+
+
विचार :

फ्रान्सेली राजनीतिक उथलपुथल र निर्वाचनको बहस

हिमाल कोइराला हिमाल कोइराला
२०७८ मंसिर १६ गते ११:३४

फ्रान्स अहिले पाँचौं गणतन्त्र स्थापना भएयताकै सबैभन्दा महत्वपूर्ण राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ । कोरोना महामारीअघि नै येल्लो भेष्ट प्रदर्शन भोगेको इम्मानुएल म्याक्रों सरकार महामारीपछिको आर्थिक समस्या समाधान गर्न संघर्ष गरिरहेको छ ।

त्यस्तै, इतिहासमा व्यक्तिगत स्वतन्त्रता, समानता र उदारवादका निमित्त नियमितजसो क्रान्ति भोगेको मुलुक फ्रान्समा कोरोना भाइरस विरुद्धको खोप अनिवार्य गर्ने सरकारी निर्णयलाई पनि म्याक्रों सरकारका विरोधीहरूले राजनीतिक हतियार बनाइरहेका छन् ।

फ्रान्सलाई बाइकट गरी अमेरिका, बेलायत र अष्ट्रेलियाले अकस गठबन्धनको स्थापना गरेको घटना होस् वा अपरेशन बरखानको नाममा आतंकवादीहरू विरुद्ध पश्चिम अफ्रिकामा लडिरहेका फ्रान्सेली सेना फिर्ता बोलाउने निर्णय होस् अथवा ब्रेक्जिटपछि माछा मार्ने अधिकारको विषयमा बेलायतसँगको विवाद वा पछिल्लो समय इङ्गलिश च्यानलमा आप्रवासी समस्या नै किन नहोस्, विदेश मामिलामा पनि फ्रान्स रक्षात्मक देखिएको छ । यस्ता विदेश नीतिले म्याक्रों सरकार र अन्तर्राष्ट्रिय शक्तिका रूपमा फ्रान्सको साख गुम्दै गइरहेको छ ।

यस्तो पृष्ठभूमिमा फ्रान्स आगामी अप्रिल महीनामा चुनावी रणभूमिमा होमिंदैछ । चुनावका निमित्त अझै चार पाँच महीनाको समय बाँकी रहेको अवस्थामा चुनावबारे अनुमान र अड्कल काट्न हतारो गर्नुपर्ने जरुरी छैन । तैपनि फ्रान्सेली राजनीतिलाई नजिकबाट नियाल्नेहरूका लागि आगामी चुनाव रोचक हुनेमा शंका छैन ।

(यो आलेख तयार पार्दै गर्दासम्म राष्ट्रपतीय उम्मेदवारी घोषणा नगरेका) म्याक्रों आगामी चुनाव जित्न ढुक्क नभएको अवस्थामा परम्परागत वामपन्थी शक्तिको चुनावी राजनीतिक अवस्था अझ दयालाग्दो छ । साँच्चै भन्दा फ्रान्सेली वामपन्थ चुनावी राजनीतिको मृत्युशय्यामा छट्पटाइरहेको छ । त्यस्तै, अघिल्लो चुनावमा नेशनल फ्रन्ट नामक पार्टीकी प्रत्यासी मरीं ले पेन पराजित भएपछि फ्रान्सेली दक्षिणपन्थी शक्ति पनि आन्तरिक रूपमा विभाजित छ । तैपनि नेशनल ¥यालीको नाममा आफूलाई रि–ब्राण्ड गरेको नेशनल फ्रन्टले आगामी चुनावमा कस्तो प्रदर्शन गर्ने हो, त्यो भने हेर्न बाँकी छ ।

यस्तो बेला एरिक जेमुर नाम गरेका अल्जेरियाली मूलका एक जना यहुदीले पनि राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । राष्ट्रपतीय निर्वाचनका लागि गरिएका सर्वेक्षणहरूले मतदातामाझ उनी लोकप्रिय रहेको देखाउने गर्छन् ।

भर्खरैको एउटा सर्वेक्षणमा उनी म्याक्रों पछिको सबैभन्दा लोकप्रिय उम्मेदवार देखाएको छ । सर्वेक्षण अनुसार म्याक्रोंले २४ देखि २७ प्रतिशत मत पाएका छन् भने जेमुरले १७ देखि १८ प्रतिशत मत पाएका छन् । मरीं ले पेनले भने जम्मा १५ देखि १६ प्रतिशत मत पाएकी छिन् । फ्रान्सेली राजनीतिलाई नियाल्ने धेरै जना आगामी चुनाव यिनै व्यक्तिको इर्द–गिर्द घुम्ने निष्कर्षमा पुग्न थालेका छन् ।

उनी विशुद्ध राजनीतिज्ञ भने होइनन् । पेशाले पत्रकार उनी दक्षिणपन्थी सी न्यूज नामक टेलिभिजनमा देखा पर्छन् । त्यस्तै, ला फिगारो अखबारमा पनि नियमितजसो उनका आलेखहरू छापिने गर्छन् ।

यद्यपि अघिल्लो महीना मात्रै फ्रान्सको सञ्चार नियमक संस्था कंसेई सुपेरियार दे लदियोभिज्वाँ सीएसएले उनलाई पत्रकार नभई राजनीतिज्ञ मानिनुपर्ने निर्णय गरेको थियो । खैर, उनका तर्कहरूमा मौलिक फ्रान्सेली राष्ट्रवादको गन्ध आउँछ । उनका भनाइ कहिलेकाहीं अपाच्य पनि सुनिन्छन् ।

उदाहरणका लागि धेरै भएको छैन, उनले दोस्रो विश्वयुद्धका बेला हाँसोउठ्दो जुँगा पालेका अष्ट्रियाली चित्रकारको नेतृत्वमा रहेको नाजी जर्मनीको कठपुतली भिसी फ्रान्स सरकारले फ्रान्सेली यहुदीहरूलाई नाजी जर्मनीको नरसंहारबाट जोगाएको तर्क दिएका थिए । वास्तवमा भने जर्नेल फलिप पेटाँ नेतृत्वको भिसी फ्रान्सले सबै यहुदीहरूको नरसंहारका लागि नाजी जर्मनीलाई सहयोग गरेको सर्वस्वीकार्य इतिहास छ । आफैंमा यहुदी मूलका जेमुरको यस्तो किसिमको ऐतिहासिक संशोधनवादी भनाइले धेरैलाई आश्चर्यमा पारेको थियो ।

वामपन्थ मृत्युशय्यामा रहेको अवस्थामा अबको फ्रान्सेली चुनावमा मरीं ले पेन शैलीको चरम दक्षिणपन्थ, जेमुरको राष्ट्रवाद र म्याक्रोंको नवउदारवादबीच प्रतिस्पर्धा हुनेछ

फ्रान्सेली र विश्वका मूलधारका सञ्चारमाध्यमले उनलाई दक्षिणपन्थी राष्ट्रवादी भनेर प्रस्तुत गर्छन् । हुन त आजकलका सञ्चारमाध्यमले विदेशीको नरसंहार गर्नुपर्ने तर्क राख्ने राजनीतिक नेता होस् वा चाहे मोबाइलको रिङ्गटोनमा स्वदेशगान रिङ्गटोन राख्ने न्यायाधीश, सबैलाई एउटै ‘दक्षिणपन्थी राष्ट्रवादी’ को बिल्ला भिराउने गरेका कारण यस्तो राजनीतिक विशेषणको अर्थ नै हराइसकेको छ ।

फ्रान्सेली राजनीतिक टेलिभिजनको दुनियाँमा प्रख्यात नाम जेमुर मूलधारको फ्रान्सेली राजनीतिमा यसरी एक्कासी उदाउने कल्पना ६ महीना एक वर्षअघिसम्म कसैले गरेको थिएन । वाक्पटुतामा निपुण उनको मुखारविन्दबाट मुसलमान, आप्रवासी, महिला, फ्रेन्च भाषा बाहेक अरू भाषा बोल्ने मानिसहरूबारे सकारात्मक कुरा कहिल्यै आउँदैन । विवादास्पद बोलीले गर्दा उनी बेला बेला अदालतको ढोका समेत चहार्न बाध्य हुन्छन् ।

तैपनि उनी आफू नेपोलियन बोनपार्ट, सार्ल दे गल जस्ता फ्रान्सेली राष्ट्रनायकबाट प्रभावित भएको बताउने गर्छन् । उनी ग्रेट रिप्लेसमेन्ट थ्यौरी अर्थात् ‘गैर फ्रन्सेली’ आप्रवासीहरूले फ्रान्सेली जनतालाई प्रतिस्थापन गर्ने किसिमको विवादास्पद सिद्धान्तमा विश्वास गर्छन् । त्यसैले उनले फ्रान्समा आउने मुसलमानहरूले फ्रान्सेली नाम राख्नुपर्ने र इसाई शैलीको धर्म अवलम्बन गर्नुपर्ने तर्क अघि सारेका छन् । उनी लोकप्रियतावादी वा पपुलिष्ट हुन् । राजनीतिलाई करिअर बनाएका नेताले भाषण गर्दा ओठ दोब्य्राउनेहरूका लागि उनका भाषण सरल, गम्भीर, सोचनीय र सुन्दा पत्यारिलो लाग्छन् । आफ्नो भनाइ तगडा रूपमा प्रस्तुत गर्न सिपालु मानिने उनी विपक्षीको कुरा काट्न पनि उत्तिकै खप्पिस छन् ।

यस्तै विशेषताले गर्दा उनका भाषण र टेलिभिजन कार्यक्रम सुन्न हेर्न मान्छेको भीड लाग्ने गर्छ । अघिल्लो सेप्टेम्बर महीनामा मात्रै प्रभावशाली वामपन्थी नेता जँ लँक मेलासोंसँग उनको टेलिभिजन बहसलाई ३८ लाखले हेरेका थिए ।

उम्मेदवारी घोषणा गर्दा उनको एउटा भनाइ कोट गरौं, ‘फ्रान्सको सुधार गर्ने बेला टरिसक्यो, अबको बेला फ्रान्सको रक्षा गर्ने हो ।’

यस्ता रिटोरिकले गर्दा उनलाई धेरैले डोनाल्ड ट्रम्पसँग तुलना गर्छन् । तर, उनी ट्रम्प भन्दा पनि समान पत्रकारिता पृष्ठभूमि भएकाले आफूलाई बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग तुलना गरिनुपर्ने बताउँछन् ।

बोरिस जोन्सन जस्तै उनी पनि ईयूको विपक्षमा छन् । हुन पनि युरोपेली युनियन ईयूको गठनयता युरोपमा राष्ट्रवाद ओइलाएको छ । राष्ट्रका रूपमा फ्रान्स, इटाली, स्पेन, जर्मनी, पोल्याण्ड जस्ता मुलुकको भूमिका र औचित्यलाई आफ्नै संसद् र सरकारी हैसियत रहेको बहुराष्ट्रिय युनियन ईयूले छायाँमा पारेको छ ।

ईयूको कानून सदस्य मुलुकको राष्ट्रिय कानूनभन्दा माथि हुने, राष्ट्रिय ध्वजासँगै ईयूको ध्वजा राख्नुपर्ने राष्ट्रिय मौलिक पहिचानको सट्टा युरोपेली पहिचानलाई अङ्गीकार गर्नुपर्ने जस्ता कारणले युरोपेली जनताहरू विस्तारै ईयूप्रति विद्रोही बन्दै गइरहेका हुन् कि भन्ने सवाल उठ्नु स्वाभाविक छ ।

पोल्याण्ड, हंगेरी जस्ता दक्षिणपन्थी राष्ट्रवादी सरकार रहेको देशमा ‘जर्मनी र फ्रान्सबाट चुनिएर आएका ईयूका नेताहरूले बनाएर हामीमाथि थोपरेको कानून किन मान्ने ?’ भन्ने प्रश्नले त्यहाँको राजनीतिक डिस्कोर्समा प्रभाव पारिरहेका छन् ।

फ्रान्स राष्ट्रवादको जननी हो । १७८९ को क्रान्तिपछि लेबर्ते, एगालिते र फतेर्नेतेसँगै राष्ट्रवादको नाममा क्रान्तिकारीहरूले गियोटिनमा फ्रान्सेली राजाको गर्धन गिंडेका थिए । फ्रान्सेली राष्ट्रवाद युरोपेली वा अरू महादेशका मुलुकका राष्ट्रवाद भन्दा भिन्न, मौलिक र गौरवशाली छ ।

व्यवहारमा पछिल्ला केही दशकयता विश्व रंगमञ्चमा राजनीतिक शक्ति कमजोर भए पनि गौरवशाली फ्रान्सेली राष्ट्रवादीहरू फ्रान्सलाई बेलायत र अमेरिका जस्तै विश्व शक्ति राष्ट्रको रूपमा हेर्छन् । जसले जे भने पनि विश्वका कुना–कुनामा अझै पनि औपनिवेशिक साम्राज्यको अवशेषका रूपमा समुद्रपार फ्रान्सेली प्रशासन अन्तर्गतका भूभाग अस्तित्वमा छन् ।

दक्षिण अमेरिकाको फ्रान्सेली गुएना, हिन्द महासागरमा अवस्थित रेयुनियन र मायोटे द्वीप, दक्षिण प्रशान्त महासागरका न्यू कलेडोनिया र फ्रेन्च पोलिनेशिया, क्यारेबियनमा अवस्थित मार्टिनिक र ग्वाडालुप, क्यानाडाको छिमेकमा रहेको साँ पिएर ए मिक्लाँ जस्ता भूभागमा अझै पनि फ्रान्सको प्रशासन चल्छ । त्यसमाथि धेरै अफ्रिकी देशहरूमा फ्रान्सको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव छ ।

त्यसबाहेक फ्रान्स संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र हो । त्यस्तै, औंलामा गन्न सकिने थोरै राष्ट्रहरूको सूचीमा पनि फ्रान्सको नाम आउँछ, जोसँग आणविक हतियार छ । विश्वमा फ्रान्सेली भाषा र पहिचान अंग्रेजी भाषा र पहिचान भन्दा कमजोर वा कम प्रभावशाली नभएको दे गलियन धारका फ्रान्सेली राष्ट्रवादीहरू ठान्छन् । तर, अहिले आएर फ्रान्स भूराजनीति वा सैनिक शक्तिका आधारमा ईयू र नेटोको दोस्रो दर्जाको सदस्यको रूपमा सीमित हुन पुगेको छ ।

यस्तो अवस्थामा फ्रान्सेली जनताको मनमा पनि ‘ईयूको सदस्य मुलुकको नागरिक हुनुबाहेक फ्रान्सेली हुनुको औचित्य के ?’ भन्ने प्रश्नले घर बसाइरहेको छ । यही सेरोफेरोमा केही दशकअघिसम्म फ्रान्सको औपनिवेशिक प्रभावमा रहेको अल्जेरियाली मूलका यहुदीले राष्ट्रपतीय उम्मेदवारका रूपमा फ्रान्सेली राष्ट्रवादको कुरा गर्दा राष्ट्रवादको लहर सिर्जना हुनु अनौठो छैन ।

आप्रवासन र शरणार्थी समस्याले फ्रान्सको समाजलाई विभाजित बनाइरहेको छ । अझै पनि फ्रान्समा झण्डै साढे चार लाख शरणार्थी छन् । लोक कल्याणकारी राज्यव्यवस्था रहेको फ्रान्स अझै पनि आप्रवासीका लागि आकर्षक गन्तव्य बन्ने गरेको छ ।

बर्बर (अमजिग), टर्किस, अरब र दक्षिण एशियाली मूलका खासगरी मुसलमान आप्रवासी फ्रान्सेली समाजका लागि टाउको दुखाइ बन्ने गरेका छन् । फ्रान्समा ‘मूल फ्रान्सेली’ र ‘गैर फ्रान्सेली’ आप्रवासीको समाजबीच एक किसिमको खाडल छ । रोजगारी, शिक्षा जस्ता सेवामा आप्रवासी मूलका मानिसहरूको न्यून पहुँचलाई लिएर पनि फ्रान्सको आलोचना हुने गरेको छ ।

केही अघि मात्रै राष्ट्रपति म्याक्रोंले अफगान शरणार्थीको लहरबाट फ्रान्सलाई जोगाउनुपर्ने बयान दिएका थिए ।

सबै धर्मलाई समान रूपमा निरुत्साहित गर्ने फ्रान्सेली शैलीको ‘लाइसिते’ सेक्युलरिज्म वा धर्मनिरपेक्षता र इस्लाम सहअस्तित्वमा रहन नसक्ने देखिंदै पनि आएको छ । पैगम्बर मोहम्मदको कार्टुन काण्ड र त्यसले मुसलमानहरूमा निम्त्याएको रोष एउटा उदाहरण मात्रै हो ।

यस्तो अवस्थामा राष्ट्रवादी फायरब्राण्ड जेमुरको उम्मेदवारी एकदमै चाखलाग्दो छ । उनको चुनावी अभियान सहज भने छैन ।

यसअघिको चुनावमा इम्मानुएल म्याक्रों कुनै परिवर्तनको नारा दिएर विजयी भएका थिएनन् । उनको नवउदारवादी राजनीतिक लाइन नै ‘बिजनेस एज युजल’ हो । उम्मेदवारी दिएको खण्डमा अबको चुनावमा पनि उनको लाइन ‘बिजनेस एज युजल’ नै हुनेछ ।

म्याक्रोंको राष्ट्रपतीय कार्यकालमा फ्रान्सले एक युगमा एक पटक आउने, उथलपुथल उलटपुलट हेरफेर ल्याउने महामारी भोगेको छ । महामारीको पहिलो केही महीना अघिल्लो वर्षको अप्रिल मे महीनाहुँदी स्वास्थ्य संकटलाई समाधान गर्न फ्रान्सेली स्वास्थ्य क्षेत्रलाई हम्मे–हम्मे परेको थियो ।

महामारीबाट उत्पन्न नकारात्मक आर्थिक प्रभावबाट फ्रान्स पनि अछुतो छैन । फ्रान्सले १३ वर्षयताकै उच्च मुद्रास्फीति भोगिरहेको छ ।

फ्रान्सेली जनताले म्याक्रोंको ‘बिजनेस एज युजल’ लाइनलाई पत्याउँछ, पत्याउँदैन सहजै भनिहाल्न सकिने अवस्था छैन ।

वामपन्थ मृत्युशय्यामा रहेको अवस्थामा अबको फ्रान्सेली चुनावमा मरीं ले पेन शैलीको चरम दक्षिणपन्थ, जेमुरको राष्ट्रवाद र म्याक्रोंको नवउदारवादबीच प्रतिस्पर्धा हुनेछ ।

जेमुरले प्राप्त गर्ने भनेको फ्रान्सेली दक्षिणपन्थी, राष्ट्रवादी, संस्थापनविरोधी र स्वतन्त्र मतदाताहरूको मत हो । बुर्जुवा लिवरलहरूबाट उनले मतको अपेक्षा गरेका छैनन्, निश्चित छ ।

फ्रान्सेली दक्षिणपन्थी मत पाउनका लागि मरीं ले पेन र जेमुरबीच गतिलो प्रतिस्पर्धा हुने देखिन्छ । यी दुईबीचको मनमुटाव सार्वजनिक रूपमै छताछुल्ल हुने गरेको छ । हाँसोउठ्दो विडम्बना यो छ कि अस्ति कहिले हो, मरीं ले पेन भन्दै थिइन्, ‘जेमुरले म्याक्रोंलाई केही भन्दैनन्, खाली ममाथि मात्रै आक्रोश पोख्छन् ।’

उनले जित्छन् जित्दैनन्, त्यो भने भविष्यले बताउनेछ । जे होस् जेमुरको उम्मेदवारीले फ्रान्सेली चुनावलाई अझ रोचक बनाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?