+
+
सम्झनामा विजय बजिमय :

…अनि उनले डाक्टरको अनुमतिमा भोड्का घुट्क्याए

एकप्रकारले विजय बजिमयको मोहरिया टोलको घर साहित्यिक तीर्थझैं भएको थियो । उनी काठमाडौं आउँदा पनि उनी बस्ने लजको कोठामा काठमाडौंका साहित्यकारहरूको मेला नै लाग्थ्यो । युवा साहित्यकारदेखि वरिष्ठ साहित्यकारहरू पनि उनलाई भेट्न आउँथे ।

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०७८ मंसिर ४ गते १५:००

नेपाली साहित्यमा तीसको दशकमा पोखराका पर्याय बनेका साहित्यकार विजय बजिमय २८ कार्तिकका दिन बितेको खबर मेरालागि निकै पीडादायी रह्यो । विजय कुशल कवि थिए, कथाकार थिए, सम्पादक थिए र त्योभन्दा बढी घनिष्ठ मित्र थिए ।

उनीसँग पहिलो परिचय २०३६ सालको सडक कविता क्रान्तिको बेला भएको थियो । उनी त्यतिबेला साहित्यमा अत्यन्त सक्रिय थिए- लेखन, सङ्गठन र सम्पादनका कारण ।

पोखरा पुग्ने कुनै पनि तहका साहित्यकार उनको निवासमा पुगेकै हुन्थे । उनको निवासमा हेम हमाल पुग्थे, जगदीश घिमिरे पुग्थे, जैनेन्द्र जीवन पुग्थे, भवानी घिमिरे पुग्थे । अर्थात् पोखरा पुग्ने प्रत्येकजसो साहित्यकार उनको निवास पुग्थे । एकप्रकारले उनको मोहरिया टोलको घर साहित्यिक तीर्थझैं भएको थियो ।

विजय बजिमय काठमाडौं आउँदा उनी बस्ने लजको कोठामा काठमाडौंका साहित्यकारहरूको गजबको मेला नै लाग्थ्यो । युवा साहित्यकारदेखि वरिष्ठ साहित्यकारहरू पनि उनलाई भेट्न आउँथे ।

विजय बजिमय पोखरामा चर्चित थिए । त्यतिबेला पत्रमित्रको जमाना थियो । उनको देशका विभिन्न स्थानका साहित्यकारहरुसँग पत्र मित्रता थियो । त्यस माध्यमले पनि उनको व्याप्ति थियो । तर सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय अपाङ्ग वर्ष मनाउने निर्णय गरे बमोजिम नेपालमा पनि विविध कार्यक्रम आयोजना गरियो ।

सो सिलसिलामा वासु रिमाल यात्रीले गोरखापत्रमा झण्डै सिङ्गो पेज नै ठूला तस्वीरसहित उनको बारे मूल आलेख प्रकाशित गरेपछि सारा नेपाली जगतले उनको प्रतिभाको परिचय पायो । उनको चर्चापरिचर्चा निकै भयो ।

त्यही बेला लेखक शरदराज गौतमले अपाङ्गहरुको बारेमा यौटा पुस्तक लेखे ‘बगर बगरमा शालिग्राम’ । यसमा उनले विजय बजिमयको बारेमा पनि एक अध्याय लेखेका थिए । यो पुस्तक २०३९ सालमा साझा प्रकाशनबाट प्रकाशित भएको थियो । यसले पनि उनको बारेमा जनमानसमा जानकारी फिँजिन पायो । यी सबले उनी पोखराका केन्द्रविन्दु भए ।

पञ्चायतको जगजगीका बेला शक्तिशाली अञ्चलका राजाझैं मानिने अञ्चलाधीशसँग उनी अँगालो हाल्ने हैसियतमा पुगे । उनको सामाजिक हैसियत ह्वात्तै चुलियो । उनको लेखनमा पनि निरन्तरता रह्यो । सामाजिक प्रतिष्ठा वृद्धि भयो । पोखराका साहित्यिक गतिविधिमा उनको सक्रियता र लेखनमा उर्वरता देखियो ।

उनी २०३६ सालको सडक कविता क्रान्तिमा पनि संलग्न रहे । उनले सडक कविता क्रान्तिमा भाग लिंदै बहुदलको पक्षमा यसरी कविता कुर्लिएः

यो शताब्दी-

अस्वीकृतिहरु बटुलेर

पर्खाल नाघेर सडकमा निस्कँदैन

यही समय म

उठाउँछु-यी हातहरुलाई विरोधमा !

(भानुः सडक कविता क्रान्ति विशेषाङ्क, पेज ६८)

उनी पोखरेली युवा सांस्कृतिक परिवारमा संलग्न भए । पोखरामा सक्रिय साहित्यकार तीर्थ श्रेष्ठसँग विवादको अलिकति अप्रिय स्थितिको पनि पोखरेली साहित्यिक गतिविधिमा चासो राख्नेहरुले अनुभूत गरेका थिए । तर कवि तीर्थ श्रेष्ठ र विजय बजिमयकी बहिनीको वैवाहिक सम्वन्ध बनेपछि त्यो विवादमा सदाको लागि पूर्णविराम लाग्यो ।

२०३६ सालपछि विजय बजिमय काठमाडौं आउँदा उनी बस्ने लजको कोठामा काठमाडौंका साहित्यकारहरुको गजबको मेला नै लाग्थ्यो । युवा साहित्यकारदेखि वरिष्ठ साहित्यकारहरु पनि उनलाई भेट्न आउँथे । चियाको दौर चल्थ्यो । कविताको दौर चल्थ्यो । आउनेहरुको लर्को हुन्थ्यो, फर्कनेहरुको लर्को हुन्थ्यो । तत्कालीन रञ्जना सिनेमा हलको अगाडिको लाइनमा रहेको आरसी मम रेष्टुराँको लाइनको लजमा उनी प्राय बस्ने गर्थे ।

एकपल्ट त्यसरी आउँदा कवि वासु शशीले उनलाई आफ्नो निवासमा साँझको खानाको लागि निमन्त्रणा गरेका थिए । म पनि सो साँझका लागि निम्त्याइएको थिएँ । त्यसरी वासु शशीको घरमा निम्त्याइएका कविहरु विनोद अश्रुमाली, कृष्णभूषण बल, विजयले पनि कविता पढेका थिए । शायद वासु शशीले पनि कविता पढेका थिए । यस्तो प्रेम र सद्भाव उनले समकालीन र अग्रजहरुबाट पाउँथे ।

अस्पतालको बेडमा पीडाले रन्थनिएका विजयले डाक्टरसँग ‘डाक्टर साप, साह्रै दुख्यो, अलिकति लिउँ है ?’ भन्दै खोकिलाबाट भोड्का निकाले । डाक्टरले हाँस्दै ‘हुन्छ’ भनेर अनुमति दिए

२०३६ सालपछिको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पुनर्गठनमा पोखराका होनहार कवि भूपि शेरचन प्राज्ञ परिषदमा राजाबाट मनोनित भए । उनीले कवितामा ‘सर्वहारा’ लाइन छाडिसकेका थिए र ‘सर्वहारा’ उपनाम पनि त्यागिसकेका थिए । उनी प्राज्ञ रहेकै बेला २०४० सालको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले गर्ने राजाले दिएको कविताको शीर्षकको प्रतियोगितामा उनले तेश्रो पुरस्कार पाए र राजा वीरेन्द्रको हातबाट उनले सो पुरस्कार ग्रहण गर्ने अवसर पाए । त्यो सालको कविता महोत्सवको लागि राजाले दिएको शीर्षक ‘शान्ति क्षेत्र नेपाल’ थियो ।

पोखरामा साहित्यिक प्रतिष्ठा चुल्याइरहेका र मोहरिया टोललाई साहित्यिक महक दिइरहेका विजयका पितामाता मोहरिया टोलकै घरमा कपडा व्यवसायमा थिए । तर विजयले महेन्द्र पुल नजिक फ्लोरिङ् एण्ड फर्निसिङ व्यवसायमा हात हाले । पछि उनले काठमाडौंलाई कर्मभूमि बनाउने निधो गरे ।

हेटौंडामा २०४५ सालमा राजा वीरन्द्रको क्षेत्रिय भ्रमणको सिलसिलामा हामी सवारी शिविरमा आयोजित कवि गोष्ठीका लागि पुगेका थियौं । हेटौंडा बजारको सीमा लजमा हामीले डेरा डण्डा जमाएका थियौं । कवि हेम हमाल पनि त्यहाँ पुगेका थिए । हामी साँझको रसरङ्गमा रमाइरहेका थियौं । विजय आफ्ना सहयोगीलाई लिएर शौचालय गएका थिए । उनी शौचालयमा चिप्लेर लडेछन् र उनको जन्मजात कलिलो हड्डी फ्याक्चर भएछ । हामीले उनलाई हेम हमालको सिआरएस कम्पनीको गाडीमा राखेर हेटौंडा अस्पताल लग्यौं । उनलाई आकस्मिक कक्षमा लगेपछि सवारी शिविरका लागि खटिई आएका काठमाडौंका डाक्टरले उपचार गरे ।

अस्पतालको बेडमा पीडाले रन्थनिएका विजयले डाक्टरसँग ‘डाक्टर साप, साह्रै दुख्यो, अलिकति लिउँ है ?’ भन्दै खोकिलाबाट भोड्काको क्वार्टर शिशी निकाले । डाक्टरले हाँस्दै ‘हुन्छ’ भनेर अनुमति दिएपछि उनले अस्पतालको वेडमै पीडा हरणका लागि घुट्क्याएका थिए ।

काठमाडौं आएपछि शुरुमा विजयले न्यूरोड पीपलबोट नजिक रेडियो दोकान शुरु गरे । तर उनको त्यो व्यवसाय काठमाडौंमा खासै जमेन । साथी सँगातीसँग साहित्यिक रसरङ्गमा भने उनलाई रमाउने मेलो भयो ।

यस बीच उनी अस्वस्थ भएर शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यही बेलामा कवि दुवसु क्षेत्री आफ्नो परराष्ट्र मन्त्रालयको तर्फबाट बेलायतमा छात्रवृत्तिमा पढ्न जाने भएका थिए । कवि वियोगी बुढाथोकी र मैले त्यतिबेला पुतलीसडकमा कवि टेक बहादुर कार्कीको सेकुवा रेष्टुराँमा विदाई कार्यक्रम आयोजना गरेका थियौं । दुवसुसँग घनिष्ठ विजय शिक्षण अस्पतालमा भएकाले दुवसु पनि खिन्न थिए ।

हामीले कार्यक्रम अर्थात् खानपान शुरु गर्यौं । लोकगायक प्रेमराजा महत, कवि तुलसी दिवस, लव गाउँले, लेखिका तथा पत्रकार बबिता बस्नेतलगायत दर्जन बढी थियौं । खानपान र गीतसंगीत चलिरहेको थियो । अचानक विजय बजिमय सहयोगीको बुइ चढेर रेष्टुँरामा झुल्किए । उनी त अस्पतालको बगैंचामा टहलिने अनुमति लिएर त्यहाँ आइपुगेका रहेछन् । उनको आगमनले त्यो जमघटको रौनक बढेको थियो ।

२०४६ को सफल जनआन्दोलनपछि काठमाडौंमा ‘नेपाल साहित्य गुठी’ नामक संस्था स्थापना गरेका थिए केही कवि साहित्यकारहरुले । साहित्य गुठीले ‘कविता सोच’ नामक यौटा कविता गोष्ठी आयोजना गरेको थियो गणबहालको गोयथे इन्स्टिच्युटमा । विजय पनि आमन्त्रित थिए । संस्थामा प्रगतिवादीहरु अलि बढी हावी भएजस्तो देखिए पनि मजस्तो राजनीतिबाट टाढा र विजय जस्तो काँग्रेस पक्षधर पनि निम्त्याइएका थियौं ।

तर कविता पढ्ने बेलामा उनले अलिक चर्कोसँग प्रजातन्त्रवादी साहित्यकार पाखा लगाइएको इत्यादि कुरा बोलिदिए । यसले आयोजक रुष्ट भएर उनको कविता बाहेक ‘कविता सोच’ को सङ्कलन निस्कियो । मलाई यो प्रकरणले कताकता खल्लो अनुभव भयो । तर यसमा मैले बोल्ने, भन्ने वा प्रतिकृया दिने कुनै कुरा थिएन ।

विजयको एकेडेमीबाटै कथासङ्ग्रह ‘अन्तत्वगत्वा’ प्रकाशित भयो । कविता सङ्ग्रह ‘समय भनेको समय हो’ पनि प्रकाशित भयो ।

उनले कविता महोत्सवमा पुरस्कृत हुनुको अतिरिक्त व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, गजलश्री सम्मान लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए । उनी प्रजातन्त्रवादी लेखकहरुको संगठन ‘नेपाल लेखक संघ’को केन्द्रीय नेतृत्वमा समेत आवध्द भएका थिए ।

उनी प्रज्ञा सभाको सदस्य भए । साँस्कृतिक संस्थानको अध्यक्ष भए । वास्तवमा उनले आफ्नो शारिरीक असमक्षताका बाबजुद जेजति भाषा साहित्यमा योगदान गरे, राष्ट्रबाट उनले प्राप्त गरेको मान सम्मान र पद कम मान्नु हुन्न ।

बरु पछिल्लो समय उनको साहित्य लेखन र साहित्यिक सकृयतामा ह्रास आएको थियो । उनी काठमाडौंमा गुमनाम जस्तै भएका थिए । कोभिड-१९ को कहरले उनको साँघुरिएको मित्र मिलन पनि सकृय हुन नसकेको बेला २८ कार्तिकमा काठमाडौंमा उनले आफ्नो निवासमै चीर विश्राम लिए ।

आजीवन अविवाहित उनी आफ्ना साहित्यिक लेखनमा, साहित्यिक संस्थामा गरेको योगदानमा, उनले सम्पादन गरेको ‘आँखीझ्याल’का पानाहरुमा जीवन्त रहनेछन् ।

३० कार्तिक २०७८, काठमाडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?