+
+

शान्ति सम्झौताको १५ वर्ष : ओभाएका छैनन् द्वन्द्व पीडितका आँखा

५ मंसीर, रोल्पा । सशस्त्र द्वन्द्वको चर्को मार खेपेका रोल्पा, रुकुमका केही गाउँहरू जहाँ प्रायः मान्छे नमारिएको घर छैनन्; अहिले तिनको मनमा के कुरा खेल्दो हो ? उनीहरू भन्छन्, ‘हामीले यत्रो दुःख भोगेपछि अब त देश बन्छ भन्ने सोच्यौं तर नेताहरूले लडाइँ मात्रै गरे, केही भएन ।’

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ मंसिर ५ गते ९:३१
सशस्त्र द्वन्द्वमा छोरी गुमाएकी सुनछहरी गाउँपालिका–७ जेलवाङकी ९२ वर्षीया सेती मगर ।

५ मंसीर, रोल्पा । सुनछहरी गाउँपालिका–७ जेलवाङकी ९२ वर्षीया सेती मगरका आँखा ओभाएका छैनन् । सशस्त्र द्वन्द्वमा १८ वर्ष पुगेर हुर्कंदै गरेकी छोरी गोमा मगरलाई सेनाले घरबाट जंगलमा लगेर हत्या गर्‍यो । शव समेत देख्न पाइनन्, उनले ।

युद्ध अन्त्य भएको धेरैपछिसम्म पनि गाउँमा कसैका छोरीचेली देख्दा उनी भक्कानिएर रुन्थिन् । उनलाई लाग्दो रहेछ, नमारिएकी भए मेरी छोरी पनि यत्रै हुनेथिई ।

युद्धताका सेनाले छोरीलाई माओवादी भनेर घरबाटै लिएर गएको थियो । ‘जंगलमा लगेर मार्‍यो भन्छन्, लास पनि देख्न पाइनँ’ हत्केलाले आँसु पुछेर ती ९२ वर्षीया आमाले भनिन्, ‘छोरी नदेखेको दिनदेखि म रोएको रोयै छु ।’

सशस्त्र द्वन्द्व अन्त्य भएर शान्ति सम्झौता भएको पनि आज १५ वर्ष पुग्यो । तर सेती मगरका आँखामा आँशु रोकिएको छैन । अहिले पनि उनी छोरीको सम्झनामा रुन छाडेकी छैनन् । धेरैले मुलुकमा युद्धविराम भएर शान्ति सम्झौता पनि भयो र देशमा शान्ति फर्कियो भनिरहेका छन् । तर उनको मनमा एकछेउ पनि शान्ति आएको छैन ।

छोरी मारिएको बदलामा उनले १० लाख रुपैयाँ पाइन् । तर उनको घाउमा मल्हम लगाउने अरू कुनै काम सरकार र तत्कालीन विद्रोहीबाट हुन सकेन । भासिएको मसिनो स्वरमा उनले भनिन्, ‘शान्ति फर्कियो भन्छन् । मेरो मनको घाउ त उस्तै छ ।’

युद्ध प्रभावित रोल्पाकै अन्य गाउँहरूमा शहीद स्मारक बनेका छन् । तर जेलवाङमा द्वन्द्वमा ज्यान गुमाएकाहरूको सम्झनामा शिलालेखसम्म पनि राखिएको छैन । ‘लडाइँमा हाम्रा सन्तान मारिए’ सेती मगरले भनिन्, ‘गाउँमा एउटा गतिलो काम भएन । के हेरेर मन बुझाउनु ?

****

जेलवाङ ठूलो गाउँकै विर्सा विक (७०) को सशस्त्र द्वन्द्वमा काख रित्तियो । २०५९ सालमा सेना र माओवादीको भिडन्तमा परेर उनले एउटी काखे छोरी गुमाइन् । त्यस दिन उनी आफ्ना श्रीमान्सँग गाईबस्तु चराउन गएकी थिइन् । त्यही बेला माओवादी र सेना बीचमा भिडन्त भयो । उनीहरू बीचमा परे । संयोगले उनका श्रीमान् खुसीलाल कामी त बाँचे तर पिठ्यूँमा बोकेकी चार वर्षीया छोरीलाई गोली लाग्यो ।

०५९ सालमा सेना र माओवादी भिडन्तमा परेर छोरी गुमाएका विर्सा विक र खुसीलाल कामी दम्पती ।

भएकी एउटी छोरी द्वन्द्वमा गुमेपछि उनको काख मात्र रित्तिएन, बुढेसकालको साथ समेत खोसियो । छोरीको सम्झनामा उनले कति आँशु खसाइन् त्यसको गणना छैन । उमेरसँगै छोरीको मुहार क्रमशः धमिलिंदै गयो तर घाउ बल्झन छोडेन । घटना भएको १९ वर्ष भइसक्दा पनि छोरीको सम्झनामा उनी आँशु खसाउँछिन् ।

‘लडाइँले छोरी खोस्यो, घाउ दियो’ उनले भनिन्, ‘घाउमा मल्हमपट्टी लगाउने कोही भएन ।’ उनका बुझाइमा छोरी गुमाएको पीडा बिर्सन उनले कुनै सहारा पाइनन् । ‘छोरी मारेको बदलामा १० लाख रुपैयाँ दियो’ उनी भन्छिन्, ‘राहतको नाममा पैसा पाएँ, चोट बिर्सने सहारा केही पनि पाइनँ ।’

युद्धविराम भएको धेरैपछिसम्म मुलुकमा परिवर्तन हुन्छ कि भन्ने आश थियो । तर १५ वर्ष बित्दा पनि उनले सोचे जस्तो परिवर्तन आएन । जीवनको उत्तराद्र्धमा उनलाई यही कुरा बिझाउने काँडा भएको छ । ‘हामीले यत्रो दुःख भोगेपछि अब त देश बन्छ भन्ने सोच्यौं । तर नेताहरूले लडाइँ मात्रै गरे, केही भएन’, उनी भन्छिन् ।

रोल्पाको साविक जेलवाङ गाविसमा सशस्त्र द्वन्द्वमा सबैभन्दा धेरै मान्छे मारिए । राज्य पक्षबाट ६३ र विद्रोही पक्षबाट १० गरी जेलवाङमा मात्रै ७३ जनाले ज्यान गुमाए । यो गाउँमा मान्छे नमारिएको प्रायः कुनै घर छैन । दशवर्षे लामो सशस्त्र द्वन्द्वमा सबैभन्दा धेरै मार खोपेको जेलवाङका हरेक घरमा युद्धका पीडा कथा–व्यथा छन् । हरेकजसो परिवारले कोही न कोही गुमाएकै छन् ।

रोल्पाको जेलवाङ

५ मंसीर २०६३ मा भएको १२ बुँदे शान्ति सम्झौता पछि १० वर्ष लामो युद्ध अन्त्य भयो । राज्य र विद्रोही पक्षले बन्दूक बिसाएपछि मुलुकमा हिंसात्मक गतिविधि हुन छाडे । शान्ति प्रक्रियापछि मुलुकमा धेरैले शान्तिको अनुभूति गरे । तर द्वन्द्व प्रभावित यी गाउँमा आज पनि युद्धको घाउ उस्तै छ । यो १५ वर्षपछि हामी यो गाउँ पुग्दा युद्ध पीडितका मनमा शान्ति छाएको भेटिएन ।

****

जेलवाङकै मनबहादुर रोका (७०) लाई त्यसबेला पुलिसले अनाहकमा थुन्यो । माओवादीको आरोपमा २२ दिन हिरासतमा राखेर चरम यातना दियो । प्रहरीले बन्दूकको डोबले खुट्टामा हिर्काउँदा जीवनभर निको नहुने घाउ भयो । खुट्टाका हड्डी फुटेर उनी राम्रोसँग हिंड्न नसक्ने भए । माओवादीको आरोपमा प्रहरीले दिएको यातनाको त्यो आलो घाउले अहिले पनि पटक–पटक सताइरहन्छ, उनलाई । युद्धविराम भएको यतिका वर्ष बित्दा पनि उनको त्यो पीडा बिर्सन सकेका छैनन् ।

प्रहरी हिरासतमा पाएको यातनाले घाइते भएका रोल्पा जेलवाङका मनबहादुर रोका ।

उनी भन्छन, ‘सरकारले यो माओवादीको गाउँ हो भन्यो । सेना, प्रहरी आएर दिनु दुःख दियो’ उनले भने, ‘लोग्नेमान्छे घर बस्न सक्ने अवस्था थिएन । सेना प्रहरीले घरमै आएर गोली हान्थे । नभए पिट्ने गर्थे । कहिले जंगल कहिले घर गर्दै जसोतसो बाँचियो । तर यो हाल भयो ।’

‘युद्धमा पाएको यातनाले बाँचुञ्जेल औषधि खानु परेको छ’ उनी भन्छन्, ‘औषधि गर्दा गर्दै आधा सम्पत्ति सकियो ।’ अहिले उनलाई बाँकी जीवनमा कसरी औषधि जोहो गर्ने भन्ने पिरलो छ ।

युद्धमा सेना पुलिसले दिएको यातनाको घाउले भन्दा बढी नेताहरूको विलासी जीवनशैली र गाउँघरलाई गरेको बेवास्ता देख्दा उनको मन पोल्छ । ‘नेताहरू रातारात बदलिए’ उनले भने, ‘हामी उपचार नपाएर बस्नु परेको छ ।’

उनी थप्छन्, ‘हिजो युद्ध लडेका नेताहरू समेत पटक–पटक सत्तामा पुगे र अहिले पनि सत्तामा छन् । हाम्रो गाउँले युद्धमा गरेको बलिदानीले मुलुकको व्यवस्था फेरियो । तर गाउँको मुहार फेरिएन ।’ उनी भन्छन्, ‘हिजो जे हुनुभयो, अब नेताहरू मिलेर देश बनाउन्, गाउँको विकास गरुन् । हामीलाई अरू केही चाहिएको छैन । ’

****

रोल्पाकै थवाङ गाउँपालिका–५ गिवाङकी राममाया रोका (७८) शहीद पत्नी हुन् । मुलुक परिवर्तनको सपना बोकेर उनका श्रीमान् ताराप्रसाद रोका युद्धमा होमिए । व्यवस्था बदल्न हिंडेका उनका श्रीमान् फर्केर आएनन् ।

युद्धमा श्रीमान् गुमाएकी थवाङकी राममाया रोका ।

त्यसपछिका राममायाका दिन र रात रोएरै विते । श्रीमान् गुमाएपछि अहिले पनि उनका आँशु रोकिएका छैनन् । विगततिर फर्कियो कि आँखाका छेउ–कुना रसाइहाल्छन् ।

श्रीमान् गुमाएको बदलामा उनले १० लाख रुपैयाँ पाइन् । अहिले आएर उनलाई युद्धमा श्रीमान् गुमाएको भन्दा बढी उनी केका लागि लडाइँमा होमिएछन् भनेर पीडा हुन्छ । हिजो परिवर्तनका सपना देखाएर हिंडाएकाहरू प्रति उनी आक्रोशित छन् । ‘आज शहीद र उनीहरूको परिवारलाई बिर्सने काम भएको छ’ उनले भनिन्, ‘हिजो युद्ध गर्दा सपना देखाए, सत्तामा पुगेपछि तिनै शहीदका सपना भुले । हामीलाई त चिन्न पनि छोडे । हामीलाई बिर्सनेहरूलाई अब हामीले चाहिं किन सम्झिने ?’

राममाया भन्छिन्, ‘हाम्रो आँखामा छारो हाल्ने काम मात्र भयो । जीवन बदल्ने परिवर्तन आएन । गाउँमा केही नै भएन ।’

****

सशस्त्र द्वन्द्वको नेतृत्व गरेको माओवादीको मुख्य आधार इलाका थियो, रोल्पाको थवाङ । प्रचण्ड, बाबुराम, मोहन वैद्य लगायत शीर्ष नेताहरूलाई थवाङले सुरक्षित आश्रय दियो ।

रोल्पाको थवाङ

थवाङमै बसेर माओवादीले युद्धका रणनीतिहरू बनाए । स्वयं थवाङवासीहरू युद्धमा होमिएर माओवादीले उठाएको नयाँ जनवादी क्रान्तिको नारालाई सार्थक रूप दिए । र, सशस्त्र द्वन्द्वलाई शिखरमा पुर्‍याए ।

बदलामा यो गाउँले ठूलो मार खेप्नु पर्‍यो । राज्यपक्षको नजरमा विद्रोही कहलियो । प्रहरी र सेनाबाट गाउँका मानिसहरूमाथि पटक–पटक ज्यादती भयो । नेपाली सेनाले घरहरूमा आगो लगाएर गाउँ ध्वस्त बनाए । थवाङवासीहरूको घरसँगै मन पनि जल्यो ।

२०५८ सालमा सेना गाउँमा पुगेपछि थवाङवासीहरू विस्थापित भएर कैयौं महीना जंगलमा बसे ।

‘आँखा अगाडि हाम्रो गाउँ जलेको देख्यौं’ २०५८ सालको घटना सम्झँदै थवाङका स्थानीय धपलाल पुन भावुक हुन्छन्, ‘जंगलमा बसेर आफ्नै घर जलेको दृश्य कारुणिक थियो । त्यो दिन शायदै हामी बिर्सन सक्छौं ।’ त्यसमाथि थवाङ गाउँमा थुप्रै मानवीय क्षति भयो । द्वन्द्वकालमा थवाङमा ३३ जनाले ज्यान गुमाए ।

****

रोल्पाको छिमेकी जिल्ला रुकुमले पनि द्वन्द्वमा कहालीलाग्दा घटनाहरू व्यहोरेको छ । सशस्त्र द्वन्द्वमा रुकुम जिल्लामा सबैभन्दा धेरै मान्छे मारिएको ठाउँ हो, महत गाउँ । अहिले पूर्व रुकुमको भूमे गाउँपालिकामा पर्ने महत गाउँमा पटक–पटक भिडन्त र गाउँँलेमाथि ज्यादती भएका थिए ।

पूर्वी रुकुमको महत गाउँमा राज्यपक्षबाट ५२ र माओवादीबाट ६ गरी ५८ जनाले ज्यान गुमाए । तर शान्ति प्रक्रियापछि महत गाउँको यो घाउ बिर्साउन राज्य र विद्रोही कसैले केही गरेनन् ।

पूर्वी रुकुमको महत गाउँ

युद्धताका महत गाउँमा बिर्सनै नसकिने घटना भएका थिए । पटक–पटक युद्धमा मार भोगे पनि ६ असोज २०५९ मा सेनाले गरेको हिंसात्मक घटना शायदै यहाँका गाउँलेले कहिल्यै भुल्न सक्नेछन् ।

गाउँलेहरूका अनुसार, त्यस दिन नेपाली सेनाले १७ सर्वसाधारणलाई घरघरमै गएर गोली हानेको थियो । गाउँका निमुखा र सर्वसाधारण मात्र नभएर हुर्कंदै गरेका कलिला बालबालिका र अपाङ्ग समेत मारिएका थिए ।

त्यही घटनामा मारिएका थिए, सिंहबहादुर बुढाका १३ वर्षीय छोरा पनि । उनी स्कूलबाट घर फर्कंदै गर्दा बाटोमा सेनाले गोली हानेको थियो । त्यसको वर्ष दिन अघि मात्रै सिंहबहादुरका माइला छोरा जंगलमा मृत अवस्थामा भेटिएका थिए । मुलुकमा युद्धविराम भएर शान्ति फर्किए पनि सिंहबहादुर दम्पतीको घरमा शान्ति फर्किएको छैन । छोरा मारिएको घटनाले अहिले पनि उनीहरूको मन पोल्छ ।

‘लडाइँले छोरा खायो’ सिंहबहादुरले भने, ‘हाम्रो जिन्दगी बाँचेर पनि मरे झैं भएको छ ।’ यी दम्पतीलाई मरेको छोरा फर्काउन नसकिए पनि गाउँमा शान्ति फर्कियोस्, राम्रो होस् भन्ने चाहना छ । ‘हामीलाई अब केही चाहिएन, गाउँमा शान्ति आउनु पर्‍यो , विकास हुनुपर्‍यो ’, उनले भने ।

द्वन्द्वमा सेनाले चलाएको गोलीबाट १३ वर्षीय छोरा गुमाएका पूर्व रुकुम महत गाउँका सिंहबहादुर बुढा ।

महत गाउँकै बिनकुमारी बुढाको युद्धका बेला काख खोसियो । सेनाले घरमै आएर ६ वर्षीय छोरीलाई गोली हानेर मार्‍यो । ‘सेनाले ढोका खोलेर गोली हान्यो । काखमा भएको छोरीको गोली लागेर मृत्यु भयो’ उनले भनिन्, ‘म र नन्दलाई खुट्टामा गोली लाग्यो ।’ युद्ध अन्त्य भएपछि उनको शरीरको गोली त निकालियो तर मनको घाउ उस्तै रह्यो ।

‘नेताहरू माथि पुगे । हाम्रो लागि कोही कसैले केही गरेन’ उनले भनिन्, ‘लडाइँ लडेर हामीलाई घाउ दिए, घाउ भुल्न लायक काम चाहिं कसैले गरेन ।’ नेताहरू चुनावका बेला आश्वासन लिएर आउने, जितेर सत्तामा पुगेपछि नफर्किने गरेको उनी बताउँछिन् ।

रोल्पा र रुकुमका यी गाउँका मानिसको भनाइको सार थियो– यति ठूलो युद्ध भयो । दुवै पक्ष लड्दा सबैभन्दा मार हामीले खेप्यौं । बन्दूक उठाएकाहरू पनि पटक–पटक सत्तामा पुगे, नेता बने । मुलुकको व्यवस्था बदलियो तर गाउँको अवस्था बदलिएन । युद्धका घाउ बिर्साउने केही पनि काम भएन ।’

‘टुक्रे विकास होइन जीवनस्तरमा सुधार ल्याऊ’

उसो त यी गाउँमा विकास हुँदै नभएको होइन । शान्तिका नाममा गाउँमा आएको बजेटले युद्ध प्रभावित गाउँहरूमा केही विकास भएको छ । सरकारी, निजी क्षेत्र र गाउँलेकै श्रमदानमा बिजुली उत्पादनदेखि कतिपय घरघरमा धारासम्म पनि पुगेको छ । श्रमदान र सरकारको आयोजनामा गाउँसम्म पुग्ने कच्ची बाटो पनि खुलेको छ ।

तर, यसलाई विकास मान्न तयार छैनन्, थवाङका कम्युनिष्ट नेता जयप्रकाश बुढा मगर । उनी यसलाई चुनाव केन्द्रित र प्रचारमुखी विकास भन्छन् । ‘टुक्रे टाक्रे विकास भएका छन्, खास यो विकास होइन’ बुढा भन्छन्, ‘यहाँ जनताको जीवनस्तर माथि उठ्ने विकास हुनपर्थ्यो, त्यो भएन ।’

जयप्रकाश बुढा भन्छन्, ‘युद्धमा भोगेको क्षति स्वरुप यहाँका जनताले पाउनुपर्ने विकास पाएका छैनन् । युद्धका घाउमा मल्हम लगाउन बाँकी छ ।’ बरु युद्धको उपलब्धि स्वरुप नेता जन्मिएको उनी बताउँछन् । ‘जुन रूपमा रुकुम र रोल्पाले ठूला नेता पाए, त्यस अनुसारको विकास पाएन’, उनले भने ।

त्यसमाथि युद्धको घाउमा मल्हम लगाउन आएको विकास बजेट समेत दुरुपयोग हुन पुग्यो । नमूना शान्ति गाउँ र युद्ध पर्यटनको शीर्षकमा द्वन्द्व पीडितका घाउ बिर्साउन आएका बजेटमा टाठाबाठाकै हालीमुहाली भयो । त्यसले द्वन्द्वपीडितको घाउमा नून छर्किने काम भयो ।

उसो त युद्ध प्रभावित गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने थुप्रै सम्भावना छन् । तर त्यसतर्फ कसैको ध्यान नपुगेको थवाङकै थवाङी होमस्टे संघका अध्यक्ष धपलाल पुन बताउँछन् । ‘रोल्पा प्राकृतिक सम्पदाले सम्पन्न छ । नजिकै जलजला छ । पर्यटन प्रवद्र्धन गर्न थुप्रै सम्भावना छन्’ उनी भन्छन्, ‘शान्ति अध्ययन क्षेत्रका रूपमा पनि विकास गर्ने ठाउँहरू छन् । तर यसतर्फ चासो देखिंदैन ।’

पर्यटन प्रवद्र्धन गर्न सबैभन्दा तगारो बनेको छ– त्यहाँसम्म पुग्ने बाटो । ‘यहाँ सजिलै आउन सक्ने बाटो छैन । कच्ची बाटो वर्षामा हिंड्न सकिंदैन’ उनले भने, ‘यी बाटा पनि सरकारभन्दा बढी जनताको श्रमदानमा बनेका हुन् । यसको स्तरोन्नति भएको छैन । वर्षाताका गाउँसम्म गाडी आउन मुश्किल पर्छ । पुगिहाले बीच बाटोमै दुर्घटना हुने जोखिम रहन्छ ।’

केही दिनअघि मात्रै शहीद मार्ग अन्तर्गत दाङ–घर्ती गाउँ हुँदै थवाङ पुग्ने सडकखण्डमा बस दुर्घटना भयो । चार जनाले ज्यान गुमाए । हप्तादिन अघि मात्रै सोही रुटमा जीप दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए ।

रोल्पाका सडकखण्ड स्तरोन्नति नहुँदा मृत्यु मार्ग झैं भएका छन् । हरेक वर्ष यस्ता घटना भइरहन्छन् । कच्ची सडकको स्तरोन्नतिमा कसैले चासो देखाएका छैनन् ।

युद्ध प्रभावित यी गाउँमा पुगेपछि मनमा एउटा प्रश्न खेल्छ– ‘मुुलुकको राजनीतिक व्यवस्था परिवर्तन गर्न मानवीय र भौतिक क्षति व्यहोरेको रोल्पा र रुकुमको अवस्था चाहिं कहिले फेरिने होला ? युद्धका अनेक घाउ बोकेर बसेका पीडितको मनमा मल्हम लगाउने काम कहिले होला ? शान्ति सम्झौता भएको १५ वर्ष पुगेको आजको दिनमा पनि यो प्रश्न अनुत्तरित नै छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?