
७ मंसिर, काठमाडौं । सोमबार सुधारको संकेत देखिएको शेयर बजार मंगलबार भने पुनः घटेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता समस्या देखिदा यसको असर शेयर बजारमा देखिएको छ ।
साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७ अंकले घटेको थियो । मंगलबार भने ३२ अंकले घटेको हो ।
नेप्से परिसूचक ३२ दशमलव २९ अंकले घटेर २ हजार ७ सय ३३ दशमलव १४ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले घटेको छ ।
कारोबार रकम भने सोमबारको तुलनामा केही सुधार देखिएको छ । मंगलबार ४ अर्ब पनि नपुगेको कारोबार रकम बुधबार ४ अर्ब १६ करोड रुपैयाँ नाघेको छ । दिनभर भएका ५३ हजार ७६७ कारोबारबाट २२७ कम्पनीका ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता शेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५ सय ७८ रुपैयाँ पुगेको छ । मंगलबार बजार घटेपनि केही कम्पनीहरुको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै मूल्य बढ्नेमा महिला लघुवित्त वित्तीय संस्था देखिएको छ ।
गत वर्षको मूनाफाबाट ५० प्रतिशत शेयरधनीलाई लाभांश दिने घोषणा गरेपछि महिला लघुवित्तको शेयर मूल्य लगातार बढिरहेको छ ।
प्रतिक्रिया 4