
१० मंसिर, काठमाडौं। सोनु अन्सारीको शतकको मद्दतमा प्रदेश-१ले वाई वाई यु-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार प्रदेश-२ लाई ७ विकेटले पराजित गरेको छ ।
जारी प्रतियोगितामा प्रदेश-१ को यो लगातार तेस्रो जित हो। कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा २१२ रनको लक्ष्य प्रदेश-१ ले ४४.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश १ का लागि सोनु अन्सारीले १४५ बल खेल्दै १४ चाैका र ३ छक्का मद्दतमा अविजित ११९ रन बनाए। जारी प्रतियोगितामा यो दोस्रो शतक हो। यस अघि बिहीबार सुदुरपश्चिमका अर्जून साउदले प्रदेश २ विरुद्ध शतक प्रहार गरेका थिए ।
यस्तै प्रदेश-१ का लागि दिपेश कँडेलले ३३ र विवेक आनन्द मेहताले २४ रन जोडे। प्रदेश २ का विवेक यादव, प्रदीप पासवान र तृत राज दासले समान १ विकेट लिए ।
यस अघि कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश २ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर २११ रन बनाएको थियो। प्रदेश-२ का लागि कप्तान विवेक यादवले सर्वाधिक ७० रन बनाए । यस्तै रोहन विकले ४७ रन जोडे।
प्रदेश-१ का लागि दिपेश कँडेलले सर्वाधिक ३ तथा दिपक जोशी र गौरव कटुवालले समान २ विकेट लिए ।
प्रतिक्रिया 4