
१६ मंसिर, काठमाडौं । हिउँद लागेसँगै काठमाडौं लगायत विभिन्न शहरी भेगबाट वनभोज (पिकनिक) जाने क्रम शुरु भएको छ । विभिन्न पिकनिक स्पटका सञ्चालकका अनुसार पुस, माघ र फागुन महिनामा काठमाडौं उपत्यका वरपरका पिकनिक स्पट भरिभराउ देखिन्छन् ।
पिकनिकको सिजन शुरु भएसँगै काठमाडौं उपत्यका आसपासका पिकनिक स्पटहरुमा धमाधम बुकिङ भइरहेको छ । विभिन्न स्थानका पिकनिक स्पट सञ्चालकहरुसँग कुराकानी गर्दा अधिकांश ठाउँमा निश्चित दर तोकिएको छैन । बार्गेनिङ र स्पटको आधारमा पिकनिक स्पटको मूल्य तोकिन्छ । तर केही पिकनिक स्पटले भने सबैखाले स्पटलाई एउटै दरमा दिने गरेका छन् ।
अधिकांश पिकनिक स्पटमा भने पानी र शौचालयको समेत अभाव देखिन्छ । हामीले काठमाडौं उपत्यका वरपर रहेका विभिन्न पिकनिक स्पटहरुको सुविधा, शुल्क र त्यहाँको सम्पर्क नम्बर समेत तल उल्लेख गरेका छौं ।
गोदावरी
ललितपुरको गोदावरी नगरपालिकामा पर्ने गोदावरी काठमाडौंबाट नजिकको पिकनिक गन्तव्य हो । करिब ८ किलोमिटरको दूरीमा रहेको यो ठाउँमा सरासर गाडीमा जाने हो भने करिब ३० मिनेटको बाटोमा पुग्न सकिन्छ । शान्त र हरियाली वातावरणमा वनभोजको मजा लिन सकिने यो ठाउँ धेरै काठमाडौंवासीको रोजाइको वनभोज गन्तव्य रहेको मानिन्छ । गोदावरीमा रहेका विभिन्न वनभोज स्थलहरुको सुविधा निम्नानुसार छ ।
पार्किङ – सडकमा
खानेपानी – पिउने र खाना बनाउने पानीको सुविधा
शौचालय – अपर्याप्त (अधिकांशमा शौचालय नै छैन)
पिकनिक शुल्क – ३०० रुपैयाँदेखि ७०० रुपैयाँसम्म

दोलालघाट
दोलालघाट काभ्रे जिल्लाको मुख्य पर्यटकीय क्षेत्रमध्ये एक हो । इन्द्रावती र भोटेकोशी नदीको किनारमा पर्ने यो क्षेत्र काठमाडौंबाट करिब ५० किलोमिटरको दूरीमा छ । सरासर गाडीमा जाने हो भने करिब डेढ घण्टामा पुगिने यो ठाउँमा बगरमा करिब एक दर्जनबढी वनभोज स्थलहरु रहेको दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबका अध्यक्ष अष्टबहादुर श्रेष्ठ बताउँछन् ।
वनभोज स्थलका सुविधा
पार्किङ – पर्याप्त
खानेपानी – धाराको पानीको सुविधा
शौचालय – हरेक स्पटका लागि छुट्टाछुट्टै
अग्रिम बुकिङ – आवश्यक छैन
पिकनिक शुल्क – शुल्क निर्धारण गरिएको छैन । बत्ती र पानीको व्यवस्था गरिदिएबापत ५०० देखि ७०० रुपैयाँसम्म लिने गरिएको छ ।
सम्पर्क – ९८५१०३८६३३ (दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबका अध्यक्ष अष्टबहादुर श्रेष्ठ)
पलाञ्चोक
काभ्रे जिल्लाकै अर्को ऐतिहासिक एवं पर्यटकीय क्षेत्र हो पलाञ्चोक भगवती । यहाँ ९ वटा पिकनिक स्पट छन् । काठमाडौंबाट ४७ किलोमिटरको दूरीमा रहेको यो क्षेत्रमा पुग्न सरासर गाडीमा जाँदा करिब एक घण्टा ४५ मिनेट लाग्छ ।
वनभोज स्थलका सुविधा
पार्किङ – सडकमा
खानेपानी – पिउने पानी किन्नुपर्ने, खाना पकाउन निःशुल्क
शौचालय – २ वटा पुरुष र २ वटा महिला
बिजुली – छ
कुल स्पट संख्या – ९
अग्रिम बुकिङ – एक हप्ताअघि बुकिङ गर्नुपर्ने
पिकनिक शुल्क – न्यूनतम २ हजारदेखि अधिकतम ३ हजार रुपैयाँसम्म
नगरकोट
नगरकोट काठमाडौं उपत्यका आसपासको अर्को पर्यटकीय क्षेत्र हो । यहाँ पिकनिक मात्रै नभएर अरु समयमा पनि धेरै पर्यटकहरुको भीड लाग्ने गर्छ । त्यस्तै, यहाँ पिकनिकको लागि पनि १० वटा पिकनिक स्पट छन् । आफ्नो खाली ठाउँमा वनभोज गर्न दिएर यसभन्दा बाहेक अरुले पनि पैसा असुल गर्ने गर्छन् । कोटेश्वरबाट २२ किलोमिटरको दूरीमा रहेको यो क्षेत्र पुग्न सरासर गाडीमा जाँदा करिब एक घण्टा लाग्छ ।
वनभोज स्थलका सुविधाहरु
पार्किङ – पर्याप्त
खानेपानी – सुविधा छ
शौचालय – २ वटा छ
कुल स्पट संख्या – १० वटा
पिकनिक शुल्क – ३ हजारदेखि ५ हजार रुपैयाँसम्म
त्रिभुवन पार्क
त्रिभुवन पार्कभित्र १५ वटा पिकनिक स्पटहरू छन् । जसमा १५० जनादेखि ४०० जनासम्म अट्ने क्षमता भएको स्पट रहेको पार्क व्यवस्थापनले जनाएको छ । कलंकीबाट ६ किलोमिटरको दूरीमा रहेको यो ठाउँ सरासर गाडीमा जाँदा करिब १६ मिनेटमा पुगिन्छ ।
वनभोज स्थलका सुविधा
पार्किङ – पर्याप्त
खानेपानी – खाना पकाउन निःशुल्क, पिउने पानी किन्नुपर्ने
शौचालय – हरेक स्पटका लागि छुट्टाछुट्टै
अग्रिम बुकिङ – पिकनिक आउने दिन बिहान बुकिङ गर्नुपर्ने
पिकनिक शुल्क – त्यहाँ मान्छेको क्षमता अनुसार १५ सय रुपैयाँदेखि ३५ सय रुपैयाँसम्मका स्पट भाडामा पाइन्छन् ।
सम्पर्क नम्बर – ९८२३७७८३३९
स्वीट्जरल्याण्ड पार्क
स्वीट्जरल्याण्ड पार्क चन्द्रागिरि नगरपालिकामा पर्ने काठमाडौंबाट नजिक रहेको पार्क हो । अग्लो ठाउँमा जंगलको बीचमा रहेको यो पार्कमा अन्यत्रको तुलनामा बढी सुविधा र एउटै शुल्क रहेको व्यवस्थापन पक्षले जनाएको छ । कलंकीबाट ७ किलोमिटरको दूरीमा रहेको यो ठाउँ सरासर गाडीमा जाँदा करिब २५ मिनेटमा पुगिन्छ ।
वनभोज स्थलका सुविधा
पार्किङ – सडक किनारामा
खानेपानी – पिउनको लागि किन्नुपर्ने, खाना पकाउन भाडाबाटै
शौचालय – ४ वटा महिला र ४ वटा पुरुषको लागि
अग्रिम बुकिङ – पर्दैन
पिकनिक शुल्क – सबै स्पटको लागि २७०० रुपैयाँ
सम्पर्क – ९८४९५९७८३३ (स्वीट्जरल्याण्ड पार्कका व्यवस्थापक)
धुलिखेल
धुलिखेल पनि व्यस्त पिकनिक स्पटमध्येकै एकमा पर्छ । काठमाडौंबाट छोटो दूरीमा पर्ने धुलिखेलको डाँडोमा रहेको यो पिकनिक स्पटमा शुक्रबार र शनिबार मात्रै दैनिक ३० वटा जति समूहले पिकनिक मनाउने गर्छन् । कोटेश्वरबाट २५ किलोमिटरको दूरीमा रहेको यो क्षेत्र सरासर गाडीमा जाँदा करिब ५५ मिनेटमा पुगिन्छ ।
वनभोज स्थलका सुविधा
पार्किङ – सडक किनारामा
खानेपानी – पिउनको लागि किन्नुपर्ने, खाना पकाउन भाडाबाटै
शौचालय – स्पटैपिच्छे छैन, ठाउँठाउँमा पाइन्छ
अग्रिम बुकिङ – शुक्रबार र शनिबारको लागि एक हप्ताअघि बुकिङ गर्नुपर्ने
शुल्क – थोरैमा २ हजारदेखि धेरैमा ७ हजार रुपैयाँसम्म । २०–२५ जनाको लागि २ हजार र ३०० जनाको हाराहारीमा पिकनिक मनाउन आउनेलाई ७ हजार रुपैयाँसम्म लिने गरिन्छ ।
सम्पर्क – सुमन रानाभाट देवीस्थान युवा क्लबका अध्यक्ष (९८१३०७४४९९)
चोभार गल्छी
चोभार काठमाडौंको चक्रपथबाट सबैभन्दा कम दूरीमा रहेको धेरैको रोजाइमा रहेको पिकनिक स्पट हो । बल्खुबाट चार किलोमिटरको दूरीमा रहेको यो क्षेत्र सरासर गाडीमा जाँदा करिब १५ मिनेटमा पुगिन्छ । यहाँको पिकनिक स्पट मञ्जुश्री पार्क व्यवस्थापनले सञ्चालन गर्ने गर्छ
त्यहाँको वनभोज स्थलका सुविधा यस्ता छन्
पार्किङ – पर्याप्त
खानेपानी – पिउनको लागि किन्नुपर्ने, खाना पकाउन नपर्ने
शौचालय – २ वटा
अग्रिम बुकिङ – एक हप्ताअघि
शुल्क – २ हजार र ३ हजार दरका दुई किसिमको स्पट
सम्पर्क – ०१४३३५९२५ मञ्जुश्री पार्क व्यवस्थापन
प्रतिक्रिया 4