
१५ मंसिर, काठमाडौं । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतको निर्देशनमा नयाँ चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । मल्टिस्टार कलाकार लिएर चलचित्र ‘लाखे’ निर्माण हुन लागेको हो ।
चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भइसकेको र केही कलाकार अडिसनमार्फत छनोट गरिने निर्देशक बस्नेतले जानकारी दिए ।
प्रतिभा भएपनि अभिनयको अवसर नपाएका र कलाक्षेत्रमा करिअर बनाउन चाहनेहरुलाई अवसर दिन अडिसन गर्न लागिएको निर्देशक बस्नेतले बताए । उनका अनुसार अडिसनमार्फत करिब आधा दर्जन चरित्रका लागि कलाकार छनोट गरिनेछ ।
निर्देशक बस्नेतका अनुसार चलचित्रका लागि १८ देखि २४ वर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछ ।
कलाकार छनोटका लागि अडिसन आगामी शनिबार अर्थात् मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा बिहान साढे ११ बाट राखिएको चलचित्रका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए ।
ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको प्रस्तुतकर्तामा गणेश मल्ल ठकुरी रहेका छन् । चलचित्रको छायांकन पुसबाट शुरु गरिने जनाइएको छ ।
ठूलो बजेटमा निर्माण हुने बताइएको चलचित्रको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा विषयवस्तुमा पूरै नसमेटिएको निर्देशक बस्नेत बताउँछन् । नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उद्देश्यले चलचित्रको नाम ‘लाखे’ जुराइएको निर्देशक बस्नेतको भनाइ छ ।
प्रतिक्रिया 4