+
+
अन्तर्वार्ता :

‘पूर्वमाओवादी र १० बुँदे पक्षधरसँग समझदारी गरौं, अरू चुनाव लडौं’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १५:२८

८ मंसीर, काठमाडौं । दशौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेमा अध्यक्षसहित पदाधिकारीमा सहमति–सहमति भन्दाभन्दै चुनावको सम्भावना बढेको छ । अध्यक्ष केपी शर्मा ओली स्वयंले आफूले सहमतिका लागि आग्रह गर्दा पनि दबाव हुने भएकाले केही नभन्ने बताएका छन् ।

तर चुनाव हुँदा १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरू र पूर्व माओवादीहरू बाहिरिने हो कि भन्ने चिन्ता पनि छ । ओली निकट केन्द्रीय सदस्य महेश बस्नेत भने विधान संशोधन गरेर दुई उपाध्यक्ष, एक उपमहासचिव, दुई सचिव मनोनीत गर्नुपर्ने बताउँछन् । त्यसो भएमा पूर्वमाओवादी र १०बुँदे सहमति गरेर पार्टीमै बसेकाहरूको व्यवस्थापन हुने भन्दै भन्छन्, ‘बाँकी अन्यको हकमा खुला प्रतिस्पर्धा गरेर जानुपर्छ ।’

प्रस्तुत छ, एमाले केन्द्रीय सदस्य बस्नेतसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः

भीम रावलको उम्मेदवारीपछि एमालेको नेतृत्व चयन मतदानबाट हुने निश्चित भयो ?

भीम रावल कमरेडको पार्टीको पछिल्लो एकता प्रक्रियामा केही असन्तुष्टि र असमझदारी थियो । त्यसलाई सम्बोधन गर्ने प्रयास पनि भएको हो । उहाँले सोचे जस्तो चित्तबुझ्दो परिणाम आएन होला । त्यही कारणले दाबी गर्नुभएको होला । तर नेतृत्व तहमा समझदारी हुँदा सहमति हुन्छ ।

निर्विरोध नेतृत्व चयनको विकल्प अझै बाँकी छ ?

अझै पनि निर्विरोधको सम्भावना बाँकी छ किनभने पार्टीभित्र सबैको अस्तित्व स्वीकारेर एकताको सन्देश दिन जरूरी छ । लोकतन्त्र भनेको जिम्मेवारी बाँडेर शक्तिशाली हुनु हो । जिम्मेवारी खोसेर शक्तिशाली भइन्न । उहाँ (भीम रावल)ले पार्टीभित्र आफ्नो भूमिका खोज्नुभएको हो भने पार्टी अध्यक्ष लगायत कमरेडहरूले सहज ढंगले अगाडि बढाउनुपर्छ ।

होइन, फरक मत राखेर राजनीतिक विसर्जनको दिशामा अगाडि बढ्ने र अध्यक्षको उम्मेदवारी भनेर सामाजिक र राजनीतिक मञ्च प्रयोग गर्ने सोच हो भने सहमतिको प्रयत्न कामयावी बन्दैन । तर छलफल र संवादबाटै समझदारी होला ।

तपाईंले राजनीतिक विसर्जन भन्नुभयो, तर भीम रावलले त एकताबद्ध पार्टी निर्माणका लागि अध्यक्षमा उम्मेदवारी भन्नुभएको छ नि ?

पार्टीभित्र राम्रो क्षमता राख्ने र आशावादी नजरबाट हेरेको, विपक्षले पनि एमालेको क्षमता भएको नेताका रूपमा हेरेको छ, उहाँलाई । तर कहिलेकाहीं भावुक राष्ट्रवादको कुरा गर्नुहुन्छ, त्यो कहिलेकाहीं अराजकताको रूपमा समेत पुग्ने गरेको देखिन्छ । आफ्नो असन्तुष्टि छरपस्ट रूपमा राख्ने गर्नुहुन्छ । त्यसले कार्यकर्ताको मन जित्नेभन्दा उनीहरूको मनलाई विभाजित गर्ने गरेको छ । यी केही पक्षलाई उहाँले आफूलाई मिलाएर लैजाने हो भने उहाँ राम्रो सम्भावना बोकेको नेता हो । तर कहाँ के मिलेको छैन । मेरो आग्रह– उहाँले अध्यक्षको घोषणा नगरी पार्टीभित्र आफ्नो योग्यता, क्षमता अनुसार जिम्मेवारी लिनु राम्रो हो ।

अध्यक्ष बाहेकको पद उहाँलाई उपयुक्त हुन्थ्यो ?

अहिलेको परिवेशमा अध्यक्षमा त जित्ने सम्भावना छैन । त्यसैले अध्यक्ष बाहेक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायतमा जिम्मेवारी लिनु उचित हुन्छ । सचिव भन्ने पद त पदाधिकारीमा नयाँ पंक्तिको प्रवेशका रूपमा राख्नुपर्छ । नत्र सधैं पार्टी परम्परागत र रुढिवादी नेतृत्वमा रहन्छ । त्योभन्दा माथिको पदमा नेतृत्वसँग समझदारी बनाउँदा राम्रो हुन्छ । आम प्रतिनिधिको पनि यसमा फरक मत हुँदैछ जस्तो लाग्छ ।

सचिव पदमा चाहिँ अहिले भएका नेताहरू हुनुहुँदैन ?

दुई कार्यकालभन्दा बढी एउटै पदमा दोहोर्‍याउन हुन्न भनेर विधानमै भनेको छ । नयाँ पुस्ताले पनि अभियान चलाएको छ, चार कार्यकाल केन्द्रीय सदस्य भइसकेपछि फेरि केन्द्रीय सदस्य किन हुने ? यद्यपि विधानमा त्यस्तो छैन । सचिव भइसकेका र त्यो माथि पुगेका कमरेडहरूले माथिल्लो पदमै दाबी गर्नुपर्छ । सचिव पद सहजताका साथ छोड्नुपर्छ ।

सबैले सचिव भन्दा माथिको पदमा दावी गर्दा निर्विरोध नेतृत्व चयनमा समस्या हुन्न र ?

निर्विरोध गर्ने नाममा पार्टीको गति स्थगन हुने खालको परिस्थिति पनि बनाउनुहुँदैन । इतिहास बोकेका सम्मान गर्नुपर्ने नेताहरू पनि पार्टीमा समेट्नैपर्छ, जोश–जाँगर र ऊर्जा बोकेका नयाँ पुस्ता पनि पदाधिकारीदेखि स्थायी कमिटीसम्म आउनुपर्छ । समावेशितालाई पनि ध्यान दिनुपर्छ, विविध पक्षलाई समेट्नुपर्छ । पाको, बीचको अनुभवी र नयाँ पुस्ताको संयोजन हुन सकेन भने पार्टी गफ गर्ने चौतारीमा परिणत हुन्छ । राजनीतिक बहस गर्ने क्लब बन्छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभिभारा पूरा गर्दै दलाल नोकरशाही पूँजीवादी तत्वहरूलाई तह लगाउन सक्ने, साम्राज्यवादी अवसरवादी तत्वहरूलाई तह लगाउन केपी ओली जतिको इनर्जेटिक नेतृत्व र उहाँलाई सहयोग गर्ने कामकाजी, जोश–जाँगर र ऊर्जा भएका युवा साथीहरूलाई पनि पर्याप्त मात्रामा केन्द्रीय कमिटीमा ठाउँ दिनुपर्छ ।

तर आकांक्षी धेरै छन् । अध्यक्षले सहमति गर्न नसकेको भनेर भीम रावलको उम्मेदवार आएको छ । तपाईंले भने जस्तो टीम बन्न सजिलो होला र ?

कम्युनिष्ट पार्टी जनवादी केन्द्रीयताको आधारमा संगठन निर्माण गर्छ । त्यो भनेको सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी हो । अध्यक्ष आफैंमा सर्वेसर्वा होइन । उहाँले पनि सामूहिक नेतृत्वको भावना अनुसार पार्टीको मूल फिगरका रूपमा, सुप्रिम कमाण्डरका रूपमा प्रस्तुत गर्ने हो । यद्यपि उहाँको उँचाइ चाहिं ‘फादर अफ द नेशन’को रूपमा छ । समकालीन राजनीतिमा उहाँ उँचाइ बोकेको नेता हुनुहुन्छ । अध्यक्षलाई सफल बनाउने भनेको त भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिष्ट लगायतको पंक्ति हो । उहाँहरूले नै यसको चाँजोपाँजो मिलाउने हो । सबै केपी कमरेडको टाउकोमा हाल्ने होइन नि ! केपी कमरेडलाई अहिले सर्वमान्य नेता बनाएर दोस्रो पुस्ताका नेताहरूले सबै कुराको संयोजन गर्नुपर्छ । त्यसपछि उहाँहरूले हामीलाई काम लगाउनुपर्छ ।

उहाँहरूले अघिल्लो पंक्तिको नेताहरूलाई गाली गरेर आफूलाई स्थापित गराउने रणनीतिमा जानु चाहिं ठीक होइन । किनभने यो असफल भएको रणनीति हो । त्यही कारणले आज झलनाथ, माधव र वामदेव कमरेडहरू हामीबाट टाढिनुभयो । त्यही कुरा पुनरावृत्ति गर्ने नेता र नेतृत्व त हामीलाई किन चाहियो र ? भीम रावल र घनश्याम भुसाल कमरेड त्यो भन्दा फरक ढंगले गए हुन्छ ।

त्यो भनेको ?

एउटा समझदारी गरौं । अध्यक्ष पछाडिको पदहरूमा नेताहरूबीच समझदारी गर्ने हो भने सबैले स्वीकार्छन् नि !

तपाईंले संयोजन गर्नुपर्छ भनेको दोस्रो पुस्ता पनि अध्यक्षकै इशारा र संकेत कुरेर बस्ने अवस्था देखिंदैछ नि ?

दुई वटा मनोविज्ञान देखिंदैछ । एउटा, जनतामा भिजेको, काम गरेको र कमाण्ड गरेको पंक्ति निर्वाचनको विधिबाट जान पनि तयार छ । अर्को, जो धेरै फिल्डमा भिजेको छैन, कार्यकर्तासँग घुलमिल पनि छैन । नेताको वरिपरि घुम्छ र सत्ता हुँदा सत्ता कब्जा गर्छ । सत्ता नहुँदा केन्द्रीय कार्यालय लगायत स्थान कब्जा गर्छ । उनीहरू चाहिं चुनावमा जान डराइरहेका छन् । सर्वसहमतिको मीठो कुरा गरिरहेका छन् । अध्यक्ष वा निश्चित नेताहरूले घोषणा गरिदिए हुन्छ भन्ने अपेक्षा गर्छन् । किन भने कार्यकर्ताको मतमा जाँदा रिङआउट हुन्छु भन्ने डर छ, अध्यक्ष वा निश्चित नेताहरूले घोषणा गर्दा आफू पर्छु भन्ने विश्वास गर्छन् ।

दुई वटा मनोविज्ञान देखिंदैछ । एउटा, जनतामा भिजेको, काम गरेको र कमाण्ड गरेको पंक्ति निर्वाचनको विधिबाट जान पनि तयार छ । अर्को, जो धेरै फिल्डमा भिजेको छैन, कार्यकर्तासँग घुलमिल पनि छैन । नेताको वरिपरि घुम्छ र सत्ता हुँदा सत्ता कब्जा गर्छ । सत्ता नहुँदा केन्द्रीय कार्यालय लगायत स्थान कब्जा गर्छ । उनीहरू चाहिं चुनावमा जान डराइरहेका छन् ।

अध्यक्ष वा निश्चित नेताहरूले घोषणा गर्ने विधि चाहिं लोकतान्त्रिक होइन । दावेदारहरूको बीचमा सर्वसहमत गर्न सक्दा चाहिं वैज्ञानिक विधि हो । दावेदारहरूलाई नै वास्ता नगरिकन निश्चित नेताहरूले घोषणा गर्दा चाहिं आजको नेकपा एमाले सर्वसहमत हुन्छ भन्ने हुँदैन ।

तपाईं चाहिं निर्वाचन चाहनुहुन्छ ?

दावेदार र नेताहरूबीचको समझदारीबाट सर्वसहमत हुँदा सहज स्थिति हुन्छ । होइन भने निर्वाचनको विधिलाई सबैले स्वीकारेर जानु नै राम्रो हुन्छ । निर्वाचनमा पदाधिकारी पराजय हुँदा केन्द्रीय सदस्य हुने पार्टी विधानले व्यवस्था गरेको छ । केन्द्रीय कमिटीमा पराजय हुने साथीहरू प्रदेश तहको संगठनमा रहनुहुन्छ । प्रदेश पदाधिकारी त केन्द्रीय सदस्यभन्दा कम हुँदैन । पराजय बेहोरेका साथीहरूलाई पनि काम गर्न पर्याप्त स्पेश रहन्छ ।

तर प्रतिनिधि चयन हुनुअगाडि त अध्यक्षले उच्चस्तरको सहमति नै उच्च तहको लोकतन्त्र भन्नुभएकाले पनि धेरै नेता अलमलमा देखिएका हुन् ?

अध्यक्ष कमरेडले उच्चस्तरको सहमति त भन्नुहुन्छ, तर भित्रै मनदेखि भनेको हो जस्तो लाग्दैन ।
अर्कातिर धेरै सर्वसहमत भनिरहेका साथीहरू नै चुनावको आन्तरिक तयारीमा जुट्नुभएको छ । आन्तरिक टीमहरू बनाइरहनुभएको छ । अध्यक्ष सहित नेताहरूले सर्वसहमत गर्दा धेरै राम्रो हो । तर सर्वसहमतको नाममा यो र त्यो पक्ष भनेर तर अध्यक्ष किन विवादमा पर्नु ! अध्यक्षलाई सबैले सर्वमान्य ढंगले स्वीकार गरिरहेको सन्दर्भमा त्यसैगरी हेर्नुपर्छ ।

एकता प्रक्रियाबाट आउनुभएका पूर्वमाओवादी कमरेडहरू र १० बुँदे सहमति गरी पार्टीमै रहनुभएका कमरेडहरूको चाहिं सहज कार्यविधि र समझदारी बनाएर जाँदा राम्रो हुन्छ । बाँकी अन्यको हकमा खुला प्रतिस्पर्धा गरेर जानुपर्छ ।

अध्यक्ष, माओवादीबाट आएका र १० बुँदे पक्षधरलाई जोगाएर बाँकी प्रतिस्पर्धामा उत्रने ?

उहाँहरूको हकमा एकप्रकार समझदारी बनाउन सकिन्छ । चुनावमा जाँदा उहाँहरू हट्ने स्थिति पनि हुनसक्छ । विधान सम्मेलन गर्दा ध्यान नपुगेको पनि हुनसक्छ ।

एउटा विधि के हुनसक्छ भने हामीले पदाधिकारी १५ जना भनेका छौं । त्यसमा दुई उपाध्यक्ष, एक उपमहासचिव, दुई सचिव मनोनीत गर्ने व्यवस्था गर्नुपर्थ्यो । केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था छँदैछ ।

माओवादी र १० बुँदेबाट आएकालाई समेट्न त्यो विधिको अझै सम्भावना देख्नुहुन्छ ?

विधान महाधिवेशन राष्ट्रिय महाधिवेशनको मातहत हुन्छ । विधान महाधिवेशनका कतिपय निचोड र निष्कर्षहरूले राष्ट्रिय महाधिवेशन सच्याउन सक्छ । नेतृत्व चयनका सन्दर्भमा जटिलता आयो भने बाधा अड्काउ फुकाउका रूपमा हुनसक्छ । यदि हामीले मनोनीतको व्यवस्था गर्‍यौं भने निर्वाचनमा कतिपय पक्षमा अन्याय हुँदा नेतृत्वले विवेक पुर्‍याउन सक्छ । लोकतान्त्रिक अभ्यासका नाममा शतप्रतिशत निर्वाचनको विधिमा जाने कुरा पनि कहिलेकाहीं पूर्ण लोकतान्त्रिक अभ्यास नहुन सक्छ । अन्य पार्टीबाट आउनेहरूका लागि पनि यो विकल्प सजिलो हुन्छ ।

एकता प्रक्रियाबारे त हामी लचिलो पनि छौं । जस्तो– पार्टीमा १० वर्ष काम गरेकाले प्रतिनिधि बन्ने भन्ने प्रावधान नयाँ प्रवेशी कोमल वली लगायतको हकमा लागू भएन । त्यसैले मनोनीतको व्यवस्था गरिदियौं भने समाजमा विशिष्ट योगदान पुर्‍याएकाहरू आउने ढोका पनि खुला हुन्छ ।

तपाईंले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । तर अगडि जाम त ठूलै छ, छिचोल्नुहोला ?

युवा संघ र विद्यार्थीको पृष्ठभूमिका झण्डै ५०० प्रतिनिधि आउनुभएको छ, जो मेरो भावनात्मक सम्बन्ध भएका प्रतिनिधिहरू हुन् । उहाँहरूको राय मैले सचिवमा उम्मेदवारी दिनुपर्छ भन्ने छ । त्यसैले सचिवमा उम्मेदवारी दिंदैछु ।

सर्वसहमतिको कुरा पनि छ, तर सचिवसम्म चाहिं प्रतिस्पर्धा गर्न दिनुपर्छ । किन भने मैले भनिसकें– पदाधिकारीमा प्रवेश गर्ने पद हो, त्यो । प्रवेश ढोका नै बन्द हुनुहुँदैन । यसरी त नयाँ पुस्ता कहिले आउँछ त ? आउँदैन नि ! त्यसैले मापदण्ड पुगेका नयाँ पुस्तालाई यो पदमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गरिनुपर्छ । नत्र त एमाले जोश–जाँगर र ऊर्जा बोकेको पार्टी नभएर ज्येष्ठ नागरिकहरूको पार्टी बन्न जान्छ । कांग्रेसमा गगनजी र विश्वप्रकाश शर्माहरूले महामन्त्रीमा दाबी गरिरहँदा एमालेमा चाहिं त्यो पुस्ताका नेता इन्ट्री नपाउने भन्ने त हुँदैन नि ! हिजो कांग्रेसभन्दा एमाले युवामैत्री हो भन्ने थियो, अब कांग्रेस भन्दा एमाले युवामैत्री होइन भन्ने सन्देश त दिनुभएन ।

तर मतदानकै प्रक्रियामा जाँदा पनि जिताउनुपर्नेलाई नेतृत्वले आन्तरिक लिस्ट बाँडिहाल्छन् भन्ने आशंका देखिन्छ नि ?

आजको सूचना र प्रविधिको जमानामा २०३६ सालभन्दा अगाडिको पुस्ताले मात्रै पदाधिकारीमा रहने अनि नयाँ पुस्ता घुस्न पाएन भने त एमालेले थप जोश कसरी पाउँछ ? त्यसैले नेताहरूले यसमा दबाव दिनुहुँदैन भन्ने आग्रह पनि हो ।

तपाईंले भने जस्तै निर्वाचनकै माध्यमबाट नेतृत्व चयन गर्दा एमाले एकताबद्ध रहँदैन भन्ने चिन्ता पनि देखिन्छ । तपाईंलाई के लाग्छ ?

निश्चय नै हामीभित्र असंख्य अन्तरविरोध छ, हिजो संस्थागत ढंगले गुटबन्दी गर्ने ढंगले प्रकट हुन्थ्यो भने अहिले स्वतन्त्र ढंगले प्रकट भइरहेको छ । विपरीत ध्रुवहरूको संघर्ष र एकता नै माक्र्सवादीको मूल मर्म पनि हो । त्यसैले धुरीका रूपमा हामीले केपी ओलीलाई स्वीकारिसकेपछि अन्तरविरोधहरूलाई मित्रवत् ढंगले हल गर्नुपर्छ । यसतर्फ नेतृत्वले ध्यान दिनुपर्छ । हामीले पदाधिकारीका रूपमा प्रवेश पाउँदा यसतर्फ काम गर्न सक्छौं । जो, विगतमा यो पाटोमा काम भएन । केपी ओली कमरेड अध्यक्ष र प्रधानमन्त्रीका रूपमा धेरै व्यस्त हुनुभयो । अब दोस्रो पुस्ताले छलफल गराउने, नेताहरूको बीचमा अन्तरक्रिया गराउने, मन्त्रालय र पार्टीभित्र समानुपातिक ढंगले जिम्मेवारी दिने पाटोमा ध्यान पुगेन । जो कमरेडहरू नेतृत्वको नजिक रहेर काम गर्नुभयो, उहाँले यो पाटोमा ध्यान दिनेभन्दा गलत सूचनाहरू सम्प्रेषण गर्ने र झोलीको देउता बनाउने गतिविधि गर्नुभयो । माओवादीसँगको एकता विखण्डित हुने कुरा होओस् वा हाम्रो पार्टी विभाजन भयो ।

हामी अहिले एकताबद्ध पार्टी निर्माण गर्ने गरी महाधिवेशन गर्दैछौं । महाधिवेशनपछि ठूलो मात्रामा ऊर्जा पैदा हुनेछ । केही मात्रामा निराशा र अन्तरविरोध पनि देखिन सक्छ । त्यसलाई हल गर्न मध्यमार्गी पंक्ति पनि निर्माण गर्न जरूरी छ । त्यस्तो भूमिका हामी तलै रहेर पनि गर्‍यौं, भोलि पदाधिकारीको जिम्मा पाउँदा पखेटा फिजाएर गर्न सक्छौं ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment