
७ मंसिर, काठमाडौं । मोहम्मद हुसेन बलिङमा चम्किएपछि लुम्बिनी प्रदेशले वाइ वाइ यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा भएको खेल लुम्बिनीले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
हुसेन एक्लैले ७ विकेट लिएपछि पहिले ब्याटिङ गरेको गण्डकीले १४.२ ओभरमा २३ रनमै अलआउट भयो । जवाफमा लुम्बिनीले ५.५ ओभर खेल्दै २६ रन बनाएर लक्ष्य पूरा गर्यो ।
लुम्बिनीका कप्तान देव खनालले २० बल खेल्दै ४ चौका मद्दतमा अविजित १८ रन बनाए । विराट भण्डारी ८ रनमा अविजित रहे । गण्डकीका सुवास भण्डारीले १ विकेट लिए ।
त्यसअघि लुम्बिनीका बलर हुसेनले ७ ओभर बलिङ गर्दा १ मेडन राख्दै १४ रन खर्चेर ७ विकेट लिए । यस्तै दुर्गेश गुप्ताले ६ ओभरमा १ मेडन राख्दै ७ रन मात्र खर्चेर १ विकेट लिए । दुर्गेशले असोजमा भएको एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडिएटर्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै वासिर महम्मदले पनि १ विकेट लिए ।
गण्डकीका लागि ६ खेलाडी खाता नखोली आउट भए । गण्डकीका लागि सिनियर टिमको क्याम्पमा परिसकेका अर्जुन कुमालले ६ र कप्तान विष्णु पाण्डेले ५ रन बनाए ।
प्रतिक्रिया 4