
१४ मंसिर, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा विन्दमान विष्टलाई पठाउने भएको छ ।
माओवादीको कर्णाली प्रदेश संसदीय दलको बैठकले मंगलबार विष्टलाई सरकारमा पठाउने निर्णय गरेको प्रमुख सचेतक ठम्मर विष्टले जानकारी दिए ।
‘दलको आजको बैठकले बिन्दमानजीलाई सरकारमा पठाउने निर्णय गरेको छ, सायद आज नै शपथ पनि हुन्छ । यद्यपि, अहिले कुन मन्त्रालय पाउने भन्ने टुङ्गो लागिसकेको छैन’ उनले भने ।
विष्ट यसअघि महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा हुँदा मन्त्री नियुक्त भएर पनि शपथ ग्रहण गर्ने समयमा उनलाई माओवादी केन्द्रले फिर्ता बोलाएको थियो ।
उनलाई कुन मन्त्रालय दिने भन्ने कुरा प्रष्ट भएको छैन । आन्तरिक मामिला तथा कानुन र भौतिक मन्त्रालयको ‘लबिङ’ भइरहेको मुख्यमन्त्री जीवनबहादुर शाहीको निजी सचिवालयले जनाएको छ ।
कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुनेमा विष्ट पहिलो मन्त्री हुन् । मुख्यमन्त्री शाहीले यसअघि एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका छन् ।
अन्य मन्त्रालयको भागबन्डा भने मुख्यमन्त्री शाहीले विश्वासको मत लिइसकेपछि गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4