+
+

रमेश विकल प्रतिष्ठानको पुरस्कार घोषणा  

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १४:०५
समाजसेवी रवीन्द्र समीर (बायाँ) र कवि विमल निभा

१३ मंसिर, काठमाडौं । रमेश विकलको स्मृतिमा स्थापित पुरस्कार प्रदान गरिने व्यक्तिको नाम घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानको कार्य समिति बैठकले वर्ष २०७८ का लागि पुरस्कार प्रदान गरिने साहित्यकार तथा समाजसेवीहरुको नाम घोषणा गरेको हो ।

विकल वाङ्मय पुरस्कार साहित्यकार प्राध्यापक  चुडामणि बन्धुलाई प्रदान गरिने भएको छ । विकल समाजसेवा पुरस्कार रवीन्द्र समीर र विकल सृजना पुरस्कार कवि विमल निभालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै विकल-सुशीला सङ्घर्षशील नारी पुरस्कार लक्ष्मी प्रतिष्ठान, विकल बालसाहित्य पुरस्कार कार्तिकेय घिमिरे तथा विकल कलासङ्गीत पुरस्कार पूर्ण हेजुलाई प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले विकलका रचनामा आधारित रही ‘बाल साहित्यमा नैतिक चेतना’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने देवकी आचार्यलाई ‘चन्द्रशेखर विकल शोध सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य (एमफिल) तहमा ‘विकलका कथामा अनुभूतिको संरचना’ शीर्षकका शोधकर्ता योगेश काफ्ले र ‘विकलका कथामा समाख्यानात्मक वाच्यत्व’ शीर्षककी शोधकर्ता शान्ति न्यौपाने (रिसाल) लाई पनि ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गर्ने निर्णय गरिएको छ । यसै वर्षबाट दिन थालिएको  शोध सम्मानका लागि विकलका पुत्रद्वय विजय चालिसे र महेन्द्र चालिसेबाट प्राप्त जनही ५/५ लाख रुपैया गरी १० लाख रुपैयाँको अक्षयकोष खडा गरिएको प्रतिष्ठानले जनाएको छ ।

पुरस्कारका लागि नाम सिफारिस गर्न प्रतिष्ठानका सचिव वसन्त रिजालको संयोजकत्वमा लक्ष्मणप्रसाद गौतम र विन्दु शर्मा सदस्य रहेको समिति गठन गरिएको थियो । पुरस्कार पुस ३ गते गोकर्णेश्वर आरूबारीस्थित नवअरूणिमा विद्यालयको प्राङ्गणमा आयोजना गरिने कार्यक्रममा वितरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?