+
+

अष्ट्रेलियाले विदेशी विद्यार्थीका लागि अन्तर्राष्ट्रिय सीमा खुलाउन पुनर्विचार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १२:२९

१३ मंसिर, काठमाडौं। नयाँ कोरोना भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेपछि अष्ट्रेलियाले दक्ष आप्रवासी र विदेशी विद्यार्थीका लागि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णय पुनर्विचार गर्ने भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दक्ष आप्रवासी र विद्यार्थीका लागि पुन: सीमा खुला गर्ने योजनाको समीक्षा गरिने बताएका हुन् । ‘हामीले उपयुक्त सूचनाका आधारमा सुझबुझ र विवेकपूर्ण निर्णय गर्दै कमद चाल्ने छौं’, नाइन न्युजसँग सोमबार कुरा गर्दै मोरिसनले भने ।

आजै बस्न लागेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा डिसेम्बर १ गते अर्थात् बुधबारदेखि सीमा खुकुलो पार्ने निर्णयबारे छलफल हुने पनि मोरिसनको भनाइ थियो । उनले मंगलबार सबै राज्य र क्षेत्रका नेताहरूको बैठक बस्ने जानकारी समेत गराए ।

मोरिसनले ओमिक्रोन भेरियन्टबाट उत्पन्न हुन सक्ने जोखिम, संक्रामक क्षमता र यसविरुद्ध खोपको प्रभावकारिता तय भइनसकेको हुँदा मानिसलाई नआत्तिन समेत आग्रह गरेका छन् ।

केही दिनअघि दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रोन भेरियन्टका संक्रमित अष्ट्रेलियामा समेत फेला परेका छन् । आइतबार दक्षिणी अफ्रिकाबाट आएका २ जना यात्रुमा ओमिक्रोन पुष्टि भएको थियो ।

त्यस्तै, न्यू साउथ वेल्सका स्वास्थ्य अधिकारीले आइतबार दक्षिण अफ्रिकी क्षेत्रबाट आएका ३ जनामा कोभिड-१९ पुष्टि भएको बताएका छन् । उनीहरू ओमिक्रोन भेरियन्टबाटै संक्रमित भए/नभएको भनेर प्रमाणित गर्न जिन सिक्वेन्सिङ भइरहेको अधिकारीहरूको भनाइ छ ।

अष्ट्रेलियका सबैभन्दा ठूला दुई शहर सिड्नी र मेलबर्नमा नोभेम्बर १ गते देखि खोप लगाएका नागरिकलाई क्वारेन्टाइनबिनै प्रवेश गर्न दिइएको छ । तर नयाँ भेरियन्ट पत्ता लागेपछि दुवै शहरमा यात्रासम्बन्धी नियममा कडाइ गर्दै अन्तर्राष्ट्रिय यात्रु ७२ घण्टा क्वारेन्टाइनमा बस्नुपर्ने आदेश जारी गरिएको छ ।

एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?