+
+

प्रदेश-१ मा मन्त्रालय विभाजन गर्न कार्यदल गठन

हरि अधिकारी हरि अधिकारी
२०७८ मंसिर १२ गते १७:०७

१२ मंसिर, विराटनगर । प्रदेश १ मा मन्त्रीका आकांक्षी बढी भएपछि सत्तारुढ गठबन्धनले मन्त्रालय विभाजनका लागि कार्यदल बनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोको नेतृत्वको तीन सदस्यीय कार्यदलको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका कानुन सचिव सदस्य छन् ।

मंसिर १ गते विश्वासको मत लिएका मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रालय विभाजनपछि मात्रै सरकार विस्तार गर्नका लागि कार्यदल गठन गरेका हुन् । कार्यदलको सुझाव अनुसार मन्त्रालय विभाजन हुनेछ ।

कार्यदलले मन्त्रालयको कामको प्रकृति, आवश्यकता, अन्य प्रदेशको अभ्यास र आर्थिक भारको अध्ययन गरी प्रतिवेदन तयार गर्ने आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले बताए । प्रदेशका तीन मन्त्रालयलाई फुटाएर अधिकतम ११ वटा बनाउने तयारी रहेको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

मन्त्रीका आकांक्षी धेरै

प्रदेश २ को सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी पाँच दल छन् ।

तेस्रो हैसियतमा रहेको नेकपा एकीकृतबाट राजेन्द्र राई मुख्यमन्त्री छन् । १० सांसद रहेको यो दलमा बाँकी ९ जना नै मन्त्री र राज्यमन्त्री पदको आकांक्षी छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रमा पनि मन्त्री बन्ने हानथाप छ । गठबन्धनका दुई दल जसपाले मन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राज्यमन्त्री भाग पाइसकेको छ ।

प्रदेशमा कांग्रेसले ५, माओवादीले ३, नेकपा एसले २ मन्त्रालय दाबी गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीबाट सांसद राजन राई, उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, सरिता थापा मन्त्रीका दाबेदार छन् । पदमकुमारी गुरुङ, सुनिता चौधरी, सावित्रा रेग्मी राज्य मन्त्रीको दाबेदार रहेको नेकपा एसका नेताहरु बताउँछन् ।

माओवादी केन्द्रबाट रामकुमार राई र झलकबहादुर मगर मन्त्री बन्ने सूचीको अग्रपङ्तिमा रहेको स्रोतको भनाइ छ । त्यस्तै उमिता विश्वकर्मा र कुसुम श्रेष्ठ मध्ये एक जनालाई राज्यमन्त्री बनाउने सम्भावना रहेको माओवादी निकट स्रोत बताउँछ । माओवादी भित्र कुशल लिम्बु, धिरेन्द्र शर्मासहितका नेताहरु मन्त्रीको आकांक्षी छन् ।

२१ सांसद रहेको नेपाली काङ्ग्रेसमा ओमप्रकाश सरावगी, प्रतापप्रकाश हाङ्गाम, शेखरचन्द्र थापा, शिवप्रसाद गनगाई, बिन्दिया कार्कीलगायतका नेता मन्त्री बन्ने दौडमा छन् ।

मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुँदा प्रदेश १ मा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री र प्रमुख सचेतक केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, जसपा सांसद जयराम यादव सामाजिक विकास मन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे सामाजिक राज्यमन्त्री बनेका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?