+
+

१७ अर्ब डलर लगानीमा अमेरिकामा कारखाना खोल्दै सामसुङ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १३:५६

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले अमेरिकाको टेक्सासमा सेमिकन्डक्टर उत्पादन कारखाना खोल्ने भएको छ ।

स्मार्टफोन लगायतका डिभाइसहरुमा प्रयोग हुने चिप्स अर्थात् सेमिकन्डक्टरको विश्वव्यापी अभावलाई कम गर्नका लागि सामसुङले १७ अर्ब डलरको लगानीमा टेक्सामा कारखाना खोल्न लागेको हो ।

टेक्साको यो कारखाना सामुङले अमेरिकामा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हुनेछ । मंगलबार टेक्सासमा स्थापना हुने चिप्स उत्पादन कारखानाको घोषणा गर्दै सामसुङले यसबाट प्रत्यक्ष रुपमा दुई हजार उच्च प्राविधिक जनशक्तिलाई रोजगारी प्राप्त हुने जनाएको छ । साथै कारखाना पूर्णरुपमा सञ्चालनमा आएसँगै अन्य हजारौं स्थानीयले पनि रोजगारी पाउनेछन् । सन् २०२४ को उत्तरार्धबाट उक्त कारखाना सञ्चालनमा ल्याउने लक्ष्य सामसुङको छ ।

सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा सिइओ किनाम किमले विज्ञप्तीमा भनेका छन् : उच्चतम उत्पादन क्षमताका साथ हामीले हाम्रा ग्राहकहरुको आवश्यकतालाई राम्रोसँग पूरा गर्न सक्नेछौँ र विश्व सेमिकन्डक्टर आपूर्ति श्रृंखलाको स्थायित्वमा पनि योगदान दिनेछौं ।

नयाँ कारखाना स्थापना गर्नका लागि टेक्सासको टेलर सहर छनोट गर्नुमा पनि विभिन्न पक्षहरू कारण रहेको सामसुङले जनाएको छ । जसमा हाल अस्टिनमा रहेको उत्पादन केन्द्रसँगको निकटता, स्थानीय सेमिकन्डक्टर वातावरण तथा सरकारी सहयोग रहेका छन् । नयाँ उत्पादन कारखाना ५० लाख वर्गमिटरमा फैलिएको हुनेछ।

पछिल्लो समय अमेरिका सरकारले सेमिकन्डक्टर उत्पादनलाई प्राथमिकता दिइरहेको समयमा सामसुङको यो घोषणा बाहिर आएको हो । पछिल्लो समय महामारी, मौसमको प्रतिकूलता लगायतका कारणले अमेरिकामा सेमिकन्डक्टरको उत्पादनमा संकुचन आएको छ । अघिल्लो वर्ष विश्व सेमिकन्डक्टर बजारमा अमेरिकी उत्पादकको हिस्सा १२ प्रतिशतमा झरेको थियो, जुन सन् १९९० मा ३७ प्रतिशतमा थियो ।

यो क्षेत्रमा दक्षिण कोरिया तथा ताइवानलगायतका एसियाली मुलुकहरु अग्रणी स्थानमा छन् । सामसुङ लगायतका दक्षिण कोरियाली कम्पनीहरुले सेमिकन्डक्टरको उत्पादन बढाउनका लागि ठूलो परिमाणमा लगानी गरिरहेका छन् ।

गत मे महिनामा सामसुङले कम्प्युटरको लोजिक चिप उत्पादनमा ३४ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?