+
+
साल्ट ट्रेडिङको मनपरी :

अनुदानको मल किन्दा कम गुणस्तरको मल अनिवार्य !

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ मंसिर ६ गते १८:४१

६ मंसिर, काठमाडौं । सरकारी अनुदानको मल खरीद गर्ने तनहुँको एक सहकारीलाई साल्ट ट्रेडिङ कर्पोरेसनले १२ पटकसम्म मागै नगरेको एसएसपी (सिंगल सुपर फस्फेट) नामक मलसमेत पठाइदियो ।

किसानले माग नगरेको र सहकारीले पनि खरीद गर्न नचाहेको मल हरेक खेपमा ४०/५० बोरा पठाइदिएपछि सहकारीका प्रमुखले साल्ट ट्रेडिङका प्रमुखसँग आक्रोश पोखे । ‘साल्टका पंकज जोशी र मल विभाग प्रमुख रश्मी श्रेष्ठलाई जबरजस्ती भिडाएको मल लिन्न भनें,’ ती सहकारीका प्रमुखले भने, ‘हामीले थपेको मल नलिने भए अनुदानको डीएपी र युरिया पनि पाउदैनौ भनेर धम्की दिए ।’

१३ पटक अनुदानको मल खरीद गर्दा १२ पटकसम्म अनुदान नपाइने स्थानीय भाषामा गेडे मल भनिने सो मल किन्न बाध्य भएको उनको गुनासो छ ।

‘किसानले ती मलहरु बालीका लागि लाभदायक नभएको, मल नपग्लिएको जस्ता गुनासो गरेपछि बिक्री रोकेका छौं,’ सहकारी प्रमुख भन्छन्, ‘गोदाममै २ सय बोरा थन्किएको छ ।’

गोरखाको एक कृषि सहकारीको दुःख पनि उस्तै छ । सरकारको अनुदानको मल बिक्री गर्न पाएको सुविधाको दुरुपयोग गर्दै साल्ट ट्रेडिङले जसरी पनि आफ्नो व्यावसाय वृद्धि गर्ने मलको बिक्री बाध्यकारी बनाएको सहकारीका अध्यक्षले अनलाइनखबरलाई बताए । ‘उनीहरुले भिडाएको मल नकिनौं अनुदानको मल पनि पाइन्न, किनौं किसानलाई त्यो मल बिक्री गर्न सकिन्न’ कृषि सहकारीका अध्यक्षले भने ।

मल किन्न बाध्य बनाएको विषय सार्वजनिक गरे अनुदानको मल नदिने धम्की दिएको भन्दै सहकारी सञ्चालकहरु नाम खुलाउन मान्दैनन् ।

माटोको परीक्षण नगराई प्रयोग गर्न नमिल्ने एसएसपी र एमोनियम सल्फेट नामक मल साल्ट ट्रेडिङले जबर्जस्ती बिक्री गरेको गुनासो कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्म पुगेको छ । सरकारी अनुदानको २५ हजार मेट्रिकटन डीएपी मल समयमा ल्याउन नसकेको साल्ट ट्रेडिङले कम गुणस्तरको मल बिक्रीलाई बाध्य बनाएको आरोप खरिदकर्ताको छ ।

गुनासो आएको छ : मन्त्रालय

मन्त्रालयका रासायनिक मल शाखा प्रमुख राजेश मिश्रले साल्ट ट्रेडिङले अनुदानको मल बिक्री गर्न पाएको सुविधा दुरुपयोग गर्न नपाउने बताए । ‘युरिया र डीएपीको सट्टामा प्रयोग गर्न मिल्ने नमिल्ने यकिन नगरी जबरजस्ती मल बिक्री गरिएको अपुष्ट गुनासो आएको छ, यसलाई रोक्नुपर्छ । कृषक तर सहकारीले हामीलाई सूचना दिएर सहयोग गर्नुपर्‍यो’ महाशाखा प्रमुख मिश्रले भने ।

अहिले देशभर ३ हजार टन एमोनियम सल्फेट रहेको पाइएको मिश्रको भनाइ छ । तेलहन बालीका लागि एसएसपी मल उपयोगी भए पनि यसको दुई चार वर्ष प्रयोग पछि माटोमा अम्लीयपन बढेर उब्जनीमा असर पर्ने पनि मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङले जबर्जस्ती बिक्री गरेका उजुरी आए उसले पाएको बिक्रीको अधिकार खारेज गर्न सकिने मन्त्रालयको भनाइ छ ।

के हो एमोनिया र एसएसपी मल ?

युरिया र डीएपी मलको अभावमा कहिलेकाहीँ एमोनियम सल्फेट र एसएसपी मल प्रयोग गर्न मिल्ने भए पनि दीर्घकालीन प्रयोगले भने माटोलाई बेफाइदा गर्ने वैज्ञानिकहरु बताउँछन् । दुवै मल माटो परीक्षण पछि मात्रै प्रयोग गर्न उपयुक्त हुने माटो विज्ञ डा. श्रीप्रसाद विष्ट बताउँछन् ।

‘यो मल तेलबालीका लागि भने उपयुक्त मानिन्छ । तर यसमा हाइड्रोजनको मात्रा धेरै हुने भएकाले नियमित प्रयोगले माटोमा अम्लीयपना बढाउँछ’ उनले भने ।

माटो विज्ञ डा. चन्द्र रिसालका अनुसार एमोनियम सल्फेटको नियमित प्रयोगले माटो अम्लीय भयो भने पोषक तत्व बिरुवाले लिन सक्दैन । यूरिया भन्दा अलि खराब प्रकृतिको मलको रुपमा यसलाई लिइन्छ ।

तोरी र मुलाजस्ता बालीलाई यो मल आवश्यक भए पनि सबै बिरुवाका लागि राम्रो मानिँदैन । माटो जाँच गराउँदा फस्फोरस तत्व अभाव भएको पुष्टि भए मात्र यो मल प्रयोग गर्न सकिने डा. रिसाल बताउँछन् ।

साल्ट ट्रेडिङको दाबी : जबरजस्ती मल बिक्री गरेका छैनौं

साल्ट ट्रेडिङले भने एमोनियम सल्फेट र एसएसपी मलको जबरजस्ती बिक्री नगरेको दावी गरेको छ । सूचना अधिकारी कुमारराज भण्डारीले सुदूरपश्चिम प्रदेशमा मल अभावको समयमा विकल्पमा प्रयोग गर्न प्रदेश सरकारले अनुदान दिएका बेला मात्र बिक्री गरिएको बताए ।

अरु क्षेत्रमा भने यो मल बिक्री नगरेको बताउँदै राजभण्डारीले भने, ‘यो मल नेपालमा प्रयोग गर्न नमिल्ने भनेर पनि आएको छ, यो (जबरजस्ती बिक्री गरेको भन्नु) भ्रमपूर्ण तथ्य हो । हामीले कसैलाई जबरजस्ती यो मल बिक्री गरेका छैनौं ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?