+
+

डेढ महिनापछि शुरु भयो सर्वोच्चमा मुद्दाको नियमित सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १९:४५

१७ मंसिर, काठमाडौं । गोला प्रणालीबाट पेशी तोक्न थालेपछि शुक्रबारदेखि सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुन थालेको छ । शुक्रबार न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छन् भने कानुन व्यवसायीले पनि बहस गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै गत कात्तिक ८ गतेदेखि आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बहस गर्न छाडेका थिए । त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशले पनि बन्दी प्रत्यक्षीकरणबाहेकको मुद्दामा सुनुवाइ गरेका थिएनन् ।

गोला प्रणालीबाट इजलास गठन भएको तेस्रो दिनमात्र मुद्दाको सुनुवाइ हुन सकेको हो ।

मंसिर १५ गतेदेखि गोला प्रणाली सुरु भए पनि कानुन व्यवसायीले प्रधानन्यायाधीशको जिम्मेवारीमा को रहेको भनी प्रश्न उठाएपछि १५ र १६ गते भने इजलास बस्न सकेको थिएन । तर कोरोना संक्रमित भई बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू बिदामा नरहेको भनी न्यायाधीशहरुलाई जानकारी गराएपछि न्यायिक नेतृत्वको विषय टुंगिएको थियो ।

प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलनमा रहेको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरा गोला प्रणालीमा सहभागी नभएकाले सेवाग्राहीको सजिलोका लागि मुद्दाको सुनुवाइमा सहयोग गरेको बताए ।

‘प्रधानन्यायाधीशले गोला लिनुहुन्न, उहाँको बेन्च छैन, प्रधानन्यायाधीशको कर्तुतका कारण सेवाग्राहीलाई वञ्चित गर्नुहुन्न’ उनले भने, ‘अब साविकसरह मुद्दाको सुनुवाइ हुन्छ । त्यसमा नेपाल बारको सहमति छ ।’

शुक्रबार सर्वोच्च अदालतमा गोला प्रणालीबाट १० वटा इजलास गठन भएको छ र सबै इजलासले मुद्दाको सुनुवाइ गरेका छन् । बार अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको प्रवेश निषेध कार्यक्रम भने जारी रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?