+
+

जनगणना ८० प्रतिशत सकियो, लिम्पियाधुराको अन्यौल कायमै

अच्युत पुरी अच्युत पुरी
२०७८ मंसिर ५ गते २०:४१

५ मंसिर, काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । २५ कात्तिकमा सुरु भएको जनगणनाको मूल गणना ९ मंसिरसम्म चल्ने छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार हिमाली भेगका धेरैजसो स्थानमा जनगणनाको काम सकिएको छ । अन्य भेगमा समेत करिब ८० प्रतिशत गणना सकिएको अनुमान गरिएको छ । ‘यकिन तथ्यांक त छैन, तर अधिकतम ८० प्रतिशतसम्म गणना सकिएको छ,’ उनले भने ।

१५ दिनको अवधिमध्ये पहिलो १० दिन बढी चापमा काम गर्नुपरेको निर्देशक लामिछानेले बताए । ‘अब वर्कलोड निकै कम भएको छ,’ उनले भने, ‘यसको फाइदा छुटपुट घरबाट पुनः विवरण लिन पर्याप्त समय मिल्छ ।’

लिम्पियाधुराको अन्यौल कामयै

जनगणना सकिन चार दिन बाँकी छँदासम्म दार्चुलाको लिपुलेक–लिम्पियाधुरा–कालापानीमा जनगणना कसरी गर्ने भन्ने विषय भने अझै अन्यौलमा छ ।

निर्देशक लामिछानेले यो क्षेत्रको जनगणना के हुने भन्ने विषयमा टुंगो नलागेको बताए । विभागले यहाँ गणक पुगेर जनगणना गर्ने वातावरण नभए अनुमानमा आधारित रहेर जनगणना गर्ने बताएको छ ।

उता, दार्चुलाको व्यास गाउँपालिका वडा नं १ को छाङ्गरु र तिङ्कर गाउँमा भने नेपाली सेनाको सहयोगमा गणक पुर्‍याउन लागिएको लामिछानेले जानकारी दिए । यी दुई गाउँमा जान नेपालतर्फबाट बाटो पुगेको छैन । बाटो बिग्रिएको भन्दै भारतले अनुमति नदिएपछि यहाँ जनगणना नै नहुने हो कि भन्ने आंशका थियो । तर, अब भने सहजै जनगणना हुने उनले जानकारी दिए । दुईवटा गाउँमा एक सय भन्दा बढी घर परिवार रहेको अनुमान छ ।

यसअघि हिमाली भेगमा हिमपातले असर गर्ने आशंका गरिएको थियो । तर, हिमालमा शुरुआती दिनमै बढी जोडबलका साथ जनगणना गरिएका कारण प्रतिकुल मौसमको सामना गर्नु नपरेको निर्देशक लामिछानेले बताए ।

‘१५ मंसिरपछि माथिल्लो भेगमा अलि चुनौती नै हुन्छ,’ उनले भने, ‘सोही कारण सकेसम्म छिटो सम्पन्न गर्‍यौं ।’ उनका अनुसार अर्को चुनौती तराइको सीमावर्ती गाउँहरुमा हुने अनुमान गरिएको थियो । तर, त्यहाँ पनि पूर्वदेखि पश्चिमसम्म नै सहज रुपमा जनगणना भइरहेको उनले बताए ।

सबै समुदायले उत्साहपूर्वक जनगणनामा भाग लिएको र कतिपय अवस्थामा जनगणनामा मान्छे आउँछन् भनेर एक जनाले घर नै नछाडी बसेकोसम्म पाइएको अनुभव उनले बाँडे । देशभर खटिएका ४० हजार गणकलाई सहजीकरण गर्न ८ हजारको हाराहारीमा सुपरीवेक्षकहरु खटाइएका छन् । कुनै स्थानमा समस्या पर्दा उनीहरुमार्फत तत्काल सहजीकरण गरिएका कारण छिटपुटबाहेक कहीँकतै पनि अवरोधविना जनगणनाको काम भइरहेको विभागको भनाइ छ ।

एक जना गणकले देशभर दैनिक १२ वटा घरमा जनगणना सक्ने अनुमान गरिएको छ । १५ दिनको अवधिमा एक जना गणकले औसत १७५ परिवारको गणना गर्नेछन् । हिमाली र पहाडी भेगमा खटिने गणकले एक घरबाट अर्को घर पुग्न लामो समय लाग्ने भएकाले थोरै घरमा मात्र गणना गर्न सम्भव हुनेछ । तराइ र शहरी भेगमा भने थोरै समयमा धेरै घरको गणना गर्न सम्भव हुनेछ । सोही कारण १५ दिनमा एक गणक बराबर १७५ घर राखिएको छ ।

छिटपुटबाहेक निर्विवाद

यसपटक केही जातीय समुदायले भने संस्थाले तोकेकै बमोजिमको उत्तर दिनुपर्छ भनेर सार्वजनिक रुपमा अभियान चलाएका थिए । यसलाई तथ्यांक विभागले गलत भनेको थियो ।

विभागले ३० कात्तिकमा एक विज्ञप्ति निकाल्दै जनगणनामा व्यक्ति तथा संस्थाले आफ्नो संस्थागत निर्णय अनुसारकै उत्तर दिन विभिन्न अभियान चलाइनु गलत भएको बताएको थियो । विभागले गणकलाई विश्वास गर्न र सही तथ्यांक टिपाउन समेत आह्वान गरेको थियो ।

बागलुङमा एक अल्पसंख्यक समुदायले जनगणना नटिपाउने भनी लिएको अडान समेत गुनासो केन्द्रमा पुर्‍याउने सहमति भएपछि अहिले अवस्था सामान्य भएको छ ।  यसबाहेक अन्य विवाद भने यस पटक सामना गर्नु नपरेको निर्देशक लामिछानेले जानकारी दिए । ‘सबैजनाले एक उत्सव र पर्वका रुपमा लिइदिनुभएको छ,’ उनले भने, ‘यस्तो माहोलमा हुने जनगणनाले सही तथ्यांक प्राप्त गर्न सहयोग पुग्छ ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?