्यांक अनुुुसार आर्थिक वर्ष २०७६/७७मा घरजग्गाको मूल्यवृद्धि १९.७३ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा मालपोतमा भएको कारोबारका आधारमा १२.५७ प्रतिशत मूल्य बढेको देखिएको छ ।

कुन प्रदेशमा कति बढ्यो ?

बैंक मूल्यांकनका आधारमा आर्थिक वर्ष २०७६/७७ मा प्रदेश नं. २ मा सबैभन्दा धेरै ४३.११ प्रतिशतले मूल्य बढेको थियो भने आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा भने प्रदेश २ मा १६.०२ प्रतिशत मात्रै मूल्य बढ्यो ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै १९.१९ प्रतिशत मूल्य बढेको देखिएको छ । आर्थिक वर्ष २०७६/७६मा गण्डकीमा १९.४७ प्रशिततले जग्गा महँगिएको थियो ।

बागमती प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा १६.३३ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा १८.२६ प्रतिशतले मूल्य बढेको थियो ।

प्रदेश १ मा आर्थिक वर्ष २०७६/७७ मा २१.९४ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा १५.१४ प्रतिशतले घर जग्गाको मूल्य बढेको थियो ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा ३१.१७ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा १२.३५ प्रतिशतले घरजग्गाको मूल्य बढेको अध्ययनले देखाएको छ ।

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा २१.७५ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा १९.०३ प्रतिशतले मूल्य बढेको निष्कर्ष प्रतिवेदनमा छ ।

सुदरुपश्चिम प्रदेशमा घरजग्गाको मूल्य आर्थिक वर्ष २०७६/७७ मा ३८.०७ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा १६.३२ प्रतिशतले मह“गिएको पाइएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनाको मालपोत कार्यालयबाट प्राप्त घरजग्गा कारोबारको मूल्य तथ्याङ्कमा आधारित भएर अध्ययन गर्दा आव २०७७/७८ को पहिलो नौ महिनामा समग्रमा औसत मूल्यवृद्धि कर्णाली प्रदेशमा २३.८८ प्रतिशत मूल्य बढेको छ ।

प्रदेश नं. २ मा १७.४२ प्रतिशत, लुम्बिनी प्रदेशमा १४.४५ प्रतिशत, प्रदेश नं. १ मा १४.२० प्रतिशत, गण्डकी प्रदेशमा ११.८३ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ६.३५ प्रतिशत र बागमती प्रदेशमा ५.९५ प्रतिशत मूल्य बढेको छ ।

कसरी भयो सर्वेक्षण ?

वित्तीय क्षेत्र विकास रणनीति (२०७४–२०७७/७८) मा घरजग्गा मूल्य सूचकांक तयार गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएकोमा आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरिएको हो । घरजग्गा मूल्य सूचकांक तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्यांक उपलब्धता समेतलाई दृष्टिगत गरी नमुनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्यांक स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्यांक स्रोत केन्द्रबाट तथ्यांक संकलन गरेर अध्ययन गरिएको राष्ट्र बैंकले बताएको छ ।

छनोट भएका जिल्लाभित्र घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका छनोट गरी त्यसभित्रका सबैभन्दा धेरै कारोबार हुने दुई वटा वडाको सर्वेक्षण सञ्चालन भएकोमा तत्काल कायम छ वटा महानगर क्षेत्रलाई तथ्यांक स्रोत केन्द्रमा पर्नेगरी छनोट गरिएको थियो ।

सो स्थानका सम्बन्धित मालपोत कार्यालयबाट जग्गा र घरजग्गाको रजिष्ट्रेसन कारोबारको आधारमा घरजग्गा मूल्य तथ्यांक संकलन गरिएको हो । नेपालको सन्दर्भमा तथ्यांक उपलब्ध हुनसक्ने आधारमा दुई वटा स्रोतबाट तथ्यांक संकलन गरेर घरजग्गा मूल्य सूचकांक तयार गरिएको छ । एउटा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र दोस्रो बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्यांकनसम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको छ ।

घरजग्गा मूल्य सूचकांक निर्माणको लागि भाराङ्क निर्धारण गर्ने सम्बन्धमा २०७५/७६ को घरजग्गा रजिष्ट्रेसनको कुल कारोबार संख्यालाई आधार मानी भार निर्धारण गरिएको छ । उक्त भाराङ्कलाई जिल्लागत, प्रदेशगत एवं राष्ट्रियस्तरमा समेत निर्धारण गरिएको छ । राष्ट्रियस्तरमा जग्गा मात्रको भाराङ्क ७६.६७ प्रतिशत र घरजग्गाको भाराङ्क २३.३३ प्रतिशत रहेको पाइएको छ ।

मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८,९२० सर्वेक्षण संख्यामध्ये २,०९६ र जग्गातर्फ ८१,९५६ मध्ये ८,२४० वटा गरी कुल १०,३३६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो । यसै गरी, वाणिज्य बैंकबाट प्राप्त तथ्यांकमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १,३३२ र १,१४४ गरी कुल २,४७६ वटा कारोबारलाई नमुनाका रुपमा लिइएको थियो ।

घरजग्गाको मूल्यमा आउने उतार चढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मूल्यवद्धि मापन गर्न सूचकांक निर्माण गरिएको छ । यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकांक त्रैमासिक रूपमा नियमित प्रकाशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

घरजग्गाको मूल्य सूचकांकले सहरी क्षेत्रलाई मात्र समेटेको छ । ‘यसले समग्र घर जग्गाको कारोबारको मूल्यलाई प्रतिनिधित्व नगर्न सक्छ,’ प्रतिवेदनमा भिएको छ,‘आउने दिनमा अनुभवका आधारमा घरजग्गा मूल्य सूचकांकको दायरा फराकिलो पार्दै र विधिहरू परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?