+
+
बहसमा एमाले महाधिवेशन :

एमालेमा आन्तरिक लोकतन्त्र पूर्ण निलम्बनमा छ

आलोचनात्मक चेत रहे न हीनताबोध हुने हो !

कम्युनिष्ट भाषाशैलीमा भन्दा अहिले एमालेमा जनवादी केन्द्रीयता पूर्ण रूपमा निलम्बित छ । जनवादी केन्द्रीयताको प्रतीक भनेको घनश्याम भूसाल मात्रै देखिएका छन् र यो क्रम महाधिवेशनसम्म रहने देखिन्छ ।

विष्णु सापकोटा विष्णु सापकोटा
२०७८ मंसिर ६ गते १९:००

एउटा वर्गले हीनताबोध अनुभव गर्ने चेत पनि गुमाइसकेका छन् । केन्द्रीय सदस्य नआए पनि वैचारिक संघर्ष गर्न तयार घनश्याम भूसाल छन्, जसले अलिकति महाधिवेशनको रौनक देखाउँछ । ईश्वर पोखरेलहरूलाई अहिले नलिए त अर्काे महाधिवेशनसम्म रहिंदैन भन्नेछ, उनीहरू चूपचाप बसेका छन् । त्यसैले यो महाधिवेशनमा चितवनमा भेला हुने र ओलीका ठूला–ठूला पोष्टर टाँस्नेहरू हावी हुन्छन् ।

माले र मार्क्सवादी मिलेर एमाले भएपछि एमालेबारे मोटामोटी जानकारी राख्दै आएको छु । एमालेको पार्टी जीवनमा सबैभन्दा कम उत्साह भएको महाधिवेशन हो यो ।

एकप्रकारले यो पूर्ण महाधिवेशन नभएर प्राविधिक महाधिवेशन मात्रै हो । भर्खरै पार्टी फुटेको छ । केपी ओलीको नेतृत्वलाई विना प्रश्न स्वीकार्छु भन्ने मात्रै एमालेमा रहेको स्थिति छ ।

निलम्बनमा आन्तरिक लोकतन्त्र

कांग्रेस विभाजन भएर प्रजातान्त्रिक कांग्रेस बनेपछि पनि यस्तै भएको थियो । हुन त त्यो बेला गिरिजासँग १२/१४ वर्षसम्म रिसाएर बसेकाहरू प्रजातान्त्रिक बनेका थिए ।

विष्णु सापकोटा

त्यतिखेर उनीहरूको पार्टीमा मतभेद हुँदैनथ्यो । एक ठाउँमा आउने कारण गिरिजा कोइरालासितको रीस थियो । यहाँ चाहिं एक ठाउँमा आउनुको कारण एमाले केपी ओलीलाई मान्ने बाहेक अर्काे छैन । कम्युनिष्ट भाषाशैलीमा भन्दा अहिले एमालेमा जनवादी केन्द्रीयता पूर्ण रूपमा निलम्बित छ । जनवादी केन्द्रीयताको प्रतीक भनेको घनश्याम भूसाल मात्रै देखिएका छन् र यो क्रम महाधिवेशनसम्म रहने देखिन्छ ।

एमाले नफुट्दै पार्टीभित्र ठाउँ बनाउन आलोचनात्मक चेत र टिप्पणी केही पनि नराख्ने हुनुपर्ने अवस्था बनेको थियो । ओलीलाई एकछत्र मान्नैपर्ने, नमान्दा त्यहाँ अस्तित्व संकटमा पर्ने अवस्था थियो । विचारका कुरा गर्नेहरू बाहिरिए । बसेकामा एउटा मात्र घनश्याम भूसाल जस्ता अर्काे नेता देखिएन । यसरी एमालेमा आन्तरिक लोकतन्त्र पूर्ण निलम्बनमा छ । त्यहाँभित्रका नेताहरूको उकुसमुकुस एकदमै छ भन्ने त जसले पनि बुझ्न सकिन्छ ।

एमाले एक, प्रवृत्ति अनेक

मैले त्यहाँभित्र रहेका प्रवृत्तिलाई विभिन्न समूहमा वर्गीकरण गरेको छु । एउटा बोल्ने हुनुभयो– भीम रावलहरू । उहाँहरू पनि कुनै पद मिल्यो भने चूप लाग्नुहुन्छ होला । अर्का एकाथरी छन्– प्रदीप ज्ञवाली, योगेश भट्टराईहरूलाई महाधिवेशनमा जस्तो माहोल बनेको छ, एकप्रकारको हीनताबोध भएको छ ।

परम्परागत रूपमा या पछिल्लो समयमा जोडिएर अरूले भन्दा बढ्ता बफादारिता देखाउने भएकाले मात्रै बोल्न नसकेका होलान् । देखिंदै यस्तो देखियो भनेर उनीहरूलाई हीनताबोध भएको हुन सक्छ ।

अर्काथरीहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेहरूले समर्पण भावमा गएर अन्तिममा एउटा पद पाउने बाहेक अरू केही पनि देखिंदैन । उहाँहरूलाई हीनताबोध पनि छैन । अलिकति आलोचनात्मक चेत रह्यो भने न हीनताबोध हुने हो । बाहिरबाटै छर्लङ्ग देखिने जस्तो ।

अर्को समूह पनि छ एमालेभित्र । ती भनेका एमालेमा नचाहिने तत्वहरूको नियन्त्रण र नेतृत्वमा थियो । हाम्रो एमालेलाई हाम्रो नियन्त्रणमा ल्याइयो भन्नेहरू हुन् । वैचारिक रूपमा शंकर पोखरेल, प्रदीप ज्ञवालीहरू बाहेकका विष्णु रिमाल, राजन भट्टराई र महेश बस्नेतहरू जस्ता नेताहरूले बल्ल एमाले हाम्रो नियन्त्रणमा आयो भन्नेमा खुशी छन् । यसलाई यसरी नै एकछत्र लैजाने योजना छ । उनीहरूको लागि जनवादी केन्द्रीयता र आन्तरिक लोकतन्त्र भनेकै केपी ओली हो ।

जसले हीनताबोध गर्ने चेत पनि गुमाइसकेका छन् …

कम्युनिष्ट आन्दोलनका अनेक रूप छन् । व्यक्ति रूपान्तरित भएका छन् । उसको जिन्दगीको प्राथमिकता के हुन्छ भन्ने पनि हुन्छ । कम्युनिष्ट आन्दोलनका कस्ता कस्ता नेताहरू विचलित भएको देखिएकै छ । एउटा वर्गले हीनताबोध अनुभव गर्ने चेत पनि गुमाइसकेका छन् । छोड्दिन जे पर्ला पर्ला केन्द्रीय सदस्य नआए पनि ठीकै छ भनेर लाग्ने घनश्याम भूसाल छन् जसले अलिकति महाधिवेशनको रौनक देखाउँछ ।

ईश्वर पोखरेलहरूलाई त जे भए पनि लिनै पर्‍यो, अहिले नलिए त अर्काे महाधिवेशनसम्म रहिंदैन भन्नेछ, त्यसैले उनीहरू चूपचाप बस्ने गरेका छन् । त्यसैले यो महाधिवेशन चितवनमा भेला हुने र ओलीका ठूला ठूला पोष्टर टाँस्नेहरू हावी हुन्छन् ।

१० बुँदेबाट आएकाहरूमा भूसाल बाहिर निस्किए । माओवादीले जनयुद्धकालमा बाबुराम भट्टराईलाई कारबाही गरेर राख्या थियो । पछि चुनवाङ बैठकमा भट्टराईको भनाइ आएको थियो– म प्रचण्डमा विलीन भएँ भनेर । त्यसरी नै, पार्टी एकताका लागि भनेर बनाएको १० बुँदे ओलीसँग फर्कनका लागि बिन्तीपत्रमा टुंग्याए ।

लोकतन्त्रीकरणको क्षयीकरण

एमालेको सन्दर्भमा मात्र होइन, धेरै राजनीतिज्ञ यस्तै छन् । आफू के भएको छु भन्ने बुझ्दै नबुझ्ने हुँदोरहेछ । हामीले आफ्नो व्यक्तिगत जीवनमा पनि बुझ्दैनौं होला । आफूलाई कम्युनिष्ट भन्छन्, पत्याएरै भन्छन् । होइनन् तर हुँ भन्छन् । आफू कम्युनिष्ट नभए पनि भोट पाइन्छ भनेर मात्र होइन, वास्तवमा उनीहरू आफूलाई कम्युनिष्ट नै भन्ठान्छन् ।

एमाले महाधिवेशनको आयोजक पार्टीभित्रका कर्पाेरेट दक्षता भएकाहरू हुन् । उनीहरू पोष्टर साजसज्जा गर्ने, होटलमा बस्ने र राम्रो व्यवस्थापन गर्ने मान्छेहरू छन् । यसमा उनीहरू नै हावी हुन्छन् । उनीहरूले प्रचार गर्छन् । त्यसबाहेक महाधिवेशनमा केही पनि छलफल छैन भन्ने स्पष्टै देखिएको छ । उनीहरूले ओलीको चाहना जे छ त्यही अनुसारको पोष्टर, लोगो र ब्यानर बनाउँछन् । ओलीलाई सोध्न नि पर्दैन । उनीहरू काकाबाउलाई भाइभतिजाले गर्ने जस्तै गर्छन् ।

नेपालका दलहरू लोकतान्त्रिक हुने प्रक्रिया कमजोर त थियो । पहिले ऐतिहासिक कारणले कमजोर भयो । जस्तै, २०४७ मा बहुदल आयो भनेरै मक्ख परियो । २०५१÷५२ पछि विकृति शुुरू भएपछि लोकतन्त्र भित्र नभए बाहिर पनि नहुनेरहेछ भन्ने बहस शुरू हुन थालेको थियो । २०५४/५५ मा अलिअलि बहस हुनै लाग्दा माओवादी द्वन्द्व बढ्यो ।

त्यसपछि हिंसा र शान्तिका कुराहरू भए । यसरी लोकतन्त्रको एजेण्डा शुरू हुनै लाग्दा हराएको थियो । यद्यपि, यसबीचमा पनि एमालेले महाधिवेशन गर्दै वैचारिक बहसका साथ पदाधिकारी चयन गरेर लोकतान्त्रिक अभ्यास चलाएको थियो । यहीबीचको अभ्यासले हो एमालेको संगठन बलियो बनेको ।

माओवादीले त महाधिवेशनमा टिकोटालो मात्रै गरेको हो । त्यहाँ आन्तरिक लोकतन्त्र छँदै छैन । एमालेले थालेपछि कांग्रेसले पनि शुरु गरेको थियो । त्यहाँ पनि ठूलो पार्टी एउटाले गरेको विकृति अर्काेमा गइहाल्छ । राम्रो कुरा अर्काेमा सर्न समय लाग्छ तर नराम्रो कुरा सर्न कति बेर लाग्छ र ?

दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर हुनु भनेको त पारदर्शिता केही पनि नचाहिनु, नेतृत्वलाई चुनौती दिनै नसक्नु, सांस्कृतिक पतनका कुराहरूमा प्रश्न उठ्दै नउठ्ने हुन थाल्यो । दलको महाधिवेशनमा आन्तरिक लोकतन्त्र हुनु भनेको त पार्टीको र सम्पूर्ण राजनीतिको समीक्षा गर्दै आफ्नो पार्टी कहाँ उभिएको छ ? त्यहाँ किन आयो ? भनेर हेर्नुपर्ने हो ।

महाधिवेशन सकेर फर्किंरहँदा कार्यकर्ता पार्टीको उद्देश्यसँग परिचित हुन्थे र उनीहरूमा नयाँ रक्तसञ्चार हुन्थ्यो । अब त्यो रहेन । केपी ओलीको प्रशंसा र माधव नेपाल र प्रचण्डलाई गाली गर्ने काम हुन्छ ।

यसरी यो महाधिवेशन बाहिरकालाई गाली गर्नमा बढी केन्द्रित हुने अनुमान अहिले गर्न सकिन्छ । त्यसैले महाधिवेशन यसरी हुनु र यस्तो माहोलमा हुनु एमालेको लागि मात्रै नभई देशकै लागि एकदमै दुर्भाग्यपूर्ण हुन्छ ।

ओलीको उदय

एमालेमा ओलीको उदय हुनुमा धेरै कारण छन् । अरू अरू देशमा पनि यस्तो देखिएको छ । माओवादी जनयुद्धको डर–त्रास भएको अवस्था जसरी पनि शान्ति ल्याउनुपर्छ भन्ने भयो । एमाले १२ बुँदेदेखि अरू सबैमा जानुपर्छ भन्ने भयो । केपी ओलीले नेतृत्व गरेको समूहले एमालेको शान्ति प्रक्रिया र राजनीतिक प्रक्रिया छ त्यसको प्रतिक्रिया स्वरूप केपी ओली उदाएका हुन् ।

उनले एमालेभित्र मात्र नभएर बाहिर पनि माओवादीलाई तीव्र आलोचना गर्न थाले । उनीहरूले उठाएका जातीय राजनीतिक कुराको विरोध गरे । सबै माओवादी मन नपराउने मान्छेका नेता ओली भए । पछिल्लो समय आफ्नै स्वार्थमा अडान लिएको भए पनि उनी भारत विरोधी देखिए । ओलीको उदय सकारात्मक भन्दा पनि नकारात्मक कारणबाट भयो । पछिल्लो समयमा ६ महीनासम्म ओलीलाई केही नेताले टक्कर दिए ।

उनीसितै राजनीति थालेका अष्टलक्ष्मी, युवराज लगायतले एउटा आदर्शका लागि बोलेका छन् भन्ने लाग्थ्यो । २०–२२ वर्षको उमेरमा राजनीति थालेका उनीहरू अहिले ६५–७० आसपासका छन् । यिनीहरूले अब गर्न बाँकी पनि छैन । लडुन्जेल भिडुन्जेल पाइन्छ भने किन नलड्ने भन्ने छ । यिनीहरूले प्रतिनिधित्व गर्न बाँकी केही पनि छैन, आदर्श पनि बाँकी छैन । यति धेरै लगानी गरियो, अरुले बार्गेनिङ गरेर लिइरहेका छन् भने मैले किन नलिने ? भनेर ओलीतिर लागेका हुन् ।

हामीले यी र यस्ता पार्टीको अस्तित्वको कारण खोतल्नुपर्छ । मानिसहरू अझै किन यस्ता दलका पछि लागिरहेका होलान् ? गाउँमा एउटा पार्टीमा लाग्यो भने सिडियो कार्यालय जाँदा थर्काउन पाइन्छ भन्ने छ । यी १० बुँदे वालासम्म आइपग्दा केका लागि भन्दा पनि आफू भइरहेको कुरा किन छाड्ने भन्ने बाहेक कुनै उद्देश्य र आदर्श बाँकी छैन ।

हुनसक्छ, अहिलेसम्म चूप लागेर बसेकाहरू महाधिवेशनपछि बोल्न थाल्नेछन् । अहिले पद पाइहालिन्छ भन्ने लोभले चूप लागेका हुनसक्छन् । अन्त जाँदा पनि ठाउँ पाउनुपर्‍यो । ओलीले मन नपरेको कुरा बोल्नेहरूलाई केही भूमिका र कुनै ठाउँ हुँदैन ।

महाधिवेशनपछि एमाले खिएर सानो हुँदै जान्छ । किनभने नीतिगत अस्पष्टता र एजेन्डाको अभाव छ । ओलीले कम्युनिष्ट नाम राखेर दक्षिणपन्थी एजेन्डा बोकेका छन् र जोसँग पनि समीकरण गर्न तयार छन् । अहिले एमालेमा थिग्रिएर ओली प्रवृत्ति मात्र बाँकी छ । यो महाधिवेशनले यसैको निरन्तरतालाई संस्थागत गर्छ ।

कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?