+
+

निभा माथेमा : विरासतमै मिलेको समाजसेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १६:१३

१७ मंसिर, काठमाडौं । ‘संसारमा स्वभावले दुई किसिमका मानिस हुन्छन्, कृतज्ञ र अकृतज्ञ । कृतज्ञ मानिसहरु सानोतिनो सफलतामा पनि खुशी भइहाल्छन् भने अकृतज्ञहरू सधैं दुःखी बनिरहन्छन् ।’ समाजसेवी दयारामभक्त माथेमाले आफ्नो जीवनकालमा दिएको अनुकरणीय ज्ञान हो यो ।

माथेमाका केही विशेषताहरु थिए, उनी शास्त्रमा निर्देश भएबमोजिम दायाँ हातले दिएको दान बायाँ हातलाई थाहा दिनुहुन्न भन्ने मान्यता राख्थे । त्यसैले उनले आफ्नो कामको कहिल्यै प्रचार गरेनन् । घरमा माग्न आउने कानफटा जोगी हुन् या त चिसो मौसममा कठ्यांग्रिने विपन्नसम्मका लागि उनको सहयोगी हात अघि बढिहाल्थ्यो । हुन त, सामाजिक काममा लाग्ने प्रेरणा पनि उनलाई बुवा गणेशभक्त माथेमाबाट प्राप्त भएको थियो, जसले आफ्नो जीवनको अधिकांश समय जगकल्याणमा समर्पण गरे ।

सहृदयी मनका धनी दयाराम छोराछोरीलाई सक्षम बनाउने र विपन्नलाई सक्दो सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्थे । चार सन्तानमध्येकी निभा माथेमा उतिबेलै निजी स्कुलमा पढ्ने अवसर पाइन् । जसले निभाको शैक्षिक उन्नतिले फड्को मार्दै गयो । उनी दार्जिलिङमा अंग्रेजी साहित्यमा स्नातक सकेर अमेरिका पुगिन् । बुबाको सुझाव अनुसार नै अमेरिकामा पत्रकारितामा स्नातक गरेकी उनले नेपाली र अमेरिकी समाजलाई राम्रोसँग नियाल्ने मौका पाइन् । त्यही बुझाइले पनि अमेरिकामा बसेर खनेको भविष्यको बाटो छाडेर उनी नेपाल फर्किइन् ।

कट्टर नेवारी परिवारको कुमारी पुज्ने संस्कारमा हुर्किएपनि निभालाई २० वर्षको उमेरमा अमेरिका पुग्दा त्यहाँको संस्कारमा रमाउन समस्या भएन । पश्चिमी शैलीको आभास दिलाउने निजी स्कुलको शिक्षाले उनलाई अमेरिकामा सहज भयो । तर भाषाको समस्या भने उस्तै थियो । नेपाल होस् वा दार्जिलिङमा समेत बेलायती अंग्रेजी पढेर गएकी निभालाई लाग्थ्यो अंग्रेजी भाषामा अब कुनै समस्या छैन । तर जब उनी अमेरिका पुगिन्, त्यहाँको फरक अंग्रेजीले उनलाई केही समय अप्ठेरोमा पार्‍यो ।

अमेरिकामा पत्रकारिता अध्ययनको क्रममा एकदिन उनलाई त्यहाँको सरकारी कार्यालयमा गएर रिपोर्ट बनाउनुपर्ने भयो । उनले सुनाइन्, ‘म त्यहाँ पुग्दा किन यति कठिन काम गर्छौं तिमी भनेर प्रतिप्रश्न गरे । एसियन महिला भएपछि यति धेरै दुःख गर्नुपर्छ ? भन्ने कुरा आयो । त्यसपछि यहाँ त झनै देखाउनुपर्ने रैछ भनी ठानें ।’

पूर्वीय संस्कार र पश्चिमी  संस्कारलाई दुई किनारामा राखेर सँगै यात्रा गर्दा उनी पूर्वीय संस्कारतिरै ढल्किइन् । अस्पतालमा कोही बिरामी हुँदा एक्लै पर्ने अमेरिकी नागरिक र आफन्त–शुभेच्छुकले भरिभराउ हुने दक्षिण एसियाली मुलुकको संस्कारमा उनलाई यतैको संस्कारले छोयो ।

विरासतमै प्राप्त भएको आफ्नो पितापुर्खाको सामाजिक कार्यप्रतिको लगावले उनलाई नेपाल फर्किन लालायित बनायो । अन्ततः धेरै नेपालीको सपनाको देश छाडेर उनी नेपाल फर्किइन् ।

०००

उनको कथा शुरु हुन्छ, ओमबहालमा रहेको दया छेंबाट । समयको हिसाबले २०० वर्ष पुरानो त्यो घरले धेरै सन्तानलाई संस्कृतिको पाठ सिकायो, कुमारी पुज्न सिकायो र आफूभन्दा ठूलालाई सम्मान गर्न सिकायो । कृतज्ञ र अकृतज्ञको जीवन बदल्ने परिभाषा यही घरले सिकायो । अन्तमा जीवनको सुख भौतिक वस्तुमा नभई भावनात्मक सन्तुष्टिले दिलाउँछ भन्ने पाठ पनि सिकायो ।

कुरा २०६५ सालतिरको हो । निभा माथेमा अमेरिकाको क्रेडिट युनियनमा कार्यरत थिइन् । हरेक वर्ष–दुई वर्षमा उनीहरु नेपाल फर्किंन्थे । दुई हप्तामात्रै किन नहोस्, ओमबहालको पुर्ख्यौली घर सिँगार्थे र फेरि यहींको मायालाई मुटुमा थुनेर अमेरिका फर्किंन्थे । तर २०६५ सालताका उनी सदाको लागि नेपाल आउने तयारीमा थिइन् । उचित समय भने जुरिरहेको थिएन । २०६५ कात्तिक १३ गते ८१ वर्षको उमेरमा पिता दयारामभक्त माथेमाको मृत्यु भयो । त्यसको केही समयअघि निभाले अमेरिकामा कार्यरत क्रेडिट युनियनको कार्यालयमा ६ महिनाको बेतलबी बिदाको लागि निवेदन टक्र्याइन् । घरमा बुबाको अवस्था गम्भीर हुँदै गएको थियो ।

बुबाको जीवनको उत्तरार्द्धमा उनी आफैं सेवामा खटिन चाहन्थिन् । कार्यालयबाट बेतलबी बिदा मिलेन । त्यसपछि उनले जागिर नै छाडिन् र नेपाल आएर बुबाको सेवामा खटिइन् । बुबाको निधनपछि उनलाई अमेरिका फर्किन मन लागेन ।

ओमबहालको घरले सिकाएको संस्कार

त्यतिबेला सुब्बेनी मानबेटी माथेमा ७० वर्षकी थिइन् । घर ओमबहालमै थियो । उनी हुँदासम्म फुपूहरूको पनि बाक्लै आउजाउ थियो । संयुक्त परिवारमा आफन्त कहिल्यै टुट्दैन थिए । ‘आफन्तको आउजाउ र हजुरआमा भएको घरमा संस्कारको कमी हुँदैन,’ निभा भन्छिन्, ‘एकातिर बोर्डिङ स्कुलमा सिकिने पश्चिमी संस्कार र अर्काेतिर हजुरआमा सहितको परम्परागत नेवारी परिवारले संस्कार सिकायो । त्यसैले सानै उमेरमा मैले पूर्वीय र पाश्चात्य संस्कारलाई सन्तुलित बनाएर लैजान सिकें ।’

निभा अगाडि भन्छिन्, ‘आफूलाई दुईवटा संस्कृतिको सन्तुलन मिलाएर अघि बढेको छु भन्नेबारे यादै भएन । त्यतिबेलादेखि सन्तुलन भनेको के हो ? भन्ने बारेमा यादै भएन । अंग्रेजीमा बोल्नुपर्ने र समय तालिकालाई हुबहु पालना गर्नुपर्ने । तर हाम्रो घरमा त्यसो थिएन । आफन्त आए भने नियमित काममा असर परिहाल्थ्यो ।’

उनी विद्यालयदेखि नै विभिन्न प्रतियोगितामा सहभागी हुन्थिन् । ‘रंगशालामा गएर आफ्नो स्कुलको लागि ट्रफी जित्दै गर्दा मैले बुबाले कृतज्ञ हुन सिकाएको कुरा सम्झिएँ,’ निभा भन्छिन्, ‘त्यही कृतज्ञ हुने बानीले नै धेरै ठाउँमा मलाई सहज बनाएको छ ।’

निभा अगाडिका दिन सम्झिन्छिन्, ‘१२ कक्षासम्म यसैगरी पढियो । मेरो अंग्रेजी राम्रै थियो । त्यसपछि बुबाले मलाई पत्रकारिता गर्न सुझाव दिनुभयो । त्यसपछि पत्रकारिता पढें । त्यो भन्दा पहिले अंग्रेजी साहित्य पढेको थिएँ । पत्रकारिता मैले अमेरिकामा गएर पढेको हुँ । त्यतिबेला के चुनौती आयो भने मैले बच्चैदेखि ब्रिटिस अंग्रेजी पढेको । दार्जिलिङमा गएर पनि त्यही अंग्रेजी पढें । तर अमेरिकी अंग्रेजीले मलाई चुनौती थप्यो ।’

निभाले अमेरिकाबाट पत्रकारितामा स्नातक गरिन् । पत्रकारिता अध्ययनको क्रममा एकदिन उनलाई त्यहाँको सरकारी कार्यालयमा गएर रिपोर्ट बनाउनुपर्ने भयो । उनले सुनाइन्, ‘म त्यहाँ पुग्दा किन यति कठिन काम गर्छौं तिमी भनेर प्रतिप्रश्न गरे । एसियन महिला भएपछि यति धेरै दुःख गर्नुपर्छ ? भन्ने कुरा आयो । त्यसपछि यहाँ त झनै देखाउनुपर्ने रैछ भनी ठानें ।’

निभालाई ‘पब्लिक स्पिकिङ’ एकदमै मनपर्ने विषय हो । उनलाई ‘इम्प्रोप्तु स्पिच (विना तयारी कुनैपनि विषयवस्तुमा भाषण दिनुपर्ने)’को लागि बोलाइएको थियो । ‘त्यहाँ मलाई ‘इन द सिटी’ कुरा गर्न भनेर बोलायो । मैले त्यहाँ न्युयोर्क सिटी र काठमाडौं सिटीको बारेमा तुलनात्मक भाषण गरिदिएँ,’ निभा भन्छिन्, ‘त्यसपछि शिक्षकले बोलाएर तिमी यो कक्षामा किन भन्ने प्रश्न गर्नुभयो ? मलाई लाग्यो कि मबाट केही गल्ती भयो कि भन्ने । तर मेरो त्यो प्रस्तुति सबैभन्दा उत्कृष्ट सावित भयो त्यसैले मलाई यो कोर्स गर्नुनपर्ने शिक्षकले भन्नुभयो ।’

निभाका छोरालाई पश्चिमी संस्कृतिले सिकाएको कुरा आफैं सक्षम हुनुपर्छ र कुनै काम सानो हुँदैन भन्ने नै हो । यस्तै पूर्वीय संस्कृतिले आफूभन्दा ठूलालाई आदर गर्नुपर्छ र सहनशील हुनुपर्छ भन्ने सिकाएको निभाको बुझाइ छ ।

पत्रकारितामा स्नातक गरेपछि उनले व्यवस्थापन तथा फाइनान्स विषयमा स्नातकोत्तर गरिन् । बुबाको सपनाअनुरुप उनले साहित्य सिर्जना गर्ने बारेमा पनि सोचिन् र ‘वेस्ट अफ बोथ वल्र्ड’ नामको पुस्तक लेखिन् । ‘यस किताबमा मैले मेरो जिन्दगीको भोगाइ र पूर्वीय–पश्चिमी समाजको सकारात्मक कुराहरु समेटें, उनी सुनाउँछिन्, ‘त्यसैले आजको दिनमा मलाई लाग्छ, मेरा छोराहरु निरज र रवि पनि कन्फ्युज छैनन् । उनीहरु उतै हुर्के तैपनि यताको संस्कृतिलाई बराबर कदर गर्छन् । उनीहरु संस्कृतिको सन्तुलनबारे सचेत छन् र उत्सुक छन् ।’

निभा अमेरिकामा पहिले कमर्सियल बैंकमा थिइन् । सन् १९९० ताका बैंकमा उनको काम भनेको कर्जा दिने थियो र त्यतिबेला ब्याजदर एकदम अस्थिर थियो । निभाले ती दिन सम्झिइन्, ‘एक दिन एकजना ग्राहकलाई आवास कर्जा दिंदा कबुल गरेको ब्याजदर भोलिपल्ट उपलब्ध गराउन नसकिने भयो । धेरैपल्ट बैंक ब्यवस्थापनलाई गुहार्दा पनि कबूल गरेको ब्याजदरमा कर्जा प्रदान गर्न नसकिने भएपछि मैले बढेको ब्याजदरलाई मेरो तलबबाट कट्टा हुने गरी स्वयं वहन गरें, यो मेरो इथिक्सले गर्दा गरें । केही समयपछि म कमर्सियल बैंक छाडेर क्रेडिट युनियनमा गएँ । १५ वर्षजति सोही संस्थामा आवद्ध भएँ ।’

पश्चिमी संस्कृतिले आफैं सक्षम हुन सिकायो, पूर्वीयले आदर गर्न

उसो त निभाका पति विश्व बैंकमा थिए । त्यतिबेला विश्व बैंकमा कार्यरत विभिन्न देशका साथीहरुलाई निम्तो दिएर घरमा जमघट गरिएको थियो ।  निभा त्यतिबेलाको कुरा सम्झिन्छन्, ‘उहाँको ब्राजिलियन साथीले मेरो ठूलो छोरा निरोजलाई नेपालको बारेमा सोध्दा १५–१६ वर्षको उसले, मेरो आमाबाबुले मलाई नेपाली संस्कृतिको राम्रो चिज मात्रै हामीलाई दिनुभएको छ । नेपालको नराम्रो केही थाहा छैन भनी भन्दा म अचम्मित भएँ । त्यसले मलाई खुशी पनि ल्यायो । त्यो लिगेसी अझै पनि चित्त बुझ्छ ।’

निभाका छोरालाई पश्चिमी संस्कृतिले सिकाएको कुरा आफैं सक्षम हुनुपर्छ र कुनै काम सानो हुँदैन भन्ने नै हो । यस्तै पूर्वीय संस्कृतिले आफूभन्दा ठूलालाई आदर गर्नुपर्छ र सहनशील हुनुपर्छ भन्ने सिकाएको निभाको बुझाइ छ ।

घरमा बुबा दयारामभक्तको स्वास्थ्य अवस्था गम्भीर हुँदै जाँदा बुबाको स्याहारको लागि ६ महिनाको बेतलबी बिदाको निवेदन अस्वीकार भएपछि बुबाको जीवनको अन्तिम क्षणमा आफैं सेवामा खटिने उनको चाहनामा पूर्वीय संस्कृतिको नै भूमिका रहेको उनको बुझाइ छ ।

बुबाको निधनपछि निभालाई अमेरिका फर्किन मन लागेन । उनलाई नेपाललकै आफूले धेरै काम गर्नुपर्छ भन्ने लाग्यो र यतै बसिन् । ‘अहिले नेपाल फर्किएको ११/१२ वर्ष भयो होला,’ उनले भनिन् ।

दया फाउण्डेसनमार्फत समाजसेवा

समाजसेवा केलाई भन्ने ? यो अमूर्त परिभाषा अझै पनि बहसको विषय छ । दयारामभक्त माथेमाको इच्छाअनुसार समाजसेवाको लागि सन् २००९ मा स्थापना गरिएको दया फाउण्डेसन एक पारिवारिक समाजिक संस्था हो । जसको तीन मूलभूत उद्देश्य छन्, शिक्षा, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा काम गर्ने ।

दया फाउण्डेसनको अध्यक्षमा निभाका पति राजेशबहादुर प्रधान छन् । भाइबहिनी र परिवारका अन्य सदस्यसँग मिलेर फाउन्डेसनले सामाजिक कार्यहरु गर्दै आएको छ । ‘दया फाउण्डेसनले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत ८–१० वटा विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर, विभिन्न सरकारी विद्यालयको गुणस्तरीय शिक्षा तथा विद्यार्थीहरुको स्वास्थ्यको लागि विविध कार्यक्रम र नेपाली संस्कृतिलाई जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्ने गरेका छौं ।’

कोरोना महामारीका बेला पनि फाउण्डेसनले देशका विभिन्न सरकारी तथा सामुदायिक अस्पतालहरुलाई चिकित्सा उपकहरणहरु प्रदान गरेको थियो । संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेसन सेन्टरमा हालसम्म ६ थान हाइफ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पीपीई, फेसशिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरिसकेको उनी बताउँछिन् ।

यस फाउण्डेसनले क्रिटिकल केयर नर्सिङ संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउण्डेशनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ सम्बन्धी भर्चुअल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

कोरोना महामारीको पहिलो लहरमा उल्लेख्य स्वास्थ्य सेवा उपलब्ध गराएबापत टेकु अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको कोभिड नर्सिङ युनिटलाई दया फाउण्डेसनले ‘एक्सलेन्स अवार्ड’बाट समेत सम्मानित गरिसकेको छ ।

कर्परेट ट्रेनर र अन्य सामाजिक संस्थामा निभा

निभा अन्तर्राष्ट्रिय कर्पोरेट ट्रेनरको रुपमा आर्ट अफ लिभिङमा स्वयंसेवकका रुपमा आवद्ध छिन् । उनले ‘बिजनेस इथिक्स’को विषयमा पनि विभिन्न संस्थामा तालिम दिन्छिन् ।

उनी नेपाल एम्बुलेन्स सर्भिसको बोर्डमा पनि छिन् । यस्तै एसिस्टेन्ट गभर्नरको पदमा रोटरीसँग पनि आवद्ध छिन् निभा । निभाकै संयोजकत्वमा रोटरीका १२ वटा क्लबहरुको संयुक्त पहलमा शनिबार (डिसेम्बर ४)मा ‘शेयरिङ द रोटरी स्टोरी’ कार्यक्रम आयोजना हुँदैछ । त्यहाँ पनि निभाले आफ्नो ज्ञान र अनुभव बाँड्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?