+
+

‘म्युजिक भिडियोका नाममा मनपरी भइरहेको छ’

श्रवण मुकारुङ, गीतकार श्रवण मुकारुङ, गीतकार
२०७८ मंसिर १३ गते १७:४९

‘फाट्टफुट्ट बाहेक कलाका दृष्टिले पनि राम्रो म्युजिक भिडियो बनेको देखिंदैन । धेरै भिडियो मनपरी रूपमा बनाएको देखिन्छ । फेरि बजार कस्तो छ भने केही राम्रा म्युजिक भिडियोलाई पनि नराम्राले छोपिदिन्छन् ।’

अहिले म्युजिक भिडियो उद्योगकै रूपमा हुर्किंदैछ । नेपालमा धेरै मानिस त्यससँग जोडिएका छन् । कोरोनाले पनि नछोएको क्षेत्र म्युजिक भिडियो नै होला । यो बीचमा अझ बढी म्युजिक भिडियोहरू आए । अहिले गीतमा म्युजिक भिडियो अनिवार्य जस्तै बनिसकेको छ ।

अहिले म अडियो मात्रै सुनाउँछु भन्ने हो भने सुन्ने मान्छे नै नपाउने अवस्था छ । सामान्य खाले होस् वा उत्कृष्ट, म्युजिक भिडियो अनिवार्य बन्यो । नेपालको म्युजिक भिडियोको कुरा गर्दा विदेशमा रहेका नेपालीले नै धानेका छन् जस्तो लाग्छ ।

कोही गीतकारका रूपमा, कोही संगीतकारका रूपमा, कोही गायक–गायिकाका रूपमा जोडिएर नेपाली म्युजिक भिडियोमा लगानी गरिरहेका छन् । कोहीले यत्तिकै पनि लगानी गरिरहेको पाइन्छ । म्युजिक भिडियो क्षेत्रलाई चलायमान बनाउन उहाँहरूको योगदान अविस्मरणीय मान्नुपर्छ ।

विदेशमा रहेका नेपालीले म्युजिक भिडियोको क्षेत्रमा लगानी गर्नुमा केही कारण देख्छु । आफ्नो परिचय, उपस्थितिको भोक जसलाई पनि हुन्छ । मलाई लाग्छ, बाहिर जानेहरूमा अझ बढी परिचयको चाहना हुन्छ ।

म बाहिर छु, म हराएँ कि ! मलाई कसैले चिन्दैनन् कि ! भन्ने सोचले उहाँहरूमा एउटा संवेदना, मनोविज्ञान आउँछ होला । त्यसका लागि गीत–संगीत, म्युजिक भिडियो माध्यम भइदिन्छ । उहाँहरू पैसा कमाउन जानुभएको हुँदा उहाँहरूमा लगानी गर्न सक्ने क्षमता पनि हुन्छ ।

यी कारणहरूले गर्दा गीत–संगीत र म्युजिक भिडियोमा लगानी गरेपछि म गीतकार भएँ, म निर्माता भएँ, अब मलाई अरूले चिन्छन् भन्ने अनुभव हुँदो हो । आफ्नो एउटा परिचयका लागि पनि बाहिर बसेका नेपालीले लगानी गरिरहनुभएको छ जस्तो लाग्छ ।

एउटा म्युजिक भिडियो निर्माण गर्न न्यूनतम पनि ५–६ लाख रुपैयाँ लाग्ने अवस्था छ । हरेक दिनजसो नयाँ–नयाँ म्युजिक भिडियो सार्वजनिक भैरहेका हुन्छन् । तर, सार्वजनिक भइरहेका धेरै म्युजिक भिडियो हेर्ने हो भने ती स्तरीय हुँदैनन् ।

जस्तो कि कलाका दृष्टिले पनि राम्रो म्युजिक भिडियो बनेको देखिंदैन । फाट्टफुट्ट केही भिडियो राम्रा होलान् । नत्र, धेरै भिडियो मनपरी रूपमा बनाएको देखिन्छ । बजार फेरि कस्तो छ भने केही फाट्टफुट्ट राम्रा आएका म्युजिक भिडियोलाई नराम्राले छोपिदिन्छ ।

यो क्षेत्रमा लेख्नु, गाउनु, बजाउनु, अभिनय गर्नु धेरै गाह्रो काम हो । यसले धेरै ठूलो साधना, समर्पण, अध्ययनको आग्रह गर्छ । यी विशिष्ट कला हुन् । विदेशमा हुनेहरूले काम गर्नुभएको छ । उहाँहरूमा त्यो कमी हुने भइगयो ।

तर उहाँहरूलाई तपाइँहरूमा यो–यो कमजोरी छन् भनेर कसैले भनिदिंदैन । तपाईं कमजोर हुुनुहुन्छ, तपाईंको गायन कमजोर भो, अभिनय कमजोर भो भनेर कसैले भनिदिंदैनन् । अनि उहाँहरू त्यतिकै रहरै रहरमा पैसा खर्च गरिरहनुभएको छ, कम गुणस्तरको उत्पादन बजारमा आइरहेको छ ।

मेरो सुझाव के छ भने उहाँहरूले जुन क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, त्यो क्षेत्रको अलिकति गहिराइमा पुग्नुभयो भने राम्रो हुन्थ्यो । त्यो भयो भने सांगीतिक क्षेत्र, म्युजिक भिडियो क्षेत्र सुधार हुँदै जानेथियो । विदेशमा रहेर लगानी गर्नेहरूले नबुझी लगानी गरिरहेको पाइन्छ ।

मेरो विचारमा भावनामा बगेर लगानी गर्नुभन्दा बुझेर, लगानी गरे ‘रिटर्न्स’ को केही धारणा बनाएर वा गीत–संगीतमा पनि सम्झनयोग्य गरी लगानी गरे राम्रो हुन्थ्यो । यति भन्दै गर्दा सांगीतिक क्षेत्रमा उहाँहरूको एकदमै ठूलो योगदान छ । उहाँहरूको लगानीमा ठूलो समूहले काम पाएको छ । म त्यसको प्रशंसा गर्दछु ।

(कवि, गीतकार श्रवण मुकारुङसँग अनलाइनखबरकर्मी सुशील नेपालले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?