+
+

अभाव भएपछि एकैपटक ७ लाख बिजुली मिटर किनिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १३:५५

६ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक ७ लाख वटा इनर्जी मिटर किन्ने भएको छ । ढिला गरी ठेक्का गर्दा अहिले देशभर मिटर अभाव छ । अब करिब डेढ महिनाभित्र आपूर्ति शुरु हुने गरी भारतीय कम्पनीसँग प्राधिकरणले ठेक्का सम्झौता गर्न लागेको हो ।

भारतको जिनस पावर इन्फ्रास्टक्चर इन्डिया इनर्जीसँग मिटर आपूर्तिको ठेक्का सम्झौता हुन लागेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले जानकारी दिए ।

‘हामीले ठेक्का सम्झौताका लागि बोलाइसकेका छौं भने उनीहरुलाई उत्पादन शुरु गर्न अनुरोध पनि गरेका छौं,’ उनले भने, ‘एक–डेढ महिनमा आपूर्ति शुरु हुन्छ ।’

करिब ६४ लाख अमेरिकी डलरमा सो कम्पनीसाग ठेक्का समझौता हुन लागेको हो । यसअनुसार प्रतिमिटर करिब ९ डलर खर्च हुनेछ ।

खपत नभएको बिजुली खेर जानबाट रोक्न नसकेर सकसमा रहेका बेला प्राधिकरणका वितरण केन्द्रहरु ग्राहककोमा जोडिने बिजुलीको मिटरको अभाव छ । यसले एकातिर बिजुली खपत नभएर खेर जाने र अर्कोतिर प्राधिकरण नयाँ ग्राहकको मागअनुसार बिजुली दिन नसक्ने बिडम्बनापूर्ण अवस्थामा छ ।

विद्युत् प्राधिकरणका हरेकजसो वितरण केन्द्रमा इनर्जी मिटरको अभाव छ । प्राधिकरणको यसअघिको नेतृत्वले सयममै टेन्डर गरेर आपूर्ति गर्न नसक्दा ट्रान्सफर्मर र मिटरको अभाव भएको हो । कुलमान घिसिङ यसअघि नेतृत्वमा हुँदा किनिएको उपकरणले अहिलेसम्म माग धानिरहे पनि अब अभाव चरम अवस्थामा छ ।

वर्षमा करिब ३ लाख नयाँ विद्युत ग्राहक थपिन्छन् । यसअनुसार महिनामा औसत २५ हजारभन्दा बढी मिटर जडान हुन्छन् ।

अभावको अवस्था आउन लागेपछि प्राधिकरणले पुराना मिटर पनि प्रयोगमा ल्याइरहेको छ । सिलवालकाअनुसार काठमाडौंको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका घरमा स्मार्ट मिटर जोडिएपछि निकालिएका चुस्त अवस्थामा ८० हजार मिटर फेरि प्रयोगमा ल्याइएको छ ।

मिटरको भन्दा ट्रान्सफर्मरको बढी अभाव छ । देशभर विद्युतको वितरणलाइनमा जोड्नुपर्ने सयौं ट्रान्सफर्मरको माग छ । तर, प्राधिकरणले मागअनुसार वितरण केन्द्रहरुलाई ट्रान्सफर्मर उपलब्ध गराउन सकेको छैन ।

प्राधिकरणले समयमै आवश्यक निर्णय नगर्दा न्यूनतम् विद्युतीय उपकरणसहित मिटर र ट्रान्सफर्मर अभावको अवस्था आएको हो । ठेक्का प्रक्रिया लामो हुने भएकाले अभावको अवस्था आउने जोखिमको मूल्यांकन गरेर प्रत्येक वर्ष खरिद योजनाअनुसार काम हुनुपर्ने हो ।

तर, गत वर्ष नेतृत्व परिवर्तन भएर हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक बनेपछि प्राधिकरणमा बढेको राजनीतिक प्रभाव र नयाँ नेतृत्वको कमजोर निर्णय क्षमताले यस्तो अवस्था आएको प्राधिकरणका अधिकारीहरुको आरोप छ । मिटर र ट्रान्सफर्मरको आपूर्ति चक्र नबिथोलिने गरी थप मिटर खरिद प्रक्रिया अघि बढाउनुपर्नेमा अनेकन बहानामा ढिलाइ हुँदा यस्तो अवस्था आएको हो ।

२०७३ अघि पनि प्राधिकरणमा मिटर र ट्रान्सफर्मरको चर्को अभाव हुन्थ्यो । प्राधिकरणले ट्रान्सफर्मर, पोल र मिटर पर्याप्त नकिन्दा प्राप्तिका लागि राजनीतिक पहुँच प्रयोग गर्नुपर्ने अवस्था थियो ।

२०७३ सालपछि प्राधिकरणले नियमित रुपमा मागअनुसार मिटर र ट्रान्सफर्मर किन्न थालेसँगै आपूर्ति सहज भयो । यसले गर्दा नेता कार्यकर्ताले ट्रान्सफर्मर र पोल वितरण गरेर राजनीतिक लाभ लिने अवस्था लगभग अन्त्य भएको थियो । प्राधिकरणका कर्मचारीले मिटर जोड्न घुस माग्ने क्रम पनि घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?