+
+

कुलमानसँग हाकुका स्थानीयले भने–बाहिरबाट श्रमिक नल्याइयोस्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १५:४०

१२ मंसिर, काठमाडौं । स्थानीयबासिन्दाले अन्य क्षेत्रका कामदार ल्याएर काममा लगाउन नदिएपछि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन र सबस्टेसन निर्माणमा समस्या परेको छ । आमाछोदिङमो गाउँपालिका—१ हाकुका बासिन्दाले बाहिरबाट श्रमिक नल्याउन आयोजननालाई चेतावनी दिँदै आएका छन् ।

रसुवा तथा नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि बनिरहेको यो आयोजनामा अहिलेसम्म समग्र निर्माण ६० प्रतिशत मात्रै काम सकिएको छ । आयोजनाका अनुसार धेरै काम बाँकी भएपनि बाहिरबाट श्रमिक लगेर काम लगाउने विषयमा स्थानीयले असहमति राख्दै आएका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, वडाध्यक्ष निमा दिण्डु तामाङको उपस्थितिमा शनिबार यसबारे स्थानीयबासी र कार्यारत श्रमिकसँग छलफल गरेका छन् ।

तर, घिसिङसँग पनि स्थानीयले त्यही अडान दोहोर्‍याए । गाउँका काम गर्ने मान्छे प्रशस्तै भएपनि निर्माण कम्पनीले काम नलगाएको र समयमै पारिश्रमिक पनि भुक्तानी नदिएको उनीहरुको गुनासो थियो ।

घिसिङले भने थुप्रै टावर बनाउन र तार तान्न बाँकी रहेकाले बाहिरको श्रमिक ल्याउन दिन वा स्थानीय रुपमा आवश्यक श्रमिक व्यवस्था गरेर नियमित काम गर्न आग्रह गरेका थिए । उनले काम रोकेर मेला, पर्व र पारिवारिक समारोहमा जाँदा आयोजनालाई ठूलो हानी हुने बताए । उनले आगामी साउनभित्र सक्ने गरी काम धमाधम काम गर्न आग्रह गरेका थिए ।

प्रसारण लाइनको अभावमा रसुवाबासीको पनि लगानी रहेको आयोजनाको बिजुली खेर जाँदा यसबाट कसैले प्रतिफल नपाउने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले काममा अवरोध नगरी निर्माण कार्यमा सहभागी भई जतिसक्दो छिट्टो काम सक्न दिन आग्रह गरे । हाकु क्षेत्रमा १२ वटा टावर निर्माण गर्नु पर्ने छ । अहिले २ वटा टावरको निर्माण सुरु भएको छ ।

आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण भइरहेको छ । साथै, चिलिमे–त्रिशूली थ्री बी हब २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छन् ।

दुवै सबस्टेसनको सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआईएसलगायतका महत्वपूर्ण उपकरणहरुको आपूर्ति ६५ प्रतिशत सकिएको छ ।

प्रसारणलाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ । ६ वटा टावर खडा गरिएको छ ।

आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली थ्री बी हब सबस्टेसनसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्नुपर्ने छ । भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने अवस्था छ । भीरैभीर सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्छ ।

बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको आयोजना बताउँछ । आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीज र परामर्शदाता पावर ग्रिड, भारत हुन् ।

प्राधिकरणको टोलीले निर्माणाधीन सबस्टेसन र प्रसारण लाइनको स्थलगत अनुगमन गरी साउनभित्र काम सक्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी कुनै पनि बहानामा निर्माण कार्यमा ढिलाइ नगर्न र कामदार थपेर कामलाई तिब्रता दिन आग्रह गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीका प्रतितिनिधिलाई पनि प्रसारणलाइन अत्यन्तै संवेदनशील र उच्च प्राथमिकतामा रहेकाले पटक–पटक जनाएको प्रतिबद्धता अनुसार निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गरे ।

उनका अनुसार प्रसारण लाइनमा जोडिने तीन वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन् । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत चिलिमे हबमा जोडिने छ । प्रसारणलाइन अभावमा आयोजनाहरुको विद्युत खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत अनुगमनमा गएको थियो ।

‘यो वा त्यो बहाना बनाएर निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई छैन, त्यसैले निर्माणलाई तीब्रता दिनुहोस्, हैन भने हामी नसक्ने भयौं भन्दै हात उठाएर हिँड्नुहोस्,’ उनले भभने,‘नगद प्रवाहको समस्या समाधान गर्न, साइटमा हुने अवरोध हटाउन हाम्रोतर्फबाट सक्दो सहयोग गर्छौं, निर्माण ढिलाइ भएर उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिनुपर्छ ।’

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणसहित जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण लगानी गरेका छन् ।

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?