+
+

कान्ति राजमार्ग निर्माणमा सकस : आयोजनाले माग्यो थप डेढ अर्ब रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १७:१८
फाइल तस्वीर

७ मंसिर, काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने वैकल्पिक राजमार्ग कान्ति राजमार्गको निर्माण सकिन अझै केही वर्ष लाग्ने भएको छ । यो आयोजनाको काम सकाउन करिब डेढ अर्ब रुपैयाँ बराबरको थप ठेक्का गर्नुपर्ने भएको छ ।

विसं २०१३ सालमा निर्माण शुरु भएको कान्ति राजमार्ग सडक आयोजनाले सडक विभागसँग कालोपत्रे गर्न नमिल्ने अवस्थामा सडक खण्डलाई स्तरीकरण गर्न भन्दै डेढ अर्ब बजेट माग गरेको हो । प्रस्तावित स्तरीकरणको काम सकिएपछि मात्रै आयोजनाले पूर्णता पाउने छ ।

ठूला सवारी चलाउने दिने गरी निर्माण भइरहेको सडकमा २०७६ को वर्षायाममा वर्षाले ठूलो क्षति पुर्‍याएको थियो । आयोजनाले ७९ किलोमिटरमध्ये ६८ किलोमिटर खण्ड कालोपत्रे गरिसकेको छ ।

चालु आर्थिक वर्षमा करिब ६ किलोमिटर खण्ड कालोपत्रे गर्ने आयोजनाले बताएको छ । त्यसपछि कठिन चट्टाने पहिरोका कारण प्रभावित विभिन्न भागका करिब ४ किलोमिटरको असजिला र कालोपत्रे गर्न नसकिने खण्डलाई बलियो गरी बनाउन थप बजेट आवश्यक पर्ने आयोजनाका एक अधिकारीले बताए ।

‘त्यस क्षेत्रमा पहिरो रोकेर सडकलाई मजबुत र समस्यारहित बनाउन विभिन्न निर्माणका काम कामहरु गर्नुपर्छ,’ ती अधिकारीले भने, ‘त्यसका लागि अध्ययन गर्न हामीले विभागलाई नै लिखित रुपमा अनुरोध गरेका छौं ।’

चालु आर्थिक वर्ष २०७८/७९मा आयोजनाले ३० करोड मात्रै बजेट पाएको छ । यो बजेटले कालोपत्रे गर्न सम्भव हुने सबै खण्डमा काम सकिने आयोजनाले बताए । त्यसपछि चट्टाने पहिरो प्रभावित खण्डहरु सुधारका लागि ललितपुर र मकवानपुरको भूभागका दुई प्याकेजमा छुट्टा–छुट्टै ठेक्का लगाउनुपर्ने अवस्था रहेको विभागले बताएको छ ।

६५ वर्षअघिको योजना

यो सडकका लागि विसं २०१४ सालमा ट्रयाक खोल्न शुरु गरेर विसं २०१६ मा काम सकिएको थियो । तर, त्यसपछि बागमती खोलामा पुल नबन्दा र केही चट्टाने भीरको क्षेत्रमा सडकको अवस्था नसुधार्दा करिब ५० वर्ष यो सडक अलपत्र नै रह्यो । सरकारले अन्य सडकलाई महत्व दिएपनि कान्तिराजथलाई अवहेलना गर्दै आएको थियो ।

दोस्रो जनआन्दोलनपछि बल्ल यो मार्गको निर्माणमा सरकारले चासो देखाएको थियो । त्यसअनुसार निर्माण शुरु भएको ६० वर्षपछि २०७३ सालमा यो राजमार्गमा कालोपत्रे शुरु भएको थियो ।

यो दुई लेनको सडक बनेपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने २२६ किमी र पालुङ हुँदै आउने १२६ किलोमिटर बाटोको विकल्प तयार हुनेछ । ०६४ मा ब्युँतिएको यो आयोजनाले हालसम्म करिब साढे ३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

काठमाडौंबाट कान्ति लोकपथको प्रस्थान विन्दु ललितपुरको एकान्तकुना हो । हेटौंडाको बुद्धचोकदेखि ललितपुरको टिका भैरवसम्मको यो सडकलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्न काम भइरहेको छ । कतिपय भीर भएका खण्डमा इन्टरमिडियट एक लेन पनि छन् ।

यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कोरियाको सरकारी कम्पनीले तयार गरेको थियो । कान्ति राजपथ निर्माण सकिएर ठूला सवारी आएपछि ललितपुरका दक्षिणपूर्वी भेग र मकवानपुरको पूर्वोत्तर भेगका बासिन्दाको जीवनयापनमा सुधार आउने स्थानीयको अपेक्षा छ ।

वीरगञ्ज नाकाबाट नेपाल तथा भारतबीच हुने व्यापार विस्तारमा समेत यसले सहयोग पु‍र्‍याउने विश्वास गरिएको छ । यसले पूर्वी नेपाल र वीरगञ्जबाट हुने काठमाडौंको आपूर्ति व्यवस्थालाई सहज गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?