+
+

टोल फ्री नम्बरमा ठगिँदै सेवाग्राही

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ मंसिर १४ गते १३:३०

१४ मंसिर, काठमाडौं । गत बिहीबार बानेश्वरकी सुरेश्मा धितालले एक वाणिज्य बैंकको टोल फ्री नम्बरमा ‘मोबाइल बैंकिङ’बारे जानकारी मागिन् । बैंकको एनसेलको ‘टोल फ्री नम्बर’मा अपरेटरसँग कुरा गर्दागर्दै ब्यालेन्स सकिएको भन्दै फोन काटिएपछि उनी झसङ्ग भइन् । टेलिकमको मोबाइलबाट एनसेलको टोल फ्री नम्बरमा कल गर्दा अन्य कलसरहकै शुल्क लिइने कुरा यसपछि मात्रै उनले पत्तो पाइन् ।

‘टोल फ्री नम्बर भनेपछि त जहाँबाट जतिबेला कल गर्दा पनि निःशुल्क हुनुपर्ने हो,’ उनले भनिन्, ‘यसबारे मैले फेरि बैंकमा पनि जानकारी मागेँ, एनसेलको प्रयोगकर्ताले एनसेलकै टोल फ्री नम्बर र नेपाल टेलिकमको प्रयोगकर्ताले टेलिकमकै नम्बरमा कल गर्नुपर्ने सुझाव मात्रै पाएँ ।’

नेपालमा दैनिक रुपमा यसैगरी टोल फ्री नम्बरका नाममा ठगिनेहरु थुप्रै छन् । धेरै सरकारी कार्यालय, अस्पताल, नियामक निकाय, सेवा प्रदायक र कम्पनीले सेवाबारे जानकारी लिन-दिन टोल फ्री नम्बर सञ्चालन गरेका छन् । तर, त्यस्ता कतिपय नम्बरहरु नाम मात्रैका निःशुल्क हुन् ।

धेरै सेवाग्राहीको चाप हुने र सर्वसाधारणले विभिन्न सोधपुछ गरिरहनुपर्ने निकायमा राखिएका टोल फ्री नम्बरहरू निकै महत्वपूर्ण मानिन्छन् । सबै वर्गमा नागरिकलाई सहज रुपमा सेवा दिनका लागि भनेर राखिएका नम्बरमा फोन नलाग्नु र लाग्दा पनि पैसा असुल्नु अपराध भएको बताउँछन् विद्यार्थी राजु सिंखडा ।

कतिपय सोधपुछका लागि एउटा मात्रै टोल फ्री नम्बर राख्ने गरिएको अनुभव सुनाउँदै उनले आइतबार आफ्ना कोभिड संक्रमित आफन्तको उपचारबारे बुझन खोज्दा सास्ती पाएको बताए ।

काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययनरत सिंखडाले आइतबार विहान स्वास्थ्य मन्त्रालयको कोभिड-१९बारे जानकारी दिने डेस्कको ‘१६६००१३३४४४’ टोल फ्री नम्बरमा कल गरे । एनसेलका मोबाइल सेवा प्रयोगकर्ता सिंखडाले पटक-पटक प्रयास गर्दा ‘तपाईंले डायल गर्नु भएको नम्बर मिलेन’ भन्ने सूचना पाइरहे ।

शुरुमा प्राविधिक कारण ठानेका उनले साथिको नेपाल टेलिकमको नम्बरबाट प्रयास गर्दा सजिलै फोन लागेपछि भने एनसेलको मोबाइल नेटवर्कबाट टेलिकमका टोल फ्री नम्बरमा फोन लाग्दैन भन्ने थाहा पाए ।

‘नियामक निकायले आँखामा पट्टी बाँधेर बसेको हो कि मुखमा पानी हालेर ?’ उनी भन्छन्, ‘आफ्नो कम्पनीको सेवा प्रयोग नगर्नेलाई टोल फ्री नम्बर प्रयोग गर्न दिन्न भन्न पाइन्छ ?’

अहिले नेपाल टेलिकमले एनसेल र स्मार्ट सेलका टोल फ्री नम्बरमा शुल्क लिएरै सेवा दिइरहे पनि एनसेलबाट नेपाल टेलिकम र स्मार्ट सेलका टोल फ्री नम्बरमा कल गर्न सुविधा छैन । नेपाल टेलिकमले ‘इन्टरकनेक्सन’ सुविधा नदिएको एनसेलको आरोप छ भने टेलिकम प्राविधिक रुपमा सम्भव नभएको भन्दै पन्छिरहेको छ ।

एनसेलको सेवा टेलिकमका टोल फ्री नम्बरहरुमा ‘इन्टरकनेक्ट’ नहुँदाको सास्ती भने सर्वसधारणले भोगिरहेका छन् । यसले गर्दा एउटा मात्रै कम्पनीका सिमकार्ड भएकाहरु टोल फ्री नम्बरको प्रयोगमा झन्झट व्यहोर्दैछन् ।

प्राधिकरण मुकदर्शक

अस्तव्यस्त रुपमा चलाइएका टोल फ्री नम्बरको व्यवस्थापनबारे अहिलेसम्म सरकार मौन छ । दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण यस्ता समस्याबारे जानकार भएर पनि सेवा प्रदायकलाई जिम्मेवार बनाउन लागेको छैन ।

प्राधिकरणका निर्देशक अम्बर स्थापित फरक नेटवर्कमा फोन नलाग्ने र लाग्दा पनि पैसा काटिने समस्याबारे सुनेको बताउँछन् । ‘हामीलाई यसबारे आधिकारिक जानकारी भने छैन’, उनी भन्छन्, ‘तर, टोल फ्री नम्बर प्रयोग गर्दा सेवाग्राहीबाट कुनै शुल्क काटिनु हुँदैन ।’ जुनसुकै नेटवर्कबाट टोल फ्रीमा फोन लाग्नै पर्ने र फोन गर्ने व्यक्तिको ब्यालेन्स काटिन नहुने उनले बताए ।

तर, टोल फ्री नम्बर लिने कार्यालय वा कम्पनीले नै आफ्नोमा आएका सबै कलको खर्च ब्यहोर्नु पर्नेमा फरक नेटवर्कबाट आए सेवाग्राहीलाई शुल्क लगाउने गरी सम्झौता हुने गरेका छन् । अझ टेलिकमका नम्बरमा एनसेलबाट फोन नलाग्ने अवस्थाले सेवा प्रदायक र सरकारलाई नै गिज्याइरहेको छ ।

जथाभावी बाँडिँदै नम्बर

अहिले प्रयोगमा रहेका टोल फ्री नम्बरहरुमा एकरुपता पनि छैन । कम्पनीहरुले आफूखुसी ढंगबाट टोल फ्री नम्बर वितरण गरिरहेका छन् ।

एनसेलले ‘९८’ बाट शुरु हुने १० वटा नम्बर नै टोल फ्री को रुपमा वितरण गरिरहेको छ । नेपाल टेलिकमले ‘१६६०’ शुरु हुने ११ अंक यसमा प्रयोग गरिरहेको छ । सरकारको हालको नियमअनुसार १० अंककै टोल फ्री सञ्चालन हुनुपर्ने हो ।

सबै टेलिकम कम्पनीले ‘१८००’को नम्बर रेन्जबाट शुरु हुने गरी टोल फ्री बाँड्नुपर्ने व्यवस्था नेपाल दूरसञ्चार प्राधिकरणले सर्ट कोड कार्यविधिमा गरेको छ । सबै टोल फ्री नम्बर एउटै नम्बर रेन्जबाट शुरु भए ग्राहकलाई सजिलो हुने प्राधिकरणको तर्क छ ।

नेपाल टेलिकमले भने विदेशको अभ्यास देखाउँदै यो व्यवस्था लागू गर्न नसकिने जवाफ दिएर पन्छिरहेको छ । टेलिकमले ‘१८००’ रेन्ज विदेशमा पनि प्रयोगमा रहेको र १० अंकको नम्बरले समस्या हुने तर्क गरेपछि प्राधिकरण कार्यविधि संशोधनको तयारीमा छ ।

प्राधिकरणका निर्देशक स्थापित टोल फ्री नम्बरको नयाँ व्यवस्था गर्न एक समितिले अध्ययन गरिरहेको बताउँछन् । टोल फ्री नम्बरलाई पूर्ण निःशुल्क बनाउने गरी काम भएको उनको दावी छ ।

अब फरक नेटवर्कबाट टोल फ्री नम्बरबीच हुने कलको आम्दानी दुबै टेलिफोन कम्पनीबीच भाग लगाउनुपर्ने गरी नियम बनाउने तयारीमा छ । यो नियम बनेपछि ग्राहकसँग अहिले जसरी कुनै शुल्क लिन नपाइने अनिवार्य व्यवस्था गर्ने योजना प्राधिकरणको छ । त्यस्तो शुलक टेलिफोन सेवा दिने कम्पनीले टोल फ्री सेवा लिने संस्थासँग लिएर भाग लगाउने व्यवस्था गर्नुपर्ने गरी व्यवस्था गर्ने गृहकार्य भएको छ । तर, दूरसञ्चार कम्पनीहरुले विगतदेखि नै नटेर्ने गरेकाले यो समस्या समाधान हुनेमा प्राधिकरणकै अधिकारीहरु आशावादी छैनन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?