+
+

एमाले महाधिवेशनबारे सात प्रदेशका सात महिला प्रतिनिधि के भन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते २०:१५

११ मंसिर, चितवन । चितवनमा शुत्रबार सुरु भएको नेकपा एमालेको १० औं महाधिवेशनमा शनिबार बन्दसत्र सुरु भएको छ । देशभरबाट आएका करिब दुई हजार प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेपछि महाधिवेशन सकिनेछ ।

यसपटक एमालेको महाधिवेशन प्रतिनिधिमा महिलाको संख्या विगतमा भन्दा धेरै छ । केन्द्रीय समितिमा पनि महिला प्रतिनिधित्व ३३ प्रतिशत पु¥याइएको छ । महाधिवेशनबारे देशका विभिन्न ठाउँबाट आएका महिला प्रतिनिधि के भन्छन् ?

खरमाया बिटालु, म्याग्दी, गण्डकी

अहिले प्रतिनिधित्व भन्दा पनि महिलाहरुलाई जिम्मेवार पदाधिकारीका रुपमा सहभागी गराएर जिम्मेवारी दिनुपर्छ । ३३ प्रतिशत महिला सहभागी गराउने त भनिएको छ तर पदाधिकारी र केन्द्रीय नेतृत्वमा महिलाहरुको संख्या बढाउनुपर्छ । महिला नेतृत्वमा पुग्दा उनीहरुले जिम्मेवारी राम्रोसँग पूरा गर्न सक्छन् । पार्टीको विधानमा महिलालाई ३३ प्रतिशत सहभागी गराउने भनिएको छ । तर त्यहाँ महिलालाई नेता नमान्ने प्रवृत्ति छ, पद दिने बेलामा हिचकिचाउनेहरु छन् ।

सकुन्तला राजभण्डारी कार्की, ओखलढुंगा, प्रदेश १

यो भन्दा पहिले एमाले महाधिवेशनमा यतिधेरै महिला प्रतिनिधि थिएनन् । अहिले पार्टीले पनि ३३ प्रतिशत महिला सहभागी गराउने कुरा विधानमा लेखेको छ । तर हामीलाई चाहिएको ३३ प्रतिशतभन्दा बढी हो । पदाधिकारीमा दावी गर्न सक्ने काबिल महिला पनि छौं । हामी सकेसम्म सर्बसम्मत होस् भन्ने चाहन्छौं तर सर्वसम्मति गर्दा महिलालाई छुटाइनु चाहिँ हुँदैन ।

रेखा झा, महोत्तरी, प्रदेश २

पार्टीको दशौं महाधिवेशनमा महिलालाई ५१ प्रतिशत नै नेतृत्वमा पुर्याउनुपर्छ । नेतृत्वमा पनि महिलालाई छुटाउनुहँदैन, अझै भूगोलमा र मधेसमा काम गर्ने महिलालाई समेट्नुपर्छ ।

अहिले महिलाहरु एकदमै सशक्त रुपले खटिनुभएको छ त्यसैले महिलाले गरेको योगदानलाई पार्टीले कदर गर्नुपर्छ ।

तारादेवी मानन्धर, काठमाडौं, बागमती

प्रतिनिधि छान्दा पनि हाम्रो पार्टीले ३३ प्रतिशत महिला छान्यो । यसले पार्टीलाई राम्रो भयो, महिला सहभागिता पनि भयो । यो कुरालाई पार्टी नेतृत्वले पनि सोच्नुपर्छ र माथिल्लो तहसम्म कुरा गर्नुपर्छ । यो महाधिवेशनबाट नेतृत्व तहमा पनि महिलाको सहभागिता हुन्छ भन्ने विश्वास छ ।

धमकली चौधरी, दाङ, लुम्बिनी

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताको कुरा छ । तर महिलाको संख्या अझै बढाउनुपर्छ । महिला, दलित, आदिवासी, मधेसी, थारु सबै तिरको प्रतिनिधित्व हुनुपर्छ । यो महाधिवेशनमा मैले थारु महिलाको उपस्थिति कम देखेको छु । १० औं महाधिवेशनमा केन्द्रीय सदस्य र पदाधिकारीहरुमा महिलाको संख्या बढाउनुपर्छ । पार्टी संरचनामा महिलाको संख्या धेरै भयो भने राज्यका अरु निकायमा पनि महिलाको उपस्थिति बढ्दै जान्छ । यसबारेमा पनि पार्टीले सोच्नुपर्छ ।

मना अधिकारी, अछाम, सुदूरपश्चिम

पार्टीले सबै तहमा एक तिहाई महिला सहभागिता गराउने नीति लिएको छ । तर एक तिहाइमात्रै होइन काबिल महिला साथीहरु लड्नुपर्छ । चीरपरिचत र अग्रज साथीहरु खुल्लाबाट आउनुपर्छ, त्यसो गर्न नसक्ने साथीहरु कोटाबाट आउनुपर्छ । त्यसो हुँदा सहभागिता बढ्छ । अहिले हामी एकदमै न्युन अवस्थाबाट गुज्रिएर आएका छौं । त्यस्तो परम्परालाई यसपालि तोड्नुपर्छ ।

बिना कार्की, दैलेख, कर्णाली

पार्टीले भूगोल र पिछडिएका क्षेत्रहरुबाट पनि महिलालाई सहभागी गराउनुपर्छ । नेतृत्वमा हुँदा महिलाका समस्याहरुबारे सम्बोधन गर्न सक्छन् । पिछडिएका ठाउँमा महिलाहरु धेरै पीडित हुन्छन् त्यसैले उनीहरुको पीरमर्का सुन्न र पार्टीलाई बलियो बनाउन पनि नेतृत्वमा महिला पुग्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?