+
+

यु-१४ टेनिसको स्वर्णमा नेपालको ‘क्लिन स्वीप’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १५:२४

९ मंसिर,  काठमाडौं । काठमाडौं-एसियन यु–१४ र्‍याङ्किङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को चारै स्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्वीप’ गरेको छ ।

बिहीबार सिंगल्स फाइनलको ब्वाइज/गर्ल्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा ‘क्लिन स्वीप’ गरेको हो । बुधबार ब्वाइज/गर्ल्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमाथि कब्जा जमाएका थिए ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा नेपालका सक्षमविक्रम शाहले नेपालका दर्शिल श्रेष्ठलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरे । पाकिस्तानका अमिर मुहम्मद खान मजारी र भारतका सिद्धार्थ जिबु संयुक्त रुपमा तेश्रो भए ।

सातदोबाटोस्थित टेनिस कम्प्लेम्समा भएको गर्ल्स सिंगल्स फाइनलमा नेपालकी सुनिरा थापाले नेपालकै प्रशंसा मोक्तानलाई ६–४ र ७–६ (३) को सेटमा हराइन् । नेपालकी आद्या पौडेल र अमेरिकाकी नाला जोस्फिन मास्केले तेश्रो स्थानमा चित्त बुझाए । अघिल्लो साता सम्पन्न सर्किट– १ को सिंगल्समा पनि सक्षम र सुनिरा नै च्याम्पियन बनेका थिए । त्यस सर्किटको डबल्समा पनि दुवैले स्वर्ण जितेका थिए ।

यसअघि डबल्सको ब्वाइजमा सक्षम र दर्शिल तथा गर्ल्समा सुनिरा र प्रशंसाको जोडीले बाजी मारेका थिए । विजेतालाई नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे, प्रतियोगिता निर्देशक एवं टेनिस संघका सदस्य अजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका ३३ खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?