+
+

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते २०:५९

१२ मंसिर, जनकपुरधाम । तेस्रो पटकको सहमतिपछि र दुई जना निर्वाचन अधिकृत फेरिएपछि सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशन आइतबार हुने सहमति बनेको थियो । सहमति अनुसार आइतबार कतिपय वडामा अधिवेशन शुरु भयो । बलरा नगरपालिका वडा नम्बर ९ को अधिवेशसन पनि स्थानीय सीता निमाविमा भइरहेको थियो । तर, विवाद बढेपछि गोली नै चलाइयो ।

आइतबार साँझ ६ बजेतिर अधिवेसनस्थलमा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पुगेपछि विवाद भएको थियो । विवादका क्रममा मन्त्री सिंहका निजी सुरक्षाकर्मी (अंगरक्षक) रामचन्द्र खंगले आफ्नो पेस्तोल पड्काएका हुन् ।

सर्लाही जिल्ला क्षेत्र नम्बर ४ अन्तर्गतको यो ठाउँमा अधिवेशन भइरहँदा प्रदेशका मन्त्री सिंह गएपछि विवाद उत्पन्न भएको थियो । मन्त्री सिंह पक्षका अनुसार संघीय सांसद अमरेस सिंह पक्षीय कार्यकर्ताले निर्वाचन अधिकृतलाई नियन्त्रणमा लिई आफूखुशी माइन्यूट गर्न खोजेका थिए । यसो नगर्न आग्रह गरेपछि आफूहरुमाथि अमरेश पक्षीय कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमण गरेपछि अंगरक्षकले गोली चलाएको मन्त्री पक्षको भनाइ छ ।

संघीय सांसद अमरेश सिंह भने यो कुरा मान्न तयार छैनन् । क्षेत्र नम्बर ४ को (क) बाट निर्वाचित भएपनि मन्त्री साह ६ वटा गाडीमा दलबलसहित प्रदेश निर्वाचन क्षेत्र (ख) मा गएर माइन्यूट खोस्न खोजेको उनले बताए ।

‘अधिवेशन भइरहँदा दलबलसहित आएका मन्त्री सिंहले माइन्यूट खोसे’ अमरेशले भने, ‘उनले बाहुबली बनेर बिहारी शैली अपनाउन खोजेका छन् ।’

मन्त्री सिंहले नै माइन्यूट खोसेपछि धक्कामुक्की भएको र सोही क्रममा उनका अंगरक्षकले गोली चलाएको अमरेशको दावी छ । उनी आफू घरमा रहेको बेला घटना भएको बताए ।

क्षेत्र नम्बर ४ का सभापति रामआश्रय साह आफू घट्नास्थलमा नभएपनि अमरेश सिंह पक्षधर कार्यकर्ताले आफ्ना मान्छेलाई बलजफ्ती समितिमा राखेर माइन्यूट गरिरहेपछि मन्त्री पुगेको बताउँछन् । मन्त्री पुगेपछि अमरेशका कार्यकर्ताले आक्रमण गर्न खोजेपछि मन्त्रीका अंगरक्षकले गोली चलाएको उनले बताए ।

गोली चलेपछि बलरा नगरपालिकाको वडा नम्बर ८ र ९ को अधिवेशन स्थगित गरिएको छ ।

दुई सिंहबीचको पुरानै द्वन्द्व

अमरेश र वीरेन्द्र एउटै निर्वाचन क्षेत्रबाट र एउटै पार्टीबाट निर्वाचित भएपनि यी दुबैबीच शुरुदेखि नै द्वन्द्व रहँदै आएको छ । एउटै पार्टीमा भएपनि एकले अर्कालाई देखिनसक्ने स्थितिमा यी दुबै रहेको कार्यकर्ताहरु बताउँछन् ।

७ साउनमा अमरेशलाई कारवाहीको माग गर्दै वीरेन्द्रसहित १२ नेताले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन बुझाएका थिए ।

क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै अमरेशले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा बुझाएपछि वीरेन्द्रसहितका नेताले उनलाई कारवाही गर्न माग गरेका थिए ।

पार्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा अमरेश लागेको भन्दै विधान बमोजिम कारबाही नभए आफूहरुले नै राजीनामा दिने उनीहरुले चेतावनी दिएका थिए ।

यो प्रसंग सेलाउन पाएको दुई महिना नबित्दै यी दुबैको चर्चा पार्टीको केन्द्रीय कार्यालय सानेपामा पनि भयो । ४ असोजमा काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यतालाई लिएर प्रदेश मन्त्री सिंह र सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष लखिन्द्र महतोबीच विवाद हुँदा एकले अर्कालाई अश्लिल गालीगलौच गरेका थिए । यी दुईबीच हात हालाहालसम्मको अवस्था आएको थियो ।

त्यस बेला मन्त्री सिंहले अमरेशकै उक्साहटमा आफूलाई गालीगलौच एवं दुव्र्यबहार गरिएको भन्दै कारवाहीको माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?