+
+

सर्वोच्चमा गोला प्रक्रिया : समस्या समाधानको अस्थायी उपाय

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते ९:०६

१५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाबाट न्यायाधीशहरुको मुद्दाको पेसी तोकिने भएको छ । प्रधानन्यायाधीशले आफ्नो तजबिजबाट मुद्दाको पेसी तोक्ने गरिएकोमा सर्वोच्चको इतिहासमा पहिलोपटक गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिने भएको हो ।

संविधान र कानूनका जानकार डा. भिमार्जुन आचार्य गोला प्रक्रिया न्यायालयमा देखिएका समस्या समाधानको तत्कालको उपाय मात्र भएको बताउँछन् । स्थायी समाधानका लागि नियुक्ति तथा संविधान र कानून संशोधन नै गर्नुपर्ने उनको जोड छ ।

डा. आचार्यले अनलाइनखबरसँग भने, ‘तत्कालको लागि चाहिं आजबाट प्रारम्भ गरिएको गोला प्रक्रिया सुखद छ । यसलाई अगाडि बढाउनुपर्छ । यसको परिणामहरु, यसको प्रभावहरु हेरेर आगामी दिनमा स्थायी समाधानको बाटोमा हामीले अवलम्बन गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘पहिलो कुरा त स्थायी समाधान भनेको नियुक्तिमै हामीले ख्याल गर्ने हो । नियुक्तिमै दक्ष, असल मान्छे पठायौं भने त्यसखालका समस्याहरु कम आउँछ । दोस्रो स्थायी समाधान भनेको केही कानुन र संविधानमा पनि हेरफेर गर्नुपर्ने समय आएको छ । जस्तो न्यायपरिषदको संरचना, संवैधानिक परिषदको संरचना पनि संशोधनको माध्यमबाट हामीले हेरफेर गर्नुपर्छ ।’

डा. आचार्यको भनाइ जस्ताको त्यस्तै –

यो एकदमै नयाँ भन्दा पनि अहिलेको तत्कालको आवश्यकता हो यो । यसले नै न्यायालयका सबै समस्याको समाधान गर्ने भन्ने नहुन सक्छ । विगतलाई हेर्दा पनि नेपालमा तहमा कहिले गोला प्रथा, कहिले के, सबैखालको प्रयोग हुँदै आएको हो ।

तर मुख्य प्रश्न के रहेछ भने न्यायकर्ता व्यक्तिमै कुरा निर्भर गर्दोरहेछ । न्यायिक नेतृत्व इमान्दार सक्षम, कानुन र संविधानप्रति वफादार, जवाफदेही, प्रतिबद्ध भयो भने त उसले मुद्दाका, हामी त्यसलाई मेरिट भन्छौं, त्यो विषयवस्तु हेरेर कुन न्यायाधीशलाई तोक्ने आफैंमा बेठिक थिएन । त्यो सही कुरा थियो । तर पछिल्लो समयमा एकपछि अर्को प्रधानन्यायाधीशले त्यो अधिकारलाई दुरुपयोग गरे । भ्रष्टाचारको एउटा मुख्य स्रोत त्यसलाई बनाए । न्यायालयमा न्यायाधीशले घुस खान्छ भन्ने कुरा सामान्य समझ भएको मान्छेले परिकल्पना पनि गर्नु नपर्ने कुरा हो । हामीले शास्त्रमा पढ्दाखेरि त्यो शव्द पनि सुनेनौं । तर दुर्भाग्य न्यायाधीशको नेतृत्वले, न्यायाधीशले घुस खान्छन् भन्ने कुरा तथ्यले प्रमाणित गर्यो ।

यो पृष्ठभूमिमा गोला प्रक्रिया लागू गरेका कारणले मलाई लाग्छ यो आवश्यकता थियो । तर यसमा पनि नियत खराब भयो भने, बदनियत राखेर गोलामै तलमाथि गरियो भने के लाग्छ र ।

त्यसैले पहिलो कुरा त स्थायी समाधान भनेको नियुक्तिमै हामीले ख्याल गर्ने हो । नियुक्तिमै दक्ष, असल मान्छे पठायौं भने त्यसखालका समस्याहरु कम आउँछ । दोस्रो स्थायी समाधान भनेको केही कानुन र संविधानमा पनि हेरफेर गर्नुपर्ने समय आएको छ । जस्तो न्यायपरिषदको संरचना, संवैधानिक परिषदको संरचना पनि संशोधनको माध्यमबाट हामीले हेरफेर गर्नुपर्छ ।

तर तत्कालको लागि चाहिं आजबाट प्रारम्भ गरिएको गोला प्रक्रिया सुखद छ । यसलाई अगाडि बढाउनुपर्छ । यसको परिणामहरु, यसको प्रभावहरु हेरेर आगामी दिनमा स्थायी समाधानको बाटोमा हामीले अवलम्बन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?