+
+

एमालेको मनोनयन शुरु भएन, विजय सुब्बा भन्छन्- पार्टीमा नयाँ थ्याैरी विकास भयो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ९:४३

१२ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी छ । आइतबार बिहान आठ बजेदेखि मनोनयन दर्ता सुरु गर्ने भनिए पनि सुरु हुन सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि सहमति जुटाउन नेताहरुलाई सकस परिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले महिला, दलित, जनजाति, भूगोल लगायतका क्लष्टरलाई समेटेर केन्द्रीय कमिटीको नामावली पठाउन नेताहरुलाई भनेका छन् । सोही अनुसार केहीले नाम पठाइसकेको र केही पठाउने तयारीमा छन् । बन्दसत्रले ती नामावली पास गरेपछि निर्वाचन समितिले औपचारिक रुपमा नामावली सार्वजनिक गर्ने तयारी छ ।

त्यसमा कसैले सहमति नजनाएमा बल्ल मनोनयन दर्ता गरेर निर्वाचनमा जाने तयारी छ । यसलाई कतिपय एमाले नेताहरुले पार्टीमा विकास भएको ‘नयाँ सिद्धान्त’ भनेर टिप्पणी गरेका छन् ।

नेकपा एमाले निर्वाचन समिति संयोजक विजय सुब्बाले भने, ‘पहिले ३०१ जनाको नाम ल्याउने, त्यसलाई हलले पारित गर्ने अनि बल्ल निर्वाचन समितिले निर्वाचन भएको भनेर नाम घोषणा गर्ने गरी नयाँ थ्याैरी विकास भयो, तर यसलाई स्वीकारेर अघि बढेका छौं,’ उनले अनलाइनखबरसँग भने ।

सामान्यतया मनोनयन दर्ता गर्ने, उम्मेदवारको सूची सार्वजनिक गरेर दाबी विरोधको सूचना निकाल्ने, त्यसमा छानविन गरेर अन्तिम नामावली प्रकाशन गर्ने र बल्ल मतदानमा गएर विजयी भएकाहरुको नामावली घोषणा गर्ने प्रक्रिया नहुने देखिएकाले नयाँ सिद्धान्त विकास भएको सुब्बाको धारणा छ ।

केन्द्रीय सदस्यमा मात्रै होइन, एमालेको पदाधिकारीमा पनि कुरा मिल्न बाँकी छ । शनिबारको बन्दसत्रमा नेता विष्णु पौडेलले अध्यक्ष ओलीले कार्यसमितिको नामावली प्रस्तुत गर्ने र बन्दसत्रमा सहभागीहरुले ताली बजाएर पास गर्ने प्रस्ताव गरेपछि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावल लगायतका नेताहरुले विरोध जनाएका थिए । त्यसपछि बन्दसत्र आइतबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको थियो ।

एमाले प्रचार विभागका सहसंयोजक सूर्य थापाले अध्यक्ष ओलीले सबैलाई मिलाएर एकताको सन्देश दिने गरी नेतृत्व प्रस्ताव गर्न आज बिहानैदेखि छलफलमा जुटेको बताए । महिला, दलित, जनजाति, भूगोल लगायतको क्लष्टरलाई समेटेर केन्द्रीय कमिटीको नाम बन्दसत्र पेश गर्ने ओलीको तयारी छ । आज १० बजेपछि हुने बन्द सत्रमा नयाँ नेतृत्वको प्रस्ताव पेश हुने अपेक्षा गरिएको छ ।

पार्टीको विधान संशोधन प्रस्तावलाई शनिबारको बन्दसत्रले पारित गरेपछि नेकपा एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय बन्ने छ । पारित विधानअनुसार १९ पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने छन् । पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने छन् । पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने छ ।

गत शुक्रबारदेखि चितवनमा सुरु भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सक्ने कार्यतालिका छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?